प्रसारण लाइन अभावमा विद्युत् खेर जान नदिन प्राधिकरणको पहल

  २०७९ वैशाख ११ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् जतिसक्दो छिटो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युत‍्हरूबाट उत्पादित विद्युत् खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको काम तत्काल सम्पन्न गरिने छ ।

प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाहरूको विद्युत‍् जोड्न नसकिएको भन्ने सार्वजनिक भएपछि प्राधिकरणको उच्च व्यवस्थापनले दोर्दी र ङादी खोलामा निर्माणाधीन जलविद्युत‍् आयोजना र ती आयोजनाहरूको विद्युत् प्रवाहका लागि निर्माणाधीन प्रसारण लाइनको स्थलगत निरीक्षण भ्रमण गर्दै निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधान, ग्रिड विकास विभागका निर्देशक दुर्गानन्द बडियत, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीको टोलीले शनिबार आयोजनाहरूको निरीक्षण गरेको हो ।

टोलीले प्राधिकरणले लमजुङमा निर्माण गरिरहको दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन, न्यादी हाइड्रोपावर लि.को ३० मेगावाटको न्यादी, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिवर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत‍् कम्पनीको १२ मेगावाटको दोर्दी–१, जलविद्युत आयोजनाहरूको भ्रमण गरेको थियो ।

टोलीले ती आयोजनाहरूको हालसम्मको निर्माण प्रगति र सम्पन्न हुने तालिकालगायतका बारेमा सम्बद्ध व्यक्तिहरूसँग छलफल गरी जानकारी लिएको थियो । कार्यकारी निर्देशक घिसिङले आयोजनाहरू जतिक्दो छिट्टो निर्माण सम्पन्न गर्न आग्रह गर्दै प्रसारण लाइनमा अभावमा विद्युत जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन नदिने बताए ।

प्राधिकरणले दोर्दी खोलाका जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदीपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन (दोर्दी करिडोर) र कीर्तिपुरमा सबस्टेसन निर्माण सम्पन्न गरेको थियो ।

तर, १ असार २०७८मा दोर्दी खोलामा आएको बाढीले आयोजनाका ३३ वटा टावरमध्ये ४ वटालाई बगाएको थियो । बाढीले निर्माणको अन्तिम चरणमा पुगेका निजी क्षेत्रका जलविद्युत आयोजनाहरूमा पनि ठूलो क्षति पुर्‍याएको थियो । अहिले बाढीले बगाएका प्रसारण लाइनका ४ वटा टावर र जलविद्युत आयोजनाहरूको पुनर्निर्माण भइरहेको छ ।

आयोजनाहरूमध्ये दोर्दी खोला रे दोर्दी–१ जलविद्युत् आयोजनाको काम केही छिट्टै सम्पन्न हुने र माथिल्लो दोर्दी एको केही समय लाग्ने देखिएको उनले बताए । दोर्दी खोला आयोजनाको व्यवस्थापनले सम्पूर्ण परीक्षणहरू सम्पन्न गरी २० दिनभित्रमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.