महासंघद्वारा पीपीएमओ र सबै जिल्ला प्रशासन कार्यालयमा धर्ना जारी

  २०७९ वैशाख १३ गते १७:१३     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्वनिर्धारित कार्यक्रम अनुसार मंगलवार राजधानीको ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिएको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले विहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिएको हो । धर्नामा सहभागीहरूले निर्माण सामाग्रीमा भएको अत्यधिक मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतका नारा लगाएका थिए ।

आन्दोलनको कार्यक्रम अन्तरगत ७७ जिल्ला संघहरूले आज आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरुले प्रदेश प्रमुखको कार्यालयमा एक घण्टा (विहान ११ देखि १२) धर्ना दिएका छन् । माग पूरा नभएसम्म एक घण्टे धर्ना कार्यक्रम जारी राखिने महासंघका महासचिव रोशन दाहालले बताए ।

महासंघले निर्माण सामाग्रीहरूमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभए सम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११ गतेदेखि (आइतबार) लागू हुने गरी कन्स्ट्रक्शन होलिडे मानिने स्पष्ट पारेको छ ।

अप्रत्यासित रुपमा मूल्य वृद्धि हुँदा मूल्यवृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन–१ जारी गरी निर्माणकार्य सञ्चालन गरेको नजिर भएको र सोही नजिर अनुसार यस पटक पनि मूल्य समायोजन मार्गदर्शन– नम्बर २ जारी हुनुपर्ने माग महासंघले अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.