छोराको त्यो ‘एक्शन’ : जसले यादव परिवारलाई लाखौं कमाउने बनायो

  २०७९ वैशाख २० गते १५:२९     मञ्जरी पौडेल

काठमाडौं । बैशाखको महिना । घुम्दै फिर्दै विराटनगर पुगियो । बिहानीको समय । गर्मीको महशुस खासै थिएन । हिड्दा हिड्दै विराटनगरको इक्राईस्थित एक फार्ममा पुगियो । टीनले छाएको गोठ । गोठको वरिपरी सिमेन्टको पर्खाल । बाहिर जताततै चोक्कर (गहुँ लगायत मसुरीको भुसी) को बोरा । बाहिर मात्रै नभएर गोठभित्रको केही कुनामा पनि त्यहि । अर्को कुनामा घाँसको थुप्रो । माथि पङ्खा र बत्ती झुण्डिएको । यी सबै जुटाइएको थियो, त्यहाँका केही बथान गाईलाई ।

कतिवटा रहेछन् ? गन्न थाल्यौं । छुट्टा छुट्टै किलामा बाधिएको थियो, १० वटा माउँ र ९ वटा बाछाबाछी । यिनका वर्दवा (गाईगोरु पाल्ने व्यक्ति) रहेछिन्, लिलादेवी यादव । हामी पुग्दा उनी त्यहाँ थिइनन् । एकछिनमै हस्याङ्फस्याङ् गर्दै आईपुगिन् । ‘डेरी गएको थिएँ’ सोध्न नपाउँदै उनले भनिन् ।

उनी आफ्नै डेरीबाट आएकी रहेछिन् । यहिबाट हामीले प्रष्ट बुझ्यौं यतिका गाई पालेका यादवको परिवारले आफ्नै डेरी खोलेका रहेछन् । सो डेरी लिलादेवी यादव र उनका कान्छा छोराले सञ्चालन गर्दै आएका छन् । अरुलाई बेच्दा भन्दा आफैले डेरी खोल्दा बढी फाइदा हुने देखिएकोले डेरी खोल्ने विचार आएको चोक्करको बोरामाथि बस्दै यादवले बताइन् ।

‘हामीले अरुलाई दुध बेच्दा प्रतिलिटर ६०/७० रुपैयाँ दिन्छ, आफ्नै भयो भने ८०/९० रुपैयाँले बेच्छौं, अरुले बढी मार्जिन खान्छन्, त्यसैले पनि डेरी खोल्ने विचार आयोे,’ उनले भनिन् ।

यादवको परिवारले दैनिक १०० लिटर दुध बेच्छन् । बिहान ५० लिटर र बेलुका ५० लिटर । जसबाट मासिक ३ लाख रुपैयाँ आम्दानी हुन्छ । त्यसमा २ लाख रुपैयाँ दानापानी लगायत चोक्करमा खर्च हुन्छ । बाँकी १ लाख रुपैयाँ बच्ने गरेको यादवसँगै बसेका लिलादेवीका श्रीमान्ले खुसी हुँदै भने ।

उनीहरुले गाई पाल्नुभन्दा अघि भैसी पालन गरेका थिए । पहिला १०/१२ वटा भैसी पालेका यादवको दम्पत्तिले छोराको कारणले गाई पाल्न थालेको बताए । ‘भैसीलाई बढी दानापानी लाग्छ, खर्च बढी हुन्छ, भैसी होइन गाई पालौं भनेर छोराले भनेपछि गाई पाल्न थालेका हौं,’ यादवले बताइन् ।

यादवलाई गाई पाल्न गाह्रो छैन । गाईलाई खुवाउनको लागि घाँस किन्नु पर्दैन । आफूसँग भएको जग्गामध्ये एक विघा जग्गामा सिजनअनुसारको घाँसहरु लाउने गरेकोले पनि घाँसको समस्या नहुने उनी बताउँछिन् । यदि घाँसको समस्या पर्दा भने चोक्कर (गहुँ लगायत मसुरीको भुसी) किनेर ल्याउने गरेका छन् ।

यादवले पालेको गाईको गोबरबाट हुने मल पनि खेर गएको छैन । सो मल जीवन विकास लघुवित्तले किन्ने गरेको उनले बताइन् । यादवको परिवारले एक ट्याक्टर मल बेच्दा एक हजार रुपैयाँ आम्दानी गर्छन् । दिनमा ३ ट्याक्टर मल बेच्ने उनीहरुले मल बेचेर मात्रै दैनिक ३ हजार रुपैयाँ र मासिक ९० हजार रुपैयाँ आम्दानी गरेका छन् ।

‘गाईको गोबर पनि खेर जाँदैन, जीवन विकासले किन्छ, हामीले प्रति ट्याक्टर एक हजार रुपैयाँमा मल बेच्ने गरेका छौं, दैनिक ३ हजार आम्दानी हुन्छ’ उनले भनिन् ।

