मेयर बनेपछि काठमाडौंमा १० तले स्मार्ट भर्टिकल पार्किङ बनाउँछु : सुनिता डंगोल

  २०७८ चैत २७ गते ११:४८     विकासन्युज

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन नजिकिएसँगै काठमाडौं महानगरपालिकाको मेयरको पदमा दाबी गर्नेको संख्या पनि बढ्दो छ । संघीय राजधानी पनि भएकोले काठमाडौंको मेयर पदमा धेरैको आकर्षण बढेको पनि हुनसक्छ । स्थानीय तहको आगामी निर्वाचनमा मेयर पदको दाबी गर्नेमध्येमा एक हुन् सुनिता डंगोल । स्वतन्त्र उम्मेदवार दिने वा कुनै दलबाट उठ्नेबारे उनले निर्णय लिइसकेकी छैनन् । ‘मिस नेवा २०११’ की विजेता, सामाजिक कार्यक्रम र क्यालिग्राफी प्रवर्द्धन गर्ने र सुनिता सञ्चारकर्मी भएर विगत लामो समयदेखि काम गरिरहेकी छन् । काठमाडौंको मेयरमा उठ्न दौडधुप गरिरहेकी डंगोल अहिले आगामी निर्वाचनको तयारीमा व्यस्त छिन् । अब हुने निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफू सक्षम रहेको उनी बताउँछिन् । सुनिता डंगोलसँग मेयर पदमा उनको उम्मेदवारी लगायत विषयमा विकासन्युजले कुराकानी गरेको छ ।

तपाईं विभिन्न संस्थामा सक्रिय भएर काम गरी राख्नु भएको छ, अचानक कसरी मेयरमा उठ्ने सोच्नुभयो ?

विभिन्न संस्थामा सहभागी भएर सक्रिय भइरहँदा मैले के अनुभव गरे भने नीति निर्माण गर्ने र कार्यकारी पदहरूमा युवाको सहभागिता तथा नेतृत्व अहिलेको आवश्यकता हो । यसै सन्दर्भमा, सानै उमेरदेखि मलाई सक्रिय राजनीतिमा लाग्ने इच्छा थियो । काठमाडौं म जन्मिएको सहर हो । मेरो ज्ञान, सीप र क्षमताको उच्चतम् उपयोग गर्दै म जन्मेको सहरलाई सुन्दर र समृद्ध बनाउने सपनालाई मूर्तरूप दिन मैले काठमाडौंको मेयर बन्ने सोच राखेकी हुँ । मुलुक समृद्ध बनाउन नयाँ सोच र जोस भएका युवा चाहिन्छ । त्यसका लागि युवाहरू नै राजनैतिक नेतृत्वमा आउन आवश्यक छ । त्यसैले अहिले स्थानीय सरकारको निर्वाचनको अवसर पारेर मैले मेयरमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।

तपाईं सानैदेखि राजनीतिमा रुचि राख्ने मान्छे भन्नु भयो, चुनाव पनि नजिकिँदै छ, तर अहिले पनि कुन पार्टीबाट उम्मेदवारी बन्ने भनेर चुन्न सक्नु भएन नि किन ?

अहिले म ठूला-साना धेरैजसो पार्टीको सम्पर्कमा छु । ती पार्टीहरूको प्रस्तावहरूका विषयमा छलफल गर्दैछु । त्यसैले म केही समयभित्रै स्वतन्त्र वा पार्टीगत उम्मेदवारी कसरी अघि बढ्ने हो निर्णय लिन्छु ।

तपाईं राजनीति गर्नको लागि मेयरमा चुनाव लड्न खोजिरहनु भएको छ कि चर्चामा आउनको लागि ?

