नलगाड आयोजनाको डीपीआर ९० दिनभित्रै सक्न निर्देशन

  २०७८ चैत २५ गते १८:०१     विकासन्युज

जाजरकोट । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले नगलाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

जाजरकोटमा आयोजनास्थल रहेको कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाको डीपीआरको तयारीमा नै लामो समय लागेको गुनासो आएपछि मन्त्री सिंहले नलगाड जलविद्युत् कम्पनीलाई सो निर्देशन दिएका हुन् ।

साढे ६ वर्षभन्दा लामो समयदेखि डीपीआरको काम जारी रहे पनि अझै पूरा हुनसकेको छैन । परामर्शदाता कम्पनी स्मेक कन्सल्टेन्टले डीपीआर ३२ महिनाभित्र सक्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो । त्यसयता पटकपटक म्याद थप हुँदै आएको छ । मन्त्री सिंहले अबको तीन महिनामा डीपीआरको प्रतिवेदन बुझाउन कन्सल्टेन्टलाई निर्देशन दिएको जानकारी दिए ।

तीन महिनाभित्र काम पूरा गर्ने र कन्सल्टेन्टलाई भुक्तानी गर्नुपर्ने रकमसमेत समयमै भुक्तानी गर्ने विषयमा समेत छलफल भएको छ । स्मेक कन्सल्टेन्टको नेतृत्वकर्ता राजेश डार्मिन नेतृत्वको टोली, कम्पनीका प्रमुख सुनिल पौडेलको सहभागितामा उक्त छलफल भएको थियो ।

त्यस्तै आयोजना प्रभावित क्षेत्रमा रहेका घरटहराको मुआब्जा हप्तादिनभित्र स्थानीयवासीलाई उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो । हप्तादिनभित्र नलगाड जलविद्युत् कम्पनी लिमिटेडले मन्त्री सिंहको निर्देशनानुसार आफूहरु काममा जुटिसकेको कम्पनीका प्रमुख पौडेलले जानकारी दिए ।

त्यस्तै ताक्सुगाड जलविद्युत् आयोजना निर्माणका लागि डिपिआरको काम तीन महिनाभित्र सक्न मन्त्री सिंहले निर्देशन दिएका छन् । ७.१ मेगावाट क्षमताको ताक्सुगाड जलविद्युत् आयोजना जाजरकोट नलगाड नगरपालिकाभित्र नै पर्दछ । यो आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गर्ने विषयमा समेत छलफल भएको छ ।

यता कर्णाली प्रदेश सरकारले जगदुल्ला हाइड्रोपावर कम्पनीलाई सेयर हाल्नका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । ११ करोड ७१ लाख ५० हजार रुपैयाँ बराबरको सेयर हाल्ने निर्णय भएको मन्त्री सिंहले बताए । उक्त बजेट व्यवस्था जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले गर्ने निर्णय भएको छ । रासस

One comment on "नलगाड आयोजनाको डीपीआर ९० दिनभित्रै सक्न निर्देशन"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.