डाक्टरले बिरामीलाई घण्टौं कुराउँदा हुने आर्थिक घाटाको अध्ययन हुनुपर्‍यो : डा उमाशंकर

  २०७८ चैत २८ गते १४:३३     डोमी शेर्पा

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकर प्रसादले एउटा डाक्टरले बिरामीलाई घण्टौं कुराउँदा राष्ट्रलाई हुने आर्थिक घाटाको अध्यन हुनुपर्ने बताएका छन् ।

सोमबार नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सम्मलेनलाई सम्बोधन गर्दै डा. प्रसादले यस्तो बताएका हुन् ।

उनले डाक्टरहरुको बिरामीलाई हेर्ने समय र अपरेसनको लागि समयको व्यवस्था निकै अवस्थित रहेको बताए । बिहान सबैलाई ९ बजे बोलाएर डाक्टरहरुलाई कुर्दाकुर्दा ३ बजे मात्रै डाक्टरले चेक गर्ने गरेको उनी बताउँछन् । आफूले पनि त्यस्तै भोगेको डा. प्रसादले बताए ।

‘मलाई आज यहाँ भन्नै मनलाग्यो । यहाँ डाक्टरहरु हुनुहुन्छ । दुःखी मन नगरदिनुहोला । मलाई के भन्न मनलाग्यो भने, डाक्टर साहेबको जुन टाइम म्यानेजमेन्ट छ, चाहे त्यो अपरेसनमा होस् वा रेगुलर बिरामीलाई होस् । तपार्इंहरुको यो साह्रै अव्यवस्थित चाहिँ भएको छ । म आफै पनि बिरामी भएर जाँदा डाक्टरले ९ बजे बोलाउनुहुन्छ भने बल्ल ३ बजे हेर्नुहुन्छ । यो मलाई विचित्र के लाग्यो भने यत्रो विद्धानहरु, यत्रो तपाईंहरु एमबिबिएस, एमडी गरेको हुनुहुन्छ, किन यस्तो भएको होला ?’ उनले प्रश्न गरे ।

डाक्टरले सबै बिरामीलाई विहान ९ बजे बोलाउने गरेका कारण समय व्यवस्थापन गर्न नसकेर यस्तो समस्या भएको उनले सुनाए ।

उनले एउटा डाक्टरले ५० जना बिरामी हुँदा कम्तीमा पनि १० देखि १५ मिनेटको टाइम ग्याप राखेर हेर्नुपर्ने सुझाव दिए ।

‘तपाईहरुले बिरामीको लागि तपाईं १० बजे आउनुहोस्, तपाईं १०ः१५ मा आउनुहोस् भनेर एउटा लिस्ट बनाईदिनु भयो भने त्यो धेरै राम्रो हुन्छ,’ उनले भने ।

डाक्टरले ९ बजे बोलाएर ३ बजे हेर्दा आफ्नो दैनिक ४ देखि ५ वटा महत्वपूर्ण मिटिङ्ग छुट्ने गरेको उनी बताउँछन् ।

‘म यसलाई इकोनोमीसँग जोड्न चाहन्छु । यहाँहरुलाई जस्तै म राष्ट्रिय योजना आयोगको मान्छे ९ बजे बोलाएर डाक्टरले ३ बजे हेर्दा मेरो ४ देखि ५ वटा अतिमहत्वपूर्ण मिटिङ्गहरु छुटिसकेको हुन्छ, अब स्वास्थ्य नहेरौं बिरामी भएर मरिएला भन्ने डर । अब राज्य नहेरौं राज्य मरिरहेको छ । अब आफू मर्ने कि राज्य मर्ने भन्ने,’ डा. प्रसादले थपे ।

उनले आफू राष्ट्रिय योजना आयोगमा आइसकेपछि र अगाडि स्वास्थ्य बीमा बोर्डको निर्देशक हुँदा पनि डाक्टर भेट्न जाँदा धेरै मिटिङ्गहरु छोड्ने गरेको बताए ।

‘मैले धेरै पटक राष्ट्रिय योजना आयोगमा आइसकेपछि र अगाडि म स्वास्थ्य बीमा बोर्डको निर्देशक हुँदा पनि म धेरै मिटिङ्गहरु छोड्ने गर्थे, जब म मेडिकल डाक्टर कहाँ जान्थे । भनेपछि यस्ता साना कुराले पनि धेरै प्रभाव पार्छ । यहाँ मेडिकल एशोसिएसनका कोही हुनुहुन्छ भने उहाँलाई मैले विशेष अनुरोध गर्न चाहे कि– यसलाई सिस्टमाइज गर्दिनुहोस्,’ उनले भने ।

घण्टौं डाक्टरलाई कुर्दा एक त बिरामी मानसिक रुपमा कमजोर हुने र महत्वपूण्र्न कामहरु पनि छुट्ने उनी बताउँछन् । समय निकै संवेदनशील विषय भएको भन्दै उनले सबैलाई यस विषयमा ध्यान दिन आग्रह गरे ।

‘मैले ५ घण्टा त्यहाँ कुरेर बस्दा दुईवटा घाटा छ । पहिलो घाटा म मानसिक रुपमा कमजोर हुन्छु । त्यहाँ कुर्नुपर्दा ब्लडप्रेसर जचाँउन गयो बढेर १५०÷१०० भइसकेको हुन्छ । उता मिटिङ्गमा राष्ट्रको महत्वपूर्ण विषयहरु छुटिरहेको छ भने उता डाक्टर सहेबहरु झनै प्रेसरमा हुनुहुन्छ हामीभन्दा । यी विषयवस्तुहरुलाई तपाईहरुले कसरी म्यानेज गर्नुहुन्छ, किनभने टाइम असाध्यै संवेदनशील वस्तु हो,’ उनले भने ।

यस्तै, राष्ट्रिय योजना आयोगले एउटा डाक्टरले कुराउँदा देशलाई घाटा हुन्छ भन्ने बारेमा अध्ययन गर्नुपर्ने अवस्था नआओस् भन्दै उनले वैज्ञानिकहरुलाई यसको मोडालिटीमा केही सहयोग गर्न अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.