स्थानीय तहको नेतृत्व अब राजनीतिक आस्थाकाे आधारमा नभई सक्षम हुनुपर्छ : कोइराला

  २०७९ वैशाख ८ गते १७:१३     विकासन्युज

स्थानीय तहको निर्वाचन नजिकिँदै छ । स्थानीय तहका जनप्रतिनिधिहरू पालिकाको काम छोडेर पार्टीको चुनावी प्रचारमा व्यस्त हुन थालेका छन् । स्रोतसाधनमा पहुँचको सुनिश्चितता गर्न बनेको स्थानीय सरकारले अबको एक महिनाभित्र नयाँ जनप्रतिनिधि पाउँदैछ । अहिले पार्टीगतभन्दा पनि स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढ्दो छ । दलीय फैसला र काम गराई नराम्रो लागेर पनि स्वतन्त्र उम्मेदवारी दिनको संख्या बढेको हुन सक्छ । यस्तै, आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको तयारी गर्ने मध्येका एक हुन् राजन कोइराला । उनले नागार्जुन नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका छन् । मेयरमा उठ्न दौडधूप गरिरहेका कोइराला अहिले आगामी निर्वाचनको तयारीमा व्यस्त देखिन्छन् ।

अब हुने निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफू सक्षम रहेको उनी बताउँछन् । कोइरालाले नेपालको सबैभन्दा ठूला शिक्षा र रोजगारीसँग आबद्ध भएको संस्थासँग जोडिएर करिब ८ वर्ष काम गरिसकेका छन् । उनी पढाइको सिलसिलामा ९ वर्ष अमेरिका बसे । मेयरमा आकांक्षी कोइरालाले नागार्जुन नगरपालिकालाई एउटा सुन्दर र व्यवस्थित सहरको रूपमा विकास गर्ने सपना देखेको बताउँछन् उनै उम्मेदवार कोइरालासँग विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

तपाईं विभिन्न संस्थामा सक्रिय भएर काम गरिराख्नु भएको छ, लामो समय विदेश पनि बस्नुभयो, अचानक कसरी मेयरमा उठ्ने सोच्नुभयो ?

म सञ्चार कर्मी भएको हिसाबले अन्य देशका मेयरहरूले कसरी काम गरिरहेका रहेछन् र उनीहरूको स्ट्याटस बारे अनुसन्धान गरिरहेको थिएँ । अनुसन्धान गर्दा धेरै जना मेयरहरू स्वतन्त्र हिसाबले कुनै पनि दलमा नलागी काम गरेको पाए । नेपालमा पनि स्वतन्त्र उम्मेवारले राम्रो काम गर्न सक्दो रहेछ भन्ने मलाई लाग्यो । त्यसपछि मैले नागार्जुन नगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार रूपमा उठ्ने निर्णय गरेको हुँ ।

तपाईं कुनै पार्टीसँग जोडिएर पनि उम्मेदवारीमा उठ्न सक्नु हुन्थ्यो, किन स्वतन्त्र उम्मेदवारी नै रोज्नु भयो ?

जब स्थानीय तहलाई दलीय बनाइन्छ, त्यहाँ दललाई बुझाउने चन्दादेखि लिएर त्यसको प्यारामिटरहरु केही नराखेर जसको शक्ति उसको भक्ति भने जस्तो काम गराई देखेर मैले स्वतन्त्र उम्मेदवारी नै रोजेको हो । ठूला दलहरूसँग हाम्रो राम्रो चिनाजानी पनि भएन । पार्टीलाई पैसा दिन सक्ने पनि भएनौं, भनेपछि यस्ता हामीजस्ता नागरिकहरू धेरै छन् । त्यी नागरिकहरूको प्रतिनिधित्व हामीजस्ता युवाले गर्नुपर्छ भनेर अगाडि बढायौं । पार्टीमा आबद्ध हुँदा जस्तो सुकै राम्रो व्यक्तिलाई पनि काम गर्न गाह्रो हुन्छ ।

हामी जस्ता मान्छे हिजोको दिनमा राम्रो नै कमाइ गरिरहेका थियौं । आफ्नो परिवार पालिरहेका थियौं । खुसी थियौं । यी सम्पूर्ण कुराहरू भइरहेका थिए । तर, पछिल्लो समय मैले बुझेकी मेरो खुसीले मात्र एउटा नगरपालिका राम्रो हुन सक्दैन । अब मैले मेरो समाज र देशलाई खुसी बनाउन सक्नुपर्छ भनेर अगाडि बढेको हुँ । मलाई पहिला राजनीतिसँग धेरै सरोकार थिएन ।

