किसानलाई ५० प्रतिशत अनुदानमा चल्ला वितरण

  २०७९ वैशाख ७ गते १२:०३     विकासन्युज

बागलुङ । वडाको अनुदानबाट यहाँका किसानले पशुपक्षीपालनमा लाभ उठाएका छन् । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो ।

वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाले स्थानीय जातका तीन हजार चल्ला वितरण गरिएको बताए । १०० रुपैयाँ पर्ने चल्लालाई किसानले ५० तिरेका थिए भने वडाले ५० अनुदान दिएको थियो ।

समितिले गाउँटोलसम्मै पुगेर किसानलाई चल्ला बाँडेको थियो । वडामा ठूलो लगानीमा स्थानीय जातका कुखुराको व्यवसाय गरिरहेका किसान पनि छन् । अध्यक्ष सापकोटा आफैं पनि व्यावसायिक कुखुरापालक हुन् । समितिले अनुदानमा चल्ला वितरणसँगै वडाका १३२ गाईभैंसीको बीमाका लागि किसानलाई सघाएको छ ।

एउटा भैंसीको अधिकतम् एक लाख १५ हजारसम्म मोल गरी बीमा गरिएको छ । गाईभैंसीको निर्धारित मूल्यको ८० प्रतिशत बीमा सरकारले र बाँकी २० प्रतिशतमा आधाआधा गरी समिति र किसानले तिरेका छन् । वडाको बजेटमध्ये पुश बीमामा ६८ हजार खर्च भएको समितिले जनाएको छ । त्यति नै रकम किसानले पनि हालेका छन् । कूल बीमा रकममा किसानले वर्षेनि आफ्नो दायित्वबापतको पैसा तिर्नेछन् । वडाले आउँदो वर्षमा पनि बीमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

एउटै भैंसीको मृत्यु भए किसानलाई झण्डै एक लाख क्षति हुने हुँदा बीमाले त्यसको जोखिम घटाउने समितिको भनाइ छ । व्यावसायिकरूपमा पशुपंक्षीपालनका लागि वित्तीय संस्थाबाट ऋण लिँदा पनि बैंकहरूले बीमा खोज्ने गरेको किसानहरू बताउँछन् ।

सरकारले कृषि तथा पशुबीमा कार्यक्रम ल्याएपछि व्यावसायिक फार्महरूलाई बढी टेवा पुगेको छ । कुनै कारणले व्यवसायमा क्षति पुगेमा बीमाबाट सोको क्षतिपूर्ति मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.