अमेरिकामै २ लाख १० हजार डलर पर्ने विद्युतीय गाडी किन्छन् नेपाली, ९ महिनामा आयो ६ अर्बको

  २०७९ वैशाख ८ गते १३:३७     विकासन्युज

काठमाडौं । गत पुस ५ गते एक कम्पनीले अमेरिकाबाट दुईवटा विद्युतीय कार खरिद गर्न एलसी खोल्यो । दुबै कारको एलसी खोल्दाको मूल्य थियो दुई लाख १० हजार अमेरिकी डलर ।

अमेरिकामा दुई लाख १० हजार डलर मूल्य हुनु भनेको नेपाली विनिमय दर अनुसार एउटा कारको मूल्य दुई करोड ५० लाख रुपैयाँभन्दा बढी हुनु हो । यसको आयातमा लाग्ने खर्च तथा कर र व्यापारीको नाफासमेत जोड्दा ती दुई कारको मूल्य निकै बढी हुने देखिन्छ ।

यति मात्रै होइन, गत पुस १ गते अर्काे एउटा विद्युतीय कारको पनि एलसी खोलिएको थियो । सो कार पनि अमेरिकादेखि नै आयात गर्ने भनेर एलसी खोलिएको हो । कारको आयातका लागि एलसी खोल्दा मूल्य नेपाली रुपैयाँमा तीन करोड ६७ लाख ७१ हजार रुपैयाँभन्दा बढी छ । भलै यो कार एक बहुराष्ट्रिय कम्पनीले आयात गरेको थियो ।

टेस्लाको सो कार खरिदका लागि एलसी खोलिएबाटै विश्वमै महँगोमध्येमा पर्ने वस्तु नेपालमा आयात गरी उपभोग गर्न चाहने सौखिन नेपालीको संख्या बढ्न लागेको यो घटनाले पुष्टि गर्छ ।

विद्युतीय कारमा सरकारले प्रोत्साहन दिन थालेपछि यस्ता कारको आयात बढ्न लागेको तथ्यांकले देखाएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा कडाइ गरे पनि विद्युतीय गाडीमा कुनै कडाइ नगर्दा विद्युतीय गाडीको आयात बढ्न थालेको तथ्यांकले देखाएको हो ।

एक तथ्यांक अनुसार गत चैत ३० गतेसम्ममा (चालु आर्थिक वर्षको ९ महिनासम्ममा) ६ अर्ब १७ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरका विद्युतीय गाडी आयातका लागि एलसी खोलिएको छ । चीन, भारत, दक्षिण कोरिया, अमेरिका, फ्रान्स जस्ता देशहरुबाट विद्युतीय कार खरिदको लागि सो परिमाणको एलसी खोलिएको हो ।

यीमध्ये एउटा कार फ्रान्सबाट २३ हजार २५५ युरोमा आयात गर्न एलसी खोलिएको छ । यस्तै, एक अर्ब ६५ करोड १० लाख रुपैयाँ बराबरको एलसी भारतबाट ५५० वटा विद्युतीय कार खरिद गर्नको लागि खोलिएको छ ।

कुल एक हजार ६९४ वटा विद्युतीय कार खरिदको लागि एलसी खोलिएकोमा बाँकी कार अमेरिकी डलर तिरेर आयात गर्ने भन्दै एलसी खोलिएको हो ।

कर छुट

सरकारले विद्युतीय सवारी साधनको आयातमा कर छुट दिएको छ । व्यवसायीले भारतलगायत देशबाट विद्युतीय सवारी साधन नेपाल ल्याउँदा ४० प्रतिशतसम्म कर तिर्ने गरेका छन् ।

भन्सार विभागले कार, जीप तथा भ्यान नेपाल ल्याउँदा किलोवाट क्षमताका आधारमा १० देखि ४० प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको छ । विभागका अनुसार १०० किलोवाटसम्मको क्षमता भएका विद्युतीय सवारी ल्याउँदा १० प्रतिशत भन्सार शुल्क, १०० देखि २०० किलोवाट क्षमतासम्म १५, २०० देखि ३०० सम्म ३० र ३०० देखि बढी क्षमता भएका साधान ल्याउँदा ४० प्रतिशत भन्सार शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।

यस्तै, भन्सार शुल्कसँगै ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने गरेको छ ।

सम्बन्धित सामग्री

विद्युतीय गाडीको मूल्यका विषयमा अध्ययन गर्दै आन्तरिक राजस्व विभाग

सरकारी सुविधा थपिँदा विद्युतीय सवारी साधनको आयातमा छलाङ

One comment on "अमेरिकामै २ लाख १० हजार डलर पर्ने विद्युतीय गाडी किन्छन् नेपाली, ९ महिनामा आयो ६ अर्बको"

  • c.k.shahi says:

    GON REDUCE TAX WHY NOT IMPORT EV CAR BUS N TAXI ETC, PEOPLES IN NEPAL 30 PERCENT ARE RICH.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.