मिटरव्याजबारे मुख खोल्न थाले व्यवसायी, बढी पिडित हुनेमा उद्यमी युवा

  २०७९ वैशाख १९ गते १०:३२     विकासन्युज

काठमाडौं । उद्योगी तथा व्यवसायीहरु चर्काे व्याज असुल्ने संगठित गिरोह (मिटरव्याजी) को विरुद्धमा मुख खोल्न थालेका छन् । केही समयअघि नेपाल प्रहरीको महानिरीक्षक बन्न प्रयास गरेका व्यक्ति नै मिटर व्याजको धन्दा संलग्न रहेको चर्चा भएपनि व्यवसायीले यो विषयमा औपचारिक रुपमा मुख खोलेका थिएनन् ।

नेपाल उद्योग वाणिज्य महासंघका कर तथा राजश्व सिमिति सभापति सन्दिप अग्रवालले युवा उद्यमी तथा व्यवसायीहरु मिटरव्याजबाट प्रताडित भएको बताएका छन् ।

सोमबार महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० पुर्व बजेट अन्तरक्रिया कार्यक्रममा उनले युवाहरले व्यवसाय गर्नकै लागि कर्जा नपाएकोले मिटरब्याजीसँग महंगो व्याजमा कर्जा लिन लिन बाध्य भएको र त्यसले पछि समस्या सिर्जना गर्ने गरेको बताए ।

उनले मिटरव्याको अन्त्यका लागि सरकारले बजेट मार्फत सहुलियत कर्जाको व्यवस्था गर्नु पर्ने बताए ।

‘युवा उद्यमीहरु मिटरव्याजबाट प्रताडित भएका छन्, यसले धेरै समस्या सिर्जना गरेको छ, यो समस्या समाधानका लागि सहुलियत कर्जाको व्यवस्था हुनुपर्छ, उद्यम व्यवसाय गर्ने प्रयोजनको लागि जग्गा खरिद र भाडामा लिन जग्गामा पनि सहुलियत कर्जा हुनु पर्छ,’ सभापति अग्रवालले भने ।

यस्तै, उनले आगामी आर्थिक वर्षको बजेट मार्फत् आयकर छुट तथा पुनरकर्जाको व्यवस्था गर्नु पर्ने धारणाा राखे । भन्सारदर पनि स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने खालको हुनु पर्ने उनको भनाइ छ ।

बजेट मार्फत् भारत निर्यातमा नगद सहुलियत हुनुपर्ने, उर्जा तथा पुर्वाधारमा विदेशी लगानी भित्र्याउनका लागि सहज नीति हुनु पर्ने उनको भनाई छ ।

सभापति अग्रवालले केबलकार, साहसिक पर्यटन, धार्मिक पर्यटन, क्यासिनो, लगायत व्यवसायमा लगानी गर्नेलाई प्राथमिकता दिनु पर्ने बताए । यस्तै, उनले करचुक्ता प्रमाणपत्र विद्युतीय माध्यमबाट हुनु पर्ने पनि धारणा राखे । भारतीय नोट नेपालमा चल्न दिनु पर्ने उनको भनाइ छ । खाद्य सुरक्षा तथा आत्मनिर्भर बनाउने नीति आवश्यक रहेको भन्दै चिस्यान केन्द्रको पनि व्यवस्था गर्नु पर्ने, कृषिमा कर ५ प्रतिशतभन्दा बढी हुन नहुने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.