आजको दिनमा कुनै पार्टीबाट ८/१० जना उम्मेदवार आउँदा पनि उहाँहरू कसरी मेयर बन्न सक्नुहुन्छ भने सार्वजनिक बहसको विषय बनेन । जो व्यक्ति पार्टीसँग निकट छ उसलाई मात्र चुनावको टिकट दिने प्रक्रिया छ, त्यसलाई हामी जस्ता युवाले चिर्न सक्नुपर्छ भन्ने हिसाबले नै अगाडि बढेको हुँ ।

९ वर्ष अमेरिका बसेँ, त्यहाँ मैले विभिन्न क्षेत्रमा काम पनि गरेँ, सो ठाउँमा नै समाज सेवामा लागेर काम पनि गरेको थिए । हिजोको दिनमा मैले सिकेका कुराहरू र त्यो कामहरू आज मैले आफ्नै देशमा गर्न सकिन भने त्यत्रो समय पढेर सिकेको कुराहरू के काम लाग्छ भन्ने मलाई लाग्यो । चुनाव पनि नजिकिँदै गर्दा अबको नेतृत्व युवाले लिनुपर्छ भन्ने बुझाइ भयो । र, एउटा संकल्प बोकेर हामी अगाडि बढेका हौं ।

नगरको मेयरमा उठ्ने तपाईंका भिजन र चुनावी एजेण्डा के–के हुन् ?

मैले धेरै कुरा र ठूला बाचा घोषणापत्रमा राखेको छैन । एउटा सामान्य नागरिकले नगरपालिकामा जति पनि दु:ख पाउनु भएको छ, त्यो दु:ख कम हुनुपर्‍यो । आजको दिनमा उहाँहरूले सहज रूपमा एउटा डिजिटल प्रणालीबाट आफूले चाहेको कामहरू नगरमा नगईकन घरबाट नै गर्नसक्नुपर्‍यो । निर्वाचित भएपनि डिजिटल प्रणालीको व्यवस्था गर्ने छु । नगरपालिकामा भएका प्राकृतिक सम्पदालाई सूचिकृत गर्ने, आन्तरिक पर्यटनमा कस्तो भूमिका खेल्न सकिन्छ भनेर अध्यान अनुसन्धान गर्ने, स्थानीय उद्यमशीलता र रोजगारीको प्रवर्द्धन गर्ने, यस सँगसँगै आर्थिक विकासको लागि काम गर्ने भनेर खाका तयार पारेका छौं ।

नागार्जुन नगरपालिका पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ हो । यस ठाउँमा पर्यटन विकास गर्ने साथसाथै आन्तरिक र बाह्य पर्यटन भित्र्याउनको लागि जोड दिने छौं । पर्यटन विकास पनि हाम्रो मुख्य एजेण्डा हो ।

त्यसैगरी नगरभित्र सार्वजनिक सुनुवाइ हुनपर्छ भन्ने कुरा हो । जबसम्म नागरिकका घरघरमा गएर समस्या ल्याइँदैन तबसम्म नगरभित्रको समस्यालाई समाधान गर्न सकिँदैन । हरेक नागरिकको घरमा हामी गएर उनीहरूको समस्यालाई सुनेर छलफल समाधान गर्नेछौं । नागरिकहरू नगरपालिका नगएर नगरपालिका चाहिँ घर दैलोमा हुनुपर्छ भन्ने हाम्रो अवधारण हो । बालबालिकाको लागि शिक्षा, युवाको लागि परामर्श र रोजगारी, वृद्धवृद्धाको लागि स्वास्थ्य उपचारको व्यवस्थालगायत काम गर्ने चाहना हो ।

नगरपालिकामा मेयर जित्ने तपाईंको आधार के के हुन् ?