राजनीति राज्यको शासन–व्यवस्थासम्बन्धी नीति, राज्य–सञ्चालन र प्रणाली हो । राजनीति भनेको राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त पनि हो । त्यसैले राजनीतिलाई फोहोरी खेलको रूपमा विकास गर्नुहुन्न भन्नेमा म सचेत छु । राजनीति व्यापार होइन यो समाजसेवा र विकास निर्माणसँग जोडिनुपर्छ । समाजसेवा मेरो जीवनको मूल उद्देश्य हो । मेरो त्यो मूल उद्देश्यलाई मूर्तरूप दिन मैले राजनीतिमा आउन चाहेको हो । आर्थिक समृद्धि, उन्नत समाजको विकास र सुशासनलाई प्राथमिकतामा राख्ने हो भने राजनीति पनि उन्नत बन्छ । म उन्नत किसिमका राजनीतिमा विश्वास गर्छु ।

म एक दशक अघि नै मिस नेवा भएर चर्चामा आइसकेकी व्यक्ति हुँ । यस अलावा मैले निरन्तर रूपमा विभिन्न संघ संस्थामा आबद्ध भएर एकजना सामाजिक तथा सांस्कृतिक अभियनता भएर लागि परेकी व्यक्ति हुँ । मैले नेपालमात्र होइन विदेशमा बस्ने नेपाली र विदेशीहरूलाई समेत रञ्जना लिपी सिकाउने र हाम्रो संस्कृतिलाई विश्वव्यापी रूपमा प्रचार गर्ने एउटा अभियनता को रूपमा चर्चा कमाएको व्यक्ति हुँ । म सस्तो लोकप्रियता मा विश्वास गर्दिन । म पानीको फोकाजस्तो बन्न पनि चाहँदिन । मेरो यो पाइला सक्रिय राजनीतिमा एक प्रस्थान विन्दु हो भने मेरो पाइलाहरू निरन्तर रूपमा यस क्षेत्रमा अघि बढिरहने छ । दीर्घकालीन सोच लिएर नै देश र जनताको लागि समर्पित हुन म राजनीतिमा लागेकी हुँ ।

महानगरको मेयरमा उठ्ने तपाईंका भिजन र चुनावी एजेण्डा के–के हुन् ?

मैले आफ्नो भिजन र योजनाहरू सहित एक प्रकारको घोषण पत्र तयार गरिसकेकी छु र आम जनसमुदायका भावनाहरू बुझ्न मैले योजनाहरूका लागि अपिल पनि गरिसकेकी छु । जनताले अथाह माया र विश्वास गरेर मलाई हजारौं इमेलमार्फत सुझावहरू दिनु भएको छ । त्यसको लागि सबैमा मुरी मुरी धन्यवाद पनि दिन चाहन्छु । अब उहाँले पठाएका राम्रा सुझावहरू र मैले तयार पारेको भिजन सहितका योजनाहरूलाई मिलाएर केही दिन मै प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछु ।

मैले आठ खम्बा विकास रणनीतिक मोडेल अघि सारेको छु । जसमा फोहरमैला व्यवस्थापन, यातायात व्यवस्थापन, पूर्वाधार विकास, सूचना प्रविधिको अधिकतम प्रयोग, डिजिटल काठमाडौं, कला संस्कृति सम्पदाको संरक्षण तथा प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, सोसियल इन्जिनियरिङको व्यवस्थापन, युवा तथा रोजगारी लक्षित अल्पकालीन र दीर्घकालीन योजनाहरू लगाएका अन्य क्षेत्रसमेत समावेश गरेरहेकी छु । यी रणतितिक मोडेलहरूमा मेरो आफ्नो दृष्टिकोण स्पष्ट ढङ्गले समावेश गरेकी छु ।

निर्वाचित भएपछि पर्याप्त पार्किङ स्थलको व्यवस्थापन गर्छु भन्नुभयो, महानगरभित्र खाली जग्गा पाउनसमेत मुस्किल छ, कस्तो र कहाँकहाँ पार्किङ बनाउने योजना बनाउनु भएको छ ?

पार्किङको सम्बन्धमा मैले विदेशमा देखेको १० तल्लाको स्मार्ट भर्टिकल पार्किङहरू, अन्डरग्राउन्ड पार्किङहरु र सामान्य सडकमा गर्ने पार्किङ सिस्टमहरुलाई काठमाडौंमा व्यवस्थापन गर्नेछु ।

काठमाडौं महानगरपालिकाको मेयरमा धेरै दाबेदारी गरिरहेका छन्, यसमा आफ्नो जितको सुनिश्चितता कतिको देख्नुहुन्छ ?

