महासंघ साधारणसभाको सन्देश : देशलाई श्रीलंका हुन दिँदैनौं, समृद्ध नेपाल बनाउन सहकार्य गरौं

  २०७८ चैत २८ गते १५:४७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सोमबार ५६औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस आयोजना गर्‍यो । यसअघि सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तिहरूले देशको अर्थतन्त्र समस्यामा परेको र यही दिशामा अगाडि बढे देश श्रीलंका बन्ने वक्तव्य दिँदै आएका थिए र दिई पनि रहेका छन् ।

आइतबार मात्रै नेकपा एमालेका नेता तथा तीन पूर्वअर्थमन्त्रीमन्त्रीहरूले देश श्रीलंकाको अवस्थामा पुग्नसक्ने डरलाग्दो धारणा राखे । आइबार नै एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा देश श्रीलंकाको दिशामा गएको र अब विभिन्न संघ संस्थामा काम गर्ने कर्मचारीले तलब नपाउने अवस्था आउने  वृद्धवृद्धाले भत्ता नपाए आश्चर्य नमान्न भने ।

त्यति मात्रै होइन गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत बाह्य क्षेत्रलाई व्यवस्थित गर्न सकिएन भने देशको अर्थतन्त्र श्रीलंकको जस्तो हुने धारणा राखे । गभर्नर अधिकारीले समेत सो वक्तव्य दिएपछि बैंकिङ, उद्योग तथा सर्वसाधारमाझ भने एक किसिमको तरंग मच्चियो ।

सोही कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भने देशलाई श्रीलंका बनाउने कसैको चाहना पूरा नहुने भनाइ राखे । यी केही उदाहरणहरु पछिल्लो २/४ दिनमा भएका घटनाक्रम हुन् । राजनीतिक दलदेखि नेपाल राष्ट्र बैंकको गभर्नरसम्मले डरलाग्दो वक्तव्य दिँदा निजी क्षेत्रका उद्योगी व्यवसायी भने पृथक किसिमको भनाइ राख्छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघको वार्षिकसाधारणसभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो केही दिनमा देश श्रीलंका पो बन्ने होकि भन्ने डरलाग्दो धारणा आइरहेकोले निजी क्षेत्रले देशलाई श्रीलंकाबाट बन्नबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

‘पछिल्लो समय देश श्रीलंका नै बन्ने होकि भन्ने डरलाग्दाे अभिव्यक्तिहरु आइरहेका छन्, यो संकट केही महिनापछि मात्रै समाधान हुन्छ भन्ने हाम्रो विश्वास छ, उद्योगी व्यवसायी पनि यस देशका नागरिक हुन्, हामी हाम्रो देशलाई श्रीलंका हुन दिँदैनौं,’ उनले भने, ‘तर, निजी क्षेत्रलाई सरकारको साथ आवश्यक छ ।’

यस्तै, उनले निजी क्षेत्र दौडिन खोजे पनि अर्थतन्त्रले थेग्न नसकेको धारणा राखे । उनले सिंहदरबार र राष्ट्र बैंकमा हुने छलफल र निर्णयबारे निजी क्षेत्रलाई जानकारी नहुने र निजी क्षेत्रलाई सरकारले राजश्वको स्रोतका रुपमा मात्रै लिएको धारणा राखे ।

‘अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ७७ प्रतिशत छ, करिब ७५ प्रतिशत रोजगारी हामीले सिर्जना गरेका छौं, सोही हाराहारीमा राजश्व हामी र हाम्रो माध्यमबाट संकलन हुन्छ, हामी पनि संकट हुन नदिन योगदान दिन चाहन्छौं, हामीलाई पनि मुलुकको माया छ,’ अध्यक्ष गोल्छाले भने ।

यस्तै, उनले भिजन २०३० मार्फत् १०० अर्बको अर्थतन्त्र, २२ लाखलाई रोजागारी, दिने महासंघको उद्देश्य रहेको बताउँदै स्टार्टअपको सम्भावनालगायत विषयमा पनि काम भइरहेको बताए । सरकारले निजी क्षेत्रको सहकार्यमा देशको पछिल्लो संकट अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देश श्रीलंका बन्नेभन्दा पनि समृद्ध नेपाल बनाउनतर्फ सबैले ध्यान दिनुपर्ने बताए । उनले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो जोखिम अवस्थामा नपुगेको बताउँदै सुधार गर्नुपर्ने ठाउँ र उपायहरू पर्याप्त रहेको धारणा राखे ।

‘कालाे बादलभित्र चाँदीको घेरा हुन्छ, सम्भावना खोजौं, समस्याको पहिचान गरेर समाधान गर्नतर्फ लागौं, सबैले समस्या भनेर मात्रै नबसौं, श्रीलंकाभन्दा पनि समृद्ध नेपाल बनाउनतर्फ लागौं,’ उनले भने ।

भूकम्प र कोरोना महामारीका कारण तहस नहस बनेको निजी क्षेत्रलाई उकास्न सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘कोभिड बेलामा कर्जाको माग पनि बढ्यो, माग बढ्दा आयात बढ्नु स्वभाविक थियो, साढे ६ महिनाको आयात धान्न सक्ने सञ्चिती छ, अहिले पर्यटक बढेकोले विदेशी मुद्रा सञ्चितीमा पनि सपोर्ट गर्छ, आत्तिनु पर्ने अवस्था छैन, तर सजग भने बन्नु पर्छ,’ उनले भने ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण निजी क्षेत्रका लागि पनि उपलब्धिमूलक बनेको बताए । नेपाली अर्थतन्त्रमा समस्यासँगै समाधानको स्रोतसाधन पनि रहेको बताउँदै उनले पर्यटन विकासमा पनि जोड दिनुपर्ने बताए ।

बजारको हल्ला अफवाह होः मुख्यसचिव बैरागी

नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले देशको अर्थतन्त्र बजारमा फैलाइएको हल्ला जस्तो नभएको बताएका छन् । बैरागीले अहिले बजारमा फैलिएको हल्ला अफवाह भएको र देशको अवस्था श्रीलंकाको जस्तो नभएको स्पष्ट पारे ।

देशको अर्थतन्त्रमा देखिएको पछिल्लो समस्या समाधानका लागि निजी क्षेत्रसँग नेपाल सरकार खुला दिलले छलफल गर्न तयार रहेको पनि उनले बताए ।

निजी क्षेत्र सरकारको एक महत्त्वपूर्ण साझेदार भएको बताउँदै उनले सरकारको दीर्घकालीन विकास लक्ष्य तथा महासंघको भिजन २०३० को उदेश्य एउटै खालको भएकोले काम गर्न सहज हुने उनको भनाइ छ ।

साथै विदेशी लगानी भित्र्याउन वातावरण सहज कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको पनि उनले जानकारी गराए । अन्य देशसँग प्रतिस्पर्धा गर्न उत्पादनको लागत घटाउनेतर्फ ध्यान दिनुपर्ने पनि उनको भनाइ छ । रेमिट्यान्स भित्र्याउनका लागि कुनै सहुलियत पनि दिन सकिन्छ कि भनेर सकारले काम गरिहरेको उनले बताए ।

One comment on "महासंघ साधारणसभाको सन्देश : देशलाई श्रीलंका हुन दिँदैनौं, समृद्ध नेपाल बनाउन सहकार्य गरौं"

  • c.k.shahi says:

    PLEASE RECALL YOUR MIND WHAT WILL HAPPEN.
    WE NEPALI HAS EACH RS APPOX 60,000.00 IN EACH PEOPLE .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.