समयमै सकिएन तार भूमिगतको काम, थपियो १५ महिना म्याद

  २०७९ वैशाख ११ गते १०:३५     राजिव न्यौपाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने कार्यले तीव्रता पाउन सकेको छैन । काम सुरु भएको करिब ३ वर्ष हुनै लाग्दा पनि कामको गति अपेक्षित रुपमा बढ्न नसकेको हो ।

प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा रहेका अव्यवस्थित तारलाई व्यवस्थित बनाउनको लागि तार भूमिगत गर्ने योजना अघि सारेको थियो । तार भूमिगत गर्दा शहरको सौन्दर्य पनि कायम रहने प्राधिकरणको भनाई थियो ।

तार भूमिगत गर्ने कार्य जुन रफ्तारमा हुनपर्ने हो त्यो अनुसारको काम हुन नसकेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई स्वीकार गर्छन । सडक विभागले २०७६ माघमा प्राधिकरणलाई सडक खन्ने अनुमति दिएपछि प्राधिकरणले उपत्यकामा २०७६ को फागुनदेखि तार भूमिगत गर्ने काम सुरु गरेको हो ।

प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार काठमाडौंमा हुने ट्राफिक जाम र कोभिड महामारीको कारण समयमा नै काम सक्न मुस्किल परेका हो । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले विभिन्न ठाउँमा तार भूमिगतको काम गर्दैछ । तार भूमिगत गर्दा सडक र फुटपाथ अस्तव्यस्त बनेका छन् ।

सडकपेटीमा नै विद्युतीय ट्रान्समिटर राख्दा स्थानीय र पैदल यात्रुलाई जोखिम भएकोले प्राधिकरणले आलोचना पनि खेपेको छ । प्राधिकरणले धेरै ठाउँमा सडक भत्काएर नपुरेको र खानेपानीको पाइपहरु पनि व्यवस्थित नगरेको गुनासो छ ।

महाराजगन्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, बुढानीलकण्ठ, टोखा, गोङ्गबु, महाराजगन्ज लगायतका क्षेत्रमा तार भूमिगत गरिनेछ । यस्तै, महाराजगन्ज वितरण केन्द्रअन्तर्गत नै बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुसी, महाराजगन्ज, धापासी, बसुन्धारा, शिवपुरी, चुनीखेल, सुकेधारा, धर्मस्थली, टिचिङ हस्पिटललगायतका स्थानमा लाइन भूमिगत गर्ने प्राधिकरणको योजना छ ।

जस अन्तर्गत महाराजगन्ज वितरण केन्द्र वितरण हुने तारको काम ६० प्रतिशत पुरा भइसकेको भट्टराइले जानकारी दिए ।

‘तार भूमिगत गर्ने धेरै भागको काम सकिँदैछ, महाराजगन्ज वितरण केन्द्र अन्तर्गतको करिब सबै काम भइसकेको छ, सो क्षेत्रमा गोंगबुदेखि न्यूचाबहिलसम्मको बाँकी छ, त्यो काम गर्नको लागि सडक, ढल, खानेपानी जस्ता सरोकारवाला निकायसँग सहकार्य गरी काम सुरु गर्नेछौं,’ उनले भने ।

आयोजनामा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण र नेपाल सरकार तथा प्राधिकरणको लगानी छ  । यो आयोजना अन्तर्गत करिब २ सय ५० किलोमिटरमा ११ हजार भोल्ट र ४ सय किलोमिटरमा ४ सय भोल्टको भूमिगत वितरण लाइन निर्माण गरिनेछ ।

काठमाडौंले तारको गुजुल्टोबाट मुक्ति पाउने, बिजुलीका तार भूमिगत गरिँदै रत्नपार्क वितरण केन्द्रअन्तर्गतका रत्नपार्क, न्युरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल, जोरपाटी क्षेत्रमा पनि तार जमिनमुनि बिछ्याइने काम प्राधिकरणले गरिरहेको छ । चाबहिल क्षेत्रको वितरण लाइन भूमिगत गर्ने काम पूरा भइसकेको छ ।

प्रवक्ता भट्टराईका अनुसार हरेका ठाउँमा काम गर्नको लागि सम्बन्धित निकायसँग छलफल गर्नुपर्ने हुन्छ । त्यसकारण पनि काम गर्न ढिलाई भएको छ ।

‘निर्माण व्यवसायीहरुको पनि अहिले आफ्नै समस्या छ, काम गर्न सक्ने पर्याप्त ठाउँ उपलब्ध गर्न सकेनौं, अवरोध नभई छिटो तरीकाले काम गर्ने योजना उनीहरूको हुन्छ, तर हाम्रोमा यो सम्भव छैन, कहिले सडक, खानेपानी, महानगर लगायतसँग सम्झौता गर्नु पर्ने भएकोले पनि यसमा समस्या आएका हो,’ उनले भने ।

रत्नपार्क वितरण केन्द्रको पनि ४० प्रतिशत काम भइसकेको भट्टराईले दाबी गरे । सो केन्द्र अन्तर्गत हाल केही ठाउँमा भूमिगत रूपमा नै लाइन प्रसारण भइसको छ ।

प्राधिकरणको यो काम २०२१ अक्टोबर सम्ममा सक्ने गरी भारतको केईआई कम्पनीलाई ठेक्का दिएको थियो । प्राधिकरणले सो समयभित्रमा काम गर्न नसकेर प्राधिकरणले १५ महिनाको टेन्डर अवधि थपेको छ । सो समयभित्रमा नै भूमिगत तारको काम सक्ने लक्षय प्राधिकरणको छ ।

One comment on "समयमै सकिएन तार भूमिगतको काम, थपियो १५ महिना म्याद"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.