काठमाडौंका जनताले सधैं न्यायको पक्षमा मतदान गरेको इतिहास छ । म यहीँको माटोमा जन्मिएकी, हुर्केकी, ज्यापू जातिको नेवार समुदायको छोरी हुँ । मैले सांस्कृतिक अभियनताका रूपमा योगदान गरेकी छु । मैले धेरै मुलुकको भ्रमण गरेर त्यहाँको विकासको मोडेललाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकी छु । मैले त्यहाँको विकासको अनुभवलाई यहाँको माटो सुहाउँदो विकास गर्ने योजना बनाएकी छु । सांस्कृतिक सहर काठमाडौं कस्तो हुनुपर्छ र यहाँको विकास कसरी गर्नुपर्छ भन्ने बारेमा जानकार भएको व्यक्ति हुँ ।

यहाँका युवाको सोच, यहाँका युवाको भावना र यहाँका युवाको भिजनको प्रतिनिधित्व गर्ने युवा हुँ म । त्यति मात्रै होइन आफूभन्दा अग्रजहरूको विज्ञता, अनुभवीहरूको ज्ञान, सल्लाह र सबै जनताको सद्भावलाई आत्मसाथ गरेर अघि बढ्नेछु । मलाई यो आशिर्वाद अवश्य प्राप्त हुनेछ भन्ने मैले ठानेकी छु । यी मेरो प्रारम्भिक योजनाहरू हुन् । मेयरको तयारीसँगै बृहत् योजनासहित अघि बढ्ने छु । मलाई विश्वास छ, मेरो योग्यता, क्षमता र जनताप्रति समर्पित हुँदै आइरहेको समाज सेवाले गर्दा पनि यसपाली काठमाडौंवासीले मलाई मेयरको रूपमा विजयी बनाउने छन् भन्ने कुरामा म विश्वस्त छु ।

यदि तपाईं निर्वाचित हुन भयो भने तपाईंको पहिलो काम के हो ?

यदि म निर्वाचित भएभने मैले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आवश्यक प्रक्रियाहरू अघि बढाउने र जनतालाई विश्वास दिलाउने तथा सकेसम्म चाँडो ती प्रक्रियाहरू पूरा गर्न म लागी पर्नेछु ।

यसअघि निर्वाचित जनप्रतिनिधिहरूको गरेको काम तपाईंलाई कस्तो लाग्छ ?

धेरै जसो जनप्रतिनिधिहरूले राम्रै काम गरेका छन् । उहाँहरूले गरेको कामको मुल्यांकन अवको निर्वाचनबाट जनताले मत दिएर अवश्य पनि गर्ने नै छ ।

उपप्रमुखमा पनि उम्मेदवारी दिन सक्नुहुन्थ्यो, किन मेयरको पद नै रोज्नुभयो ?

गत निर्वाचनमा मेयर पदमा करिब ९७ प्रतिशत पुरुषहरू निर्वाचित भएका छन् । के मेयर पदका लागि महिलाहरू अयोग्य नै हो त ? राजनैतिक पार्टीहरूले आधा धर्ती धाकेको महिलाहरूलाई संविधानको भावनाविपरीत मेयर पदमा पुरुषहरूलाई मात्रै स्थान दिने हो त ? के यो महिलाहरू माथि अन्याय होइन र ? त्यसैले पनि मैले सम्पूर्ण महिला तथा युवाहरूको आवाजको प्रतिनिधित्व गर्दै मेयर पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।

संस्था चलाएजस्तो स्थानीय तह हाँक्नु सजिलो छ होला र ?

संस्था भनेको एउटा सानो यूनिट हो भने स्थानीय तह भनेको एउटा स्थानीय सरकार नै हो । त्यसैले पनि स्थानीय तह हाँक्नु सजिलो अवश्य पनि हुँदैन । यसै सन्दर्भमा मसँग काठमाडौ महानगरपालिकाको सहरी योजना आयोगमा बसेर काम गरिसकेको अनुभव पनि छ र मैले त्यहाँको कर्मचारीतन्त्र लगायत सिस्टमलाई राम्ररी बुझेकी छु र नजिकबाट अनुभव गर्न पाएकी छु । त्यसैले पनि मसँग आत्मविश्वास छ, म राम्रो व्यवस्थापनका साथ स्थानीय सरकारको नेतृत्व गर्न सक्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.