अहिलेको अवस्थामा हरेक नेपाली नागरिकलाई के चाहनु हुन्छ भनेर सोध्नु भयो भने परिवर्तन भनेको सुन्छौं । परिवर्तन नेतृत्वबाट नै हुनुपर्छ । परिवर्तन कहाँबाट सुरु गर्ने भन्दा स्थानीय तहबाट नै हो । ठूलो पहाडलाई फोर्नु पर्नेछ भने सुरु सानोबाट नै गर्नुपर्छ । आजभन्दा अगाडि नेतृत्व वर्गमा बस्नु भएकाहरूले विकास भनेपछि सडकलाई मात्र देख्नुभयो । उहाँहरूलाई ५ वर्षसम्म फोहोरमैला तथा ढलको व्यवस्थापन गर्न सकस पर्‍यो । सडक मात्रै अबको विकास हैन है भन्ने कुरा नागरिकहरूले बुझ्नु भएको छ ।

उहाँहरू यो कुरामा असफल भइसक्नु भएको छ । त्यो भइसकेपछि जनताबाट पनि परिवर्तनको माग आइरहेको छ । पहिलो कुरा हामीसँग नागरिकहरूको समर्थन छ । अहिले हामीले थोरैबाट धेरै काम भनी रहेका छौं । बाचा धेरै गरेर काम नगर्ने अथवा हिजोको दिन जस्तो डेढ २ सय बुँदा राखेर हामीले घोषणापत्र बनाएका छैनौं । हामीले बाहिरको कुरा ल्याएर नागरिकलाई लोभ्याउन पनि खोजको छैनौं ।

नगरपालिकामा जे जति समस्या छन् त्यसको टिपोट नागरिकको घरघरमा नै गएर गरिरहेका छौं । हाम्रो कार्ययोजना एउटा ठूलो अनुसन्धान गरेर निकालेको कार्य योजना हो । अरू दलहरू जस्तो कपि पेस्ट गरेको हाम्रो कार्य योजना हैन । त्यसले पनि जनमासमा एउटा राम्रो प्रभाव छोडेको छ । मेरो नेतृत्वको क्षमतामा पनि धेरै जनाले राम्रो भनी सक्नु भएको छ । मैले पनि नगरपालिकामा एउटा कुशल नेतृत्व गर्न सक्छु भनेर आफ्ना अवधारणहरू अगाडि सारिरहेको छु ।

यसअघि निर्वाचित जनप्रतिनिधिहरूको गरेको काम तपाईंलाई कस्तो लाग्छ ?

मैले अघि पनि भने निर्वाचित जनप्रतिनिधिलाई विकास भन्ने बित्तिकै सडक हो भन्ने मात्र भयो । तर, नागरिकले चाहेको सडक मात्रै हैन । स्थानीयको समस्यालाई बुझेर उहाँहरूले काम गर्नसक्नु भएको छैन । एउटैमात्र काम गरिराख्नु भएकोले उहाँहरूको असफल हो भन्ने हामीलाई लागेको छ । उहाँहरूले गरेको कामको मूल्याङ्कन अबको निर्वाचनबाट जनताले मत दिएर अवश्य पनि गर्ने नै छ ।

तपाईंले नागार्जुन नगरपालिकाको सबैभन्दा ठूलो आवश्यकता केलाई ठान्नुहुन्छ ?

नगरपालिकामा आवश्यकता धेरै छन् । नगरको आवश्यकताभन्दा पनि नागरिकहरूले आवश्यकता र चाहना अनुसारको काम नै हुन सकेको छैन । निर्वाचित भए भने नागरिको चाहना अनुसार काम गर्नेछु । नागार्जुन नगरपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने मन मलाई छ । यस नगर पर्यटनको लागि प्रबल सम्भावना भएको ठाउँ भन्छु । पर्यटकीय क्षेत्रलाई विकास नै अहिले आवश्यकता ठान्छु । कृषि गर्नको लागि यहाँ जग्गा नहोला, तर धादिङबाट आउने तरकारी फलफूहरू छन् यी कुरालाई व्यवस्थित गरेर नगरभित्र नै सञ्चय गरेर बजारमा लान सक्ने सम्भावना छ । नागरिकको अहिले सकारात्मक कुराहरू आइरहेको छ, त्यही कुरालाई आधार मानेर हामी अगाडि बढी रहेका छौं ।

यदि तपाईं निर्वाचित हुन भयो भने तपाईंको पहिलो काम के हो ?

