७४ वर्षपछि थपियो टिआईएभन्दा ठूलो अन्तराष्ट्रिय विमानस्थल, आज परीक्षण उडान

  २०७९ वैशाख १५ गते १०:१७     विकासन्युज

काठमाडौं । सन् २०१५ बाट निर्माणको थालनी भएको भैरवहास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार परीक्षण उडान हुने भएको छ ।गत फागुनमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) गरिएको उक्त विमानस्थलमा आज नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले दिउँसो ३ बजे परीक्षण उडान गर्न लागेको हो ।

सन् २०१५ जनवरी १५ अर्थात २०७१ साल माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त विमानस्थल ७ वर्षपछि सञ्चालनमा आउन लागेको हो ।

यसअघि सन २०२० को सुरुवाती चरणमा नै नियमित उडान सञ्चालनको तयारी भएको उक्त विमानस्थलको कोरोना महामारी तथा क्यालिब्रेसन फ्लाइट ढिला हुँदा सञ्चालनमा आउन सकेको थिएन ।

सो विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

विमानस्थलमा भौतिक संरचना निर्माण, उपकरण जडान, परीक्षण, विमानस्थल आसपासको जग्गा अधिग्रहणको मुआब्जालगायत गरी ३० अर्ब रुपैयाँभन्दा बढी लगानीमा सो विमानस्थल निर्माण गरिएको हो ।

विमानस्थल निर्माणको लागि आसपासका करिब २३ सय घरधुरीलाई मुआब्जा वितरणमा मात्रै २२ अर्ब ४० करोड रुपैयाँ खर्च भएका थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा राखिएको गौतमबुद्ध विमानस्थल निर्माणका लागि नेपाल सरकारको ३७ दशमलव ४ र एसियाली विकास बैंकको ६२ दशमलव ६ प्रतिशत लगानी रहेको छ ।

२०२३ सालमा भारतको सहयोगमा निर्माण

विक्रम सम्बत् २०२३ सालमा गौतमबुद्ध विमानस्थल भारत सरकारको सहयोगमा निर्माण गरिएको थियो । आन्तरिक उडानका लागि भारत सरकारको सहयोगमा निर्माण गरिएको उक्त विमानस्थल ५६ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत भएको छ ।

उक्त विमानस्थल हाल १० हजार ५०० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

गौतमबुद्ध विमानस्थल काठमाडौंमा रहेकोे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो बनाइएको छ । उक्त विमानस्थल ५० वर्षसम्मका लागि अन्तर्राष्ट्रिय उडान र अवतरण गर्न मिल्नेगरी निर्माण गरिएको नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जानकारी दिएको छ ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले झण्डै ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध विमानस्थल सञ्चालनको तयारी गरिएको बताए ।

नेपालमा विसं २००६ मा त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि पहिलोपटक अर्को अन्तर्राष्ट्रिय विमानस्थल थपिएको हो । सन् १९४८ मा बीच बनाया नामक वायुयानलाई बेलायती नागिरक एच वेडलरलेले काठमाडौंको गौचरणमा सफलतापूर्वक अवतरण गरेको नै नेपालको सन्दर्भमा हवाई यातायातको सुरुआत भएको मानिन्छ ।

त्यसपछि सन् १९४९ मा पहिलोपटक काठमाडौँ गौचरणमा डकोटा–३ वायुयान अवतरण गरियो । विसं २००७ मा भारतको पटनाबाट इण्डियन नेशनल एयरवेजले पहिलो व्यावसायिक उडान गरेको थियो ।

नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अब बोइङ ७७७, एयरबस ३३० सम्मका जहाज सहजै उडान र अवतरण गर्नेछन् ।

जेठ २ गते विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू भएपछि सुरूमा दैनिक १० वटा र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान भर्ने प्राधिकरणले लक्ष्य लिएको छ ।

विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि एकसाथ प्रतिघण्टा करिब ४५० जना यात्रुले सेवा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.