श्रमिकको रकम १ वर्षपछि दियो अर्थले, ४८ करोड दिन अझै बाँकी

  २०७९ वैशाख १९ गते १३:४१     विकासन्युज

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ता र रोजगारदातालाई दिनुपर्ने रकम झन्डै एक वर्षपछि निकासा दिएको छ ।

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा नै व्यवस्था गरेर चालु आर्थिक वर्षको बजेटमा लकडाउन अवधिभरको (गत वर्षको जेठ र असार) लागि योगदानकर्ता र रोजगारदाताले कोषमा बुझाउनु पर्ने रकम सरकारले भुक्तानी गर्ने घोषणा गरेका थिए ।

उनको घोषणा अनुसार कोषले अर्थ मन्त्रालयसँग १ लाख ७५ हजार योगदानकर्ताका लागि १ अर्ब ४८ करोड रुपैयाँ बजेट माग गरेको थियो ।

कोषले रकम माग गरेको ११ महिनापछि १ अर्ब रुपैयाँ निकासा भएको कोषका प्रवक्ता विबेक पन्थीले जानकारी दिए । उनका अनुसार कोषले गत असार तेस्रो साता नै मन्त्रालयमा पत्राचार गरेर रकम माग गरेको थियो ।

यसै साता रकम जम्मा हुने

अर्थ मन्त्रालयबाट निकासा भएको १ अर्ब रकम यसै सातादेखि योगदानकर्ताका खातामा जम्मा गरिने कोषले तयारी थालेको छ ।

‘माग गरेभन्दा कम रकम हामीलाई उपलब्ध भएकोे छ, उपलब्ध भएको रकम हामीले यसै साताबाट योगदानकर्ताको खातामा जम्मा गर्न सुरु गछौं, अपुग रकम अर्थसँग पुनः माग गछौँ, माग गरेको एक सातामा थप रकम निकासा हुने हामीलाई जानकारी आएको छ,’ उनले भने ।

पन्थीका अनुसार कोषले गत वैशाख अघिको तथ्यांकलाई आधार बनाएर रकम माग गरेको थियो । गत जेठ र असार महिनामा नियमित रकम जम्मा नगर्ने योगदानकर्ताहरु हुन सक्छन् ।

सरकारले यसअघि गत आर्थिक वर्ष २०७६/०७७ मा बैशाख, जेठ र असार गरी तीन महिना कोषमा जम्मा गर्नुपर्ने रकम व्यहोरेको थियो ।

रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ ।

कोषमा योगदानकर्ताका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी ४ वटा मुख्य योजना रहेका छन् ।

कोषको आईतबारसम्मको तथ्यांक अनुसार १७ हजार ५२ जना सूचीकृत रोजगारदाता र ३ लाख २९ हजार ३०० योगदानकर्ता आवद्ध भएका छन् । यस्तै, कोषमा १५ अर्ब ६७ करोड रकम जम्मा भएको छ भने कोषले १० अर्ब ७ करोड बढी रकम दावी भुक्तानी गरिसकेको छ ।

सम्बन्धित समाचार

अर्थमन्त्रालयका कारण श्रमिकलाई ५ करोड नोक्सान

स्थायी कर्मचारीले ‘इगो साध्दा’ अस्थायी र करारका ४० हजार कर्मचारीको विजोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.