पृथ्वीबहादुर शाहको बैंक खाता फुकुवा गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश

  २०७९ वैशाख ५ गते १९:००     विकासन्युज

काठमाडौं । अछामका पृथ्वीबहादुर शाहको खातामा अमेरिकाबाट आएको ४० करोडौं रकम अवैध भन्दै राष्ट्र बैंकले उनको खाता रोक्का गरी छानबिन गरिरहेको छ । छानबिनका लागि रोक्का गरिएको बैंक खाता सञ्चालनका लागि उनले सर्वोच्चमा दिएको निवेदनमा अदालतले खाता फुकुवा गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको प्रभु बैंकमा रहेका खातामा अमेरिकाबाट आएको रकम फुकुवाका लागि शाहले दिएको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्टको नाममा रहेको चार करोड ८० लाख रुपैयाँ फुकुवा गर्न शाहले गत साउन १२ गते निवेदन दिएका थिए ।

उनले विभिन्न व्यक्ति र कम्पनीको नाममा रकम नेपाल भित्र्याएको राष्ट्र बैंकले जनाएको छ ।  समाचार जम्मा भित्रिएको अवैध रकम ४० करोड भनिए पनि शाहले भने यसअघि पत्रकार सम्मेलन गरी १४ करोडमात्र बताइसेका छन्  ।

गतवर्षको असार र साउनमा गरी विभिन्न ६ वटा रिट निवेदनमार्फत शाहले सर्वोच्च अदालतमा राष्ट्र बैंकको निर्णयलाई चुनौती दिएकोमा गत वर्षकै साउन २४ मा सर्वोच्च अदालतले पाँच निवेदनमाथि अन्तरिम आदेश नदिने निर्णय गरेको थियो । बाँकी एउटामाथि सोमबार सुनुवाइ भएको सर्वोच्चले जनाएको छ ।

उक्त अवैध रकमको विषयमा अर्थमन्त्रीदेखि राष्ट्र बैंकका सञ्चालकसम्म विवादमा मुछिएका छन् भने राष्ट्र बैंक, प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धीकरण विभागले यसबार अनुसन्धान गरिरहेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आफूकहाँ राष्ट्र बैंकका सञ्चालकले बार्गेनिङ गरेको सूचना आएको दाबी गरेका थिए भने यसअघि उक्त रकम फुकुवा गर्न राष्ट्र बैंकलाई अर्थमन्त्रीले दबाब दिएको समाचार बाहिरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.