१७ करोडमा निर्माण हुने गरी अघि बढ्यो ग्वार्को ‘फ्लाइ ओभर’ डिजाइन, २० महिनामै सक्ने लक्ष्य

  २०७८ चैत २५ गते १७:१६     सञ्चिता घिमिरे

काठमाडौं । ग्वार्को चोकमा फ्लाई ओभर निर्माणका लागि सर्वेक्षण सकिएर त्यसको ढाँचा (डिजाइन) तयार पार्न थालिएको छ । निर्माण कम्पनीले अबको दुई महिनामा डिजाइन सक्ने र त्यसपछि निर्माण सुरु गर्ने भएको छ । सरकार आफैँले इपिसि (इञ्जिनीयरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन) सँग सम्झौता गरी पहिलो ‘फ्लाई ओभर’ निर्माण गर्न लागेको हो ।

यसमा ‘डिजाइन एण्ड बिल्ड’ सम्झौता जस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गर्ने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर सौरभ बज्राचार्यले बताए ।

‘चुनौती बहन गर्ने विषयमा भने इपिसिमा ‘डिजाइन एण्ड विल्ड’भन्दा फरक छ । यसमा निर्माण व्यवसायीको बढी जिम्मेवारी हुन्छ,’ उनले भने, ‘डिजाइन एण्ड विल्डका केही कुरा सम्बन्धित आयोजनाले हेर्छ भने इपिसिका सम्पूर्ण काम र जिम्मेवारी कम्पनीको हुन्छ ।’ इपिसिअनुसार निर्माण गर्दा निर्माण कम्पनीले डिजाइन परिवर्तन गर्न पाउँछ । कार्यालयले यस्तो हुनुपर्छ भनेर ‘कन्सेप्ट’ दिएमा आवश्यकता अनुसार केही परिवर्तन गरेर डिजाइन तयार हुने प्रमुख बज्राचार्यले बताए । उनले भने, ‘त्यसको वरिपरि रहेर निर्माण गर्नुपर्छ तर त्योभन्दा फरक गर्दा स्वीकृति लिनुपर्छ ।’

अहिले ‘फ्लाई ओभर’ का लागि सुरुमा ट्राफिक व्यवस्थापनमा केही परिवर्तन गर्नुपर्ने देखिएको छ । संरचनामा परिवर्तन नभए पनि ट्राफिक व्यवस्थापनमा केही परिवर्तन हुनसक्ने देखिएको प्रमुख बज्राचार्यले जानकारी दिए । निर्माणको समयमा र निर्माण भएर ‘फ्लाई ओभर’ सञ्चालनमा आएपछि कता कताबाट कसरी सवारीसाधन सञ्चालन र व्यवस्थापन गर्ने भन्नेमा केही परिवर्तन हुने देखिएको छ ।

निर्माणको अवधिमा मुख्य लेनमा सवारीसाधन चल्न नपाउँदा सडक व्यवस्थापनका लागि सर्भिस लेन मात्रै पर्याप्त नहुने देखिएको छ । सर्भिस लेनले धान्न नसक्दा त्योभन्दा बाहिरको लेन प्रयोगमा ल्याउनुपर्ने हुनसक्छ । चक्रपथको सो खण्डमा कतै सर्भिस लेन बनिसकेको छ भने कतै सम्पन्न हुन बाँकी छ । त्यो लेन सम्पन्न गरेर प्रयोगमा ल्याउनुपर्ने उनले बताए । पूर्वाधार निर्माणका क्रममा सबैभन्दा ठूलो समस्याका रुपमा निर्माणस्थल खाली गर्नुपर्ने भए पनि अहिले सो स्थानमा निर्माणस्थलको समस्या छैन । प्रमुख बज्राचार्यले भने, ‘व्यवसायीले ढिला नगरेमा समयमा निर्माण सम्पन्न गर्न चुनौती छैन ।’

फागुन १९ मा डिजाइन सुरु भएकामा आगामी असार १६ सम्ममा सम्पन्न गर्नुपर्नेछ । निर्माण थालिएपछि २० महिनामा काम सक्नुपर्छ । सरकार आफैँले निर्माण गर्न लागेको पहिलो ‘फ्लाई ओभर’ सरकार र निर्माण व्यवसायी दुवैका लागि नयाँ हो । अहिलेसम्म ‘फ्लाई ओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि धेरै सडक र पुल बनाइसकेकाले जिम्मेवारी नेपाली व्यवसायीलाई नै दिइएको होे । नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुललगायत अन्य ठूला र जटिल खालका पुल बनाएर आफूलाई प्रमाणित गरिसकेका छन् ।

