गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध

  २०७८ चैत २९ गते १६:१६     विकासन्युज

काठमाडौं । खिम्ती र लिखुनदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माणाधीन गर्ज्याङ–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोधै अवरोध कायम रहेको छ ।

प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगंगा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका छन् ।

केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दै प्रसारण लाइनको तार तान्न दिएका छैनन् । कानूनी व्यवस्था अनुसार प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मूल्याङ्कित रकमको २० प्रतिशत क्षतिपूर्ति निर्धारण गरिएको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिकाको गर्ज्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा टुंगिने प्रसारण लाइनको लम्बाइ ३२ किलोमिटर छ । प्रसारण लाइनमा पर्ने १०५ वटा टावरमध्ये सबैको जग हालिएको छ । १०१ वटा टावर खडा गरिएको छ भने २० किलोमिटर तार टांगिएको छ । गर्ज्याङमा १३२-३३-११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । प्रसारण लाइन तथा सब स्टेसनका अधिकांश उपकरणहरू निर्माणस्थलमा ल्याइसकिएको छ ।

पूर्वाधार तयार नहुँदा हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको १२ मेगावाट जडित क्षमताको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइनमा जोड्न सकिएको छैन ।

आयोजना व्यवस्थापनले निरन्तर पहल र प्रयास गरेता पनि अवरोध हट्न नसक्दा प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसकेको हो । प्रसारण लाइन अभावमा विद्युत् खेर जाने अवस्था आएपछि निर्माणमा भइरहेको अवरोध खुलाउन नेपाल विद्युत् प्राधिकरणको उच्च व्यवस्थापनले पहल सुरु गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीले आयोजना निर्माणस्थलको निरीक्षण भ्रमण गरी अवरोध हटाउन प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुसँग छलफल गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन अभावमा विद्युत जोड्न नसक्नु पीडादायी रहेको बताउँदै आगामी असारभित्रमा जसरी पनि आयोजनाको काम सक्नु पर्ने बताए ।

अनुमानित लागत २ करोड अमेरिकी डलर रहेको आयोजना नेपाल सरकारको लगानीमा निर्माण भएको हो । आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.