जीवन विकासले उक्त मल किनेर आफ्नै अर्गानिक खेतीमा हाल्ने गरेको छ । संस्थाले यादवको घरबाट मात्रै नभई यादवजस्ता विभिन्न पशुपालककोबाट मल किनेर खेतीमा हाल्ने गरेको लघुवित्तको जिल्ला इञ्चार्ज मैयाँ राई बताउँछिन् । उक्त खेतीमा सागसब्जी लगायत मौसम अनुसारको विभिन्न फलफूलहरु लगाउने गरेको उनको भनाइ छ ।

साथै, गाई बिरामी भएको अवस्थामा भेट्नरिका डाक्टरहरु सजिलै पाउने गरेको पनि यादव बताउँछिन् ।

साथै, जीवन विकासले पनि अब यो महिनादेखि नै आफ्नो ग्राहकहरुको पशुपालन तथा कृषि क्षेत्रमा निःशुल्क परामर्श तथा औषधोउपचारको सुविधा प्रदान गर्ने संस्थाका सिनियर अफिसर मनोज कुमार शर्माले बताए ।

त्यस्तै, यादवले सबै गाईको बीमा गरेका रहेछन् । कथम्कदाचित् गाई मर्दा पनि यादवको परिवारले त्यसको क्षतिपूर्ति अर्थात बीमा दावी पाउने गरेको दपत्तिले सुनाए । ‘हाम्रो हालै एउटा गाई क्यान्सरका कारण मर्यो, त्यसको बीमा रकम पाइसक्यौं,’ लिलादेवीको श्रीमानले भने ।

यो सेवा सुविधा जीवन विकास लघुवित्तका हरेक सदस्यले पाउने गरेका रहेछन् । आफ्ना सदस्यहरुले पालेका पशुहरु मर्यो भने पनि संस्थाले उनीहरुलाई ९० प्रतिशत बीमा दावी भुक्तानी गर्ने गरेको शर्माले बताए ।

करिब ४० वर्ष उमेरकी लिलादेवी यादव लघुवित्तको पुरानो सदस्य हुन् । कूल २६० वटा केन्द्र रहेको जीवन विकासको विराटनगर शाखा कार्यालय इक्राई जीवन विकास केन्द्र नं ३९ की एक सदस्य हुन् यादव ।

सदस्य बनेको १५ वर्षसम्म आइपुग्दा उनले संस्थाबाट हाल ६ लाख रुपैयाँसम्म ऋण पाएकी छिन् । त्योभन्दा अघि उनी कुनै पनि संस्थामा आवद्ध थिइनन् । गाई पाल्नुअघि भैसी पाल्दा पनि उनले जीवन विकासबाट पहिलो ऋण लिएकी थिइन् । त्यो बेला १०/१२ हजार रुपैयाँ बराबरको ऋण गाह्रो पर्ने यादवलाई अहिले लघुवित्तले ६ लाख रुपैयाँसम्मको ऋण पत्याउन थालेको छ ।

साथै, जीवन विकासले दिएको पैसाले नै डेरी खोल्न हिम्मत आएको समेत उनले बताइन् ।

‘पहिला दुःख थियो, अहिले गाई पालन गरेर उन्नति भएको छ, जीवन विकासले गर्दा नै डेरी खोल्न सजिलो भएको हो, धेरै राम्रो चलेको छ, जीवन निकै सहज भएको छ,’ खुशी हुँदै लिलादेवीले भनिन् ।

हाल यादवलाई परिवार पाल्न धेरै नै सजिलो भएको छ । उनले गाईभैंसी पालनबाटै ५ जना छोराछोरीको विवाह पनि गरिसकेकी छिन् ।

‘गाईभैंसी पालेर नै छोराछोरीको बिहे गराएँ, ८/१० लाखको तिलक (दाईजो) दिईयो, ऋण लागेन,’ आश्वस्त हुँदै उनले भनिन्, ‘लकडाउन भयो, गाउँका सबैलाई ऋण तिर्न गाह्रो भयो तर, मलाई कहिल्यै अफ्ठ्यारो भएन ।’

यादवको २ छोरामध्ये जेठा छोराले विदेशको अनुभव बटुलेका छन् । तर, उनी पनि अहिले स्वदेशमै फर्केर केही व्यवसाय गरेरै अहिले घर जग्गा किनेर छुट्टै (अंशबण्डा गरेर) बसेका छन् ।

१० कक्षासम्म पढेका उनका कान्छो छोरो पनि विदेश जाने तयारीमा थिए । भिसा लागिसकेको थियो । पछि उनले मुड परिवर्तन गरे र नेपालमै बस्ने सोच बनाएका हुन् ।

‘कान्छो छोरो विदेश जान तयार भएको थियो, भिसा पनि लागिसकेको थियो, पछि के भयो, विदेशमा भन्दा नेपालमै बढी कमाइन्छ भन्दै काठमाडौं पुगेर फर्केर आयो,’ यादवले सुनाउँदै उनले भनिन्- ‘छोरोले गर्दा यो अवस्थामा पुगेका हौं, धेरै सहज भएको छ, व्यवसाय फस्टाएको छ, डेरी राम्रो चलेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.