यदि म निर्वाचित भएभने मैले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आवश्यक प्रक्रियाहरू अघि बढाउने योजना छ । सबै भन्दा पहिला नागरिकको घरघरमा गएर त्यहाँको समस्यालाई टिपोट गर्छु । अझै पनि समस्याको जडलाई पत्ता लगाउन सकेका छैनौं । समस्याको पहिचान गरी एउटा खाका तयार गरी नागरिकहरूले नै भनेको अनुसार अगाडि बढ्ने छौं । यो सँगसँगै नगरपालिकालाई डिजिटल तरिकाबाट अगाडि बढाउने तर्फको काम गर्ने छौं ।

स्थानीय तहको निर्वाचन नजिकिएको छ, यो समय के काममा व्यस्त हुनुहुन्छ ?

म अहिले युवा साथीहरूसँग भेटघाट गरिरहेको छु । बुबा आमासँग भेटघाट गरी उहाँहरूको समस्याको बारेमा म टिपोट गरिरहेको छु । नागरिकको घर आँगनमा पुगी भोट हाल्नुपर्छ, यसको महत्त्व ठूलो छ भनेर जनचेतनाको कार्यक्रम पनि गरिरहेका छौं । जसले गर्दा कार्य योजनामा यस्ता कुराहरूको टिपोट गर्न सकियोस् भनेर म लागि रहेको छु । नगरपालिकाका विविध विषयमा रहेर पनि अध्यान गर्ने काम भइरहेको छ । चुनावी प्रचार प्रसारमा अलिक व्यस्त नै छौं ।

यदि तपाईंले चुनाव जित्नु भएन भने के गर्नु हुन्छ नि ?

चुनावमा कसैको जित र कसैको हार भइहाल्छ । मैले चुनाव जितिन भने म यो नगरपालिकाको निर्वाचित हुने जनप्रतिनिधिसँग मिलेर मैले अघि सारेको योजनाहरूमा काम पूरा गर्ने योजना बनाएको छु । विशेषतः युवाको क्षेत्रमा काम गर्न चाहन्छु ।

नेपालमा प्राय: धेरै जसो पार्टीगत उम्मेदवारीहरु चुनावमा उठ्छन्, पार्टीगतमात्र नभई एउटा स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भयो भने स्थानीय तहमा कुशल नेतृत्व गरी राम्रो काम गर्न सक्छ भने आम नागरिकहरूलाई कसरी स्पष्ट पार्न सक्नु हुन्छ ?

हामीलाई दलको जस्तो प्रेसर पर्दैन । हामीले प्रेसरमा काम गर्न खोजेका हैनौं । हामीले स्वतन्त्र रूपमा काम गर्दा माथिका कुराहरू सुनेरमात्र निर्णय गर्नुपर्ने जरुरी हुँदैन । दलमा भयो भने काम गर्न समस्या हुन्छ भनेर स्पष्टदेखि सकेका छौं । व्यवस्थापन नै अहिलेको ठूलो समस्याको रूपमा रह्यो । हामी जस्ता नागरिकहरू प्रतिनिधित्व भएर अगाडि बढ्यौं भने गर्न सक्ने कामहरू यहाँ धेरै छन् ।

अन्त्यमा नगरवासीलाई के भन्न चाहनुहुन्छ ?

हिजोको दिनमा घोषणापत्र हेरेर दलहरूलाई भोट दिएर जिताउनु भयो । उहाँहरूले काम गर्नसक्नु भएन भन्ने कुरा यहाँहरूको अगाडि छर्लङ्गै छ । यसका विभिन्न परिणामहरू देखिसकेका छौं । अब दलमा लाग्नुभन्दा पनि व्यक्ति विशेष यो मान्छेले राम्रो काम गर्न सक्छ कि सक्दैन, भोलिका दिनमा काम गर्न ऊसँग भएको भिजन क्लियर हो हैन भन्नेर स्पष्ट भएरमात्र मत हाल्नु होला ।

विश्वमा पनि स्वतन्त्र उम्मेदवारले धेरै राम्रो काम गरेका छन् । हामी पनि त्यो काम गरेर देखाउने छौं । हिजोको दिनमा विभिन्न पार्टी आए, गठबन्धनको कुरा भए अब आजको दिनमा स्वतन्त्र उम्मेदवारलाई पनि एउटा अवश्र दिनको लागि आम नगरवासीसँग अपिल गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.