रेल कुद्न थालेको एक महिना नाघ्याे, नाफा छ कि नोक्सान ?

  २०७९ वैशाख १९ गते १४:५७     राजिव न्यौपाने

काठमाडौं । जयनगर-कुर्था रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरे पछि व्यवसायिक रूपमा नेपालमा रेलको सञ्चालन भएको थियो ।

रेल सञ्चालन भएपछि हाल नेपाल रेल्वे कम्पनी घाटामा नरहेको कम्पनीका प्रबन्ध सञ्चालन निरंजन कुमार झाले बताएका छन् । सो रेल दिनमा २ पटक ओहोर दोहोर गर्दैछ ।

रेल संचालन हुन थालेको एक महिना पुगिसकेको छ । तर, कम्पनी नाफामा छ कि नोक्सानमा छ भन्ने यकिन हुन सकेको छैन । संचालनमा आएको एक महिनामै कम्पनी नाफामा जान्छ भन्ने पनि होइन । ३४ दशमलव ९ किमी दूरीमा चल्ने रेलमा काम गर्ने भारतीय प्राविधिकलाई धेरै तलब सुविधा दिनु पर्ने भएकाले पनि रेल नाफामा जान सकेको छैन ।

‘रेल संचालनमा आएको भर्खर एक महिना भएको छ, रेल चलाउँदा नाफा भयो कि भएन भनेर हामीले हिसाव निकालिसकेका छैनौं,’ प्रबन्ध संचालक झाले भने ।

सो रेल सञ्चालन भएपछि दिनकै करिब ५/६ लाख रुपैयाँ घाटा व्यहोरिरहेको थियो । तर, पछिल्लो समय रेलमा यात्रा गर्ने यात्रुको संख्या बढेसँगे आम्दानी पनि बढेको झाले जनाकारी दिए ।

प्रबन्धक सञ्चालन झाका अनुसार नेपाली म्यानपावर र फिल्डमा लाग्ने खर्च कम्पनीले नै धान सक्ने भएको छ । रेल सञ्चालन गर्नको लागि नेपाल रेल्वे कम्पनी २६ जना कर्मचारी ल्याएको छ ।

‘बाहिरबाट ल्याएका कर्मचारीलाई नेपालका कर्मचारीभन्दा कयौं गुण बढी रकम तिर्नु परेको छ, यसको लागि हामी विकल्प खोज्दै छौं, नेपाली मेन पावर हामीले तयारी गरिसकेका पछि घाटामा कम्पनी जान दिँदैनौँ,’ उनले भने ।

हाल दैनिक १ लाख ७० हजारदेखि शनिवारको दिन ३ लाख रुपैयाँसम्म रेलले आम्दानी गर्दै आएको झाले जानकारी दिए । रकम दिनहुँ घटबढ पनि हुन सक्छ ।

‘रेलमा चढ्दा म आफै पनि टिकट काटेर चढ्छु जस्तासुकै भीआइपी आए पनि रेल चढ्नको लागि टिकटमा छुट दिएका छैनौं,’ उनले भने ।

रेल सञ्चालन भएपछि भारत र नेपाल आउँन छिटो र सजिलो छ । दिनमा कतिले यात्रा गर्छन् भन्ने टुङ्गो छैन । तर, करिब दिनमा एक हजार जनाले यात्रा गर्ने झाले बताए । शनिवारको दिन २ हजार भन्दा बढीले यात्रा गर्छन् ।

भोलिका दिनमा जस्तो सुकै मान्छे आए पनि रेल व्यवस्थित तरिकाबाट चल्ने योजना अघि सारेको उनले दाबी गरे ।

‘हाम्रो नेपालको हवाइजहाज पनि समयमा उठ्दैन, तर, नेपालको रेल मात्र समयमा आउँछ र जान्छ भन्ने कुराको सन्देश दिइरहेका छौं,’ उनले भने ।

रेल चलाउनु नै चुनौती थियो, सबैको सहयोगबाट यो चुनौतीको सामना गर्याे, दोस्रो कुरा म्यानेजमेन्ट गर्ने काम गरिरहेको झाले जनाए ।

४ जनालाई लोको पाइलट र सिग्नलको पढाइ

लोको पाइलट र सिग्नलको पढाइको लागि नेपालीलाई भारत पठाउने नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीले ४ जना नेपालीलाई पढाउने योजना बनाएको हो ।

लोको पाइलट र सिग्नलको पढाइका लागि अहिले विभिन्न पदको सिलेवस तयार गरेको पनि झाले बताए । सो सिलेवस अनुसार नै विद्यार्थी छनोट हुनेछन् । छनोट भएका पछि टेक्निकल पदको लागि भारत पठाउन लागेको हो ।

‘हामीले मासिक भारु ३ लाखको हाराहारीमा एउटा लोको पाइलटलाई दिनुपर्ने हुन्छ, यो भनेको नेपालको विशिष्ट श्रेणीको कर्मचारीलाई दिने तलबभन्दा झन्डै ६ गुणा बढी हुन जान्छ, त्यसैले गर्दा पनि हामीले खर्च धान्न सक्ने स्थिति भएन, ४ जनालाई लोको पाइलट र सिग्नलको पढाइको लागि पढाउने योजना बनाएका हौं, उनीहरूलाई भारत एक वर्षको लागि पढ्न पठाउनु पर्ने हुन्छ,’ उनले भने ।

भारत सरकारले पनि पढाइमा लाग्ने खर्चमा सौंलीयत दिने झाले जानकारी दिए ।

अर्थमन्त्रालयले अझै दिएन ३५ करोड

रेल सञ्चालन गर्नु अघि नै भारतीय कम्पनीले नेपाल रेल्वे कम्पनीसँग ३५ करोड रुपैयाँ मागेको थियो । रेल सञ्चालन गर्नको लागि प्राविधिक व्यक्तिहरू नभएको कारणले गर्दा उक्त जनशक्ति भारतबाट मगाउनु पर्ने बाध्यता भएकाले गर्दा सो रकम दिनु पर्ने भएको हो ।

कोंकण रेलवे निगम लिमिटेडलाई सो रकम दिने र उक्त कम्पनीले एक वर्षसम्मको लागि रेलको चालकदेखि लिएर सिग्नलको मेकानिकल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर गरी २६ जना प्राविधिक र थप सामान पनि दिने सम्झौता छ ।

२ महिना अगाडि स्रोत सुनिश्चितता भयो भनेर अर्थमन्त्रालयले जनाएको थियो तर पैसा चाहिँ नआएको झाले बताए । भरतबाट आएका कर्मचारीको तलब रेल्वे कम्पनीले नै दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.