संरचना निर्माण गर्ने अवधिमा सडकमा यातायात आवागमन अवरुद्ध नहोस् भन्नेमा ध्यान दिइने भएको छ । निर्माण कम्पनीले निर्माणसँगै ट्राफिक व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेछ । जगको काम गर्दा मुख्य सडक अवरुद्ध हुने भएकाले त्यसको विकल्प आवश्यक देखिएको हो । माथिल्लो भागमा रहने मुख्य संरचना (सुपर स्ट्रक्चर) अन्यत्रै बनाएर राख्न खोजिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाई ओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ । बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाई ओभर पुगिनेछ । त्यतातर्फ २८० मिटर लामो र्याम हुने र सातादोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको र्याम हुने बताइएको छ । सुपर स्ट्रक्चर ३५ मिटर हुने ‘फ्लाई ओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन् ।

यस वर्ष ग्वार्कोमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेकामा आगामी आवमा सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाई ओभर’ निर्माण गरिने योजना छ । जापान सरकारको ऋण सहयोगमा नागढुङ्गा सुरुङमार्ग आयोजनाअन्तर्गत पनि एउटा ‘फ्लाई ओभर’ निर्माण भइरहेको छ । सो आयोजनामा एउटा ‘ओभर पास’ निर्माण भइसकेको छ भने तीन ‘अण्डर पास’ निर्माण गर्नुपर्नेमा हालसम्म दुई पूरा भइसकेको छ । चीन सरकारले झन्डै तीन वर्ष पहिले निर्माण गरेको चक्रपथका चोकमा ‘फ्लाई ओभर’ निर्माणको योजना बनाइएको हो । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै केही समय पहिले मात्रै आकाशे पुल निर्माण गरेको थियो । ती स्थानमा यात्रु हिँड्न बनाइएका आकाशे पुल भत्काउन नपर्ने गरी ‘फ्लाई ओभर’ निर्माण गरिने विभागले बताउँदै आएको छ ।

सरकारले चालू आवमा उपत्यकामा फ्लाई ओभर निर्माणका लागि बजेट छुट्याएको छ । उपत्यकाका अरू विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाई ओभर’ बन्न लागेकाले विभागले यी स्थान छानेको हो । सङ्घीय राजधानीमा अहिलेसम्म एउटा पनि ‘फ्लाई ओभर’ नभएकामा कतिपय वैदेशिक लगानीमा त कति नेपाल सरकारकै लगानीमा निर्माण हुन लागेका हुन् । सरकारको लगानीमा यी तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण गर्ने योजना बनाइरहँदा चीन सरकारको सहयोगमा चक्रपथको कोटेश्वर र बानेश्वरमा पनि ‘फ्लाई ओभर’ निर्माण गर्न छलफल भइरहेको छ । यी सबै ‘फ्लाई ओभर’ निर्माण सकिँदा अबको केही वर्षपछि काठमाडौँ उपत्यकामा ‘फ्लाई ओभर’ र ‘अन्डरपास’ को सङ्ख्या बढ्ने देखिएको छ ।

चीन सरकारले पहिलो खण्डको सडक विस्तार गर्दा खसीबजारबाट कलङ्कीसम्म ‘अन्डरपास’ निर्माण गरेको थियो । यो नै नेपालमा निर्माण भएको पहिलो ‘अन्डरपास’ हो । उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकचोकमा सवारी साधन जाम हुन थालेकाले फ्लाई ओभर र सुरुङको विकल्प खोज्न थालिएको हो । यो ‘फ्लाई ओभर’ निर्माणका लागि १७ करोड ६ लाख रुपैयाँमा सम्झौता गरिएकामा तीन निर्माण कम्पनी आरसी, समानान्तर र रेलिग्रे जेभी छनौटमा परेका थिए । ‘फ्लाई ओभर’ को निर्माण वि.सं. २०८० सम्ममा सकिएर सञ्चालनमा आउनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.