व्यवसायीले काम नगर्दा ५०० पूर्वाधार निर्माणका योजना प्रभावित, भन्छन्ः यथास्थितिमा काम गर्न सक्दैनौं

  २०७९ वैशाख १६ गते ११:०३     विकासन्युज

फाइल फोटो

बाँके । निर्माण व्यवसायीको आन्दोलनका कारण बाँकेमा ५०० भन्दा बढी पूर्वाधार निर्माणका योजना प्रभावित भएका छन् ।

मूल्यवृद्धिअनुसारको मूल्य समायोजनको माग गर्दै निर्माण व्यवसायीले काम ठप्प पारेपछि बाँकेमा करिब सात अर्ब रुपैयाँ बढीका साना, ठूला योजना ठप्प भएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले बताए । उनका अनुसार, निर्माण व्यवसायी आन्दोलनमा लागेपछि बाँकेमा सरकारी तहबाट भइरहेका पूर्वाधार निर्माणका काम ठप्प भएका छन् । निर्माण व्यवसायीले दैनिक जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै आएका छन् ।

चालु आर्थिक वर्षको अन्त्यतीर निर्माण व्यवसायीले काम ठप्प पारिदिएपछि स्थानीय तहमा बजेट खर्चसमेत प्रभावित हुने भएको छ । बाँकेका आठ स्थानीय तहमा पूर्वाधार निर्माणका योजना कार्यान्वयनको अवस्थामा छन् । अहिले भइरहेको अप्रत्यासित मूल्य वृद्धिले निर्माण व्यवसायीले यथास्थितिमा काम गर्न नसक्ने भएकाले आन्दोलन गर्नु परेको सङ्घका वरिष्ठ उपाध्यक्ष लिलाराज उपाध्यायको भनाइ छ ।

निर्माण सामग्री तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि आव २०७८/७९ को जिल्ला दररेटलाई आवश्यक संशोधन गरी नयाँ दररेटको निर्माण व्यवसायीले माग गर्दै आएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले यसअघि नै निर्माण व्यवसायीलाई जिल्लाबाट हुनसक्ने समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको बताए । रासस

One comment on "व्यवसायीले काम नगर्दा ५०० पूर्वाधार निर्माणका योजना प्रभावित, भन्छन्ः यथास्थितिमा काम गर्न सक्दैनौं"

  • ठेकेदार says:

    यदि नेपालमा भ्रष्टाचार निवारण गर्ने हो भने…
    1. ठेकेदारहरुको १००% कारोबार सफ्टवेयर तथा बैंक मार्फत हुनै पर्ने व्यवस्था गरिनु पर्दछ ।

    2. निर्माण कम्पनीहरु पनि व्यक्तिको नभई पब्लिक कम्पनी बनाउनु पर्दछ ।

    3. रु. १ करोड भन्दा बढीको ठेक्काको योजना निर्माण सम्पन्न भए पछि, सो योजनाको नगद प्रवाहको फेहरिस्त पत्रिकामा प्रकाशित गर्ने व्यवस्था हुनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.