मुक्तिनाथ विकास बैंकको सीईओमा पुनः पोखरेल, उच्च प्रतिफल दिनेमा जोड

  २०७९ वैशाख २० गते २०:०४     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । यसअघि पनि बैंकको सीईओका रूपमा कार्यरत  पोखरेलको पहिलो कार्यकाल सकिएसँगै पुनः सोही बैंकको सीईओमा नियुक्त भएका हुन् ।

मंगलबार बसेको बैंकको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको पोखरेलले बताए ।

बैंकिङ्ग क्षेत्रमा तीन दशक लामो अनुभव संगालेका पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका थिए ।

उनी २०७६ जेठ १ गते बैंकको सीईओमा नियुक्त भएका थिए । सीईओमा पुनः दोहिरिएसँगै पोखरेलले मुक्तिनाथ विकासको विकासका लागि फरक योजना र रणनीतिका साथ अगाडि बढ्ने बताए ।

‘विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक एक फरक छवि बनाएको बैंकको रुपमा परिचित छ, अब हामी राष्ट्र बैंकको नीति नियम पालना गर्नेमा उत्कृष्ट बैंकका रुपमा चिनिनेछौं, सेयरधनीहरुलाई जतिसक्दो बढी प्रतिफल दिनेमा पनि हाम्रो जोड हुनेछ,’ उनले विकासन्युजसँग भने ।

पोखरेलको पहिलो कार्यकालमा मुक्तिनाथ विकास बैंकका अधिकांश सूचकहरु उत्कृष्ट पनि देखिएका छन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्ग सेवा सुरु गरेका थिए । उनले नबिल बैंकमा करिब १९ वर्ष विभिन्न विभागहरुको नेतृत्व समेत गरेका थिए ।

उनीसँग मेगा बैंकमा पनि काम गरेको अनुभव छ । उनी डेभलपमेन्ट बैंकर्स एसोशिएसनका अध्यक्ष पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.