घाटा भएको भन्दै जीवनजल उत्पादन बन्द गरे उद्योगीले

  २०७८ चैत २२ गते १०:४०     डोमी शेर्पा

काठमाडौं । लागत पनि नउठ्ने देखेपछि औषधी व्यवसायीहरुले जीवनजलको उत्पादन बन्द गर्न लागेका छन् ।

सरकारले तोकेको मूल्यमा उत्पादन गरेर विक्री वितरण गर्नै नसकिने भन्दै उद्योगीले उत्पादन गर्न छोडेका छन् भने केही उद्योगीले उत्पादन बन्द गर्ने तयारी थालेका छन् ।

सरकारले जीवनजलको उपभोक्ता मूल्य प्रतिप्याकेट १० रुपैयाँ तोकेको छ । तर, एक प्याकेट जीवनजल उत्पादन गर्न १७ रुपैयाँ लाग्ने गरेको उद्योगीको भनाई छ ।

सरकारले तोकेको मूल्यमा विक्री गर्नको लागि जीवनजल उत्पादन नै गर्न नसकिने अवस्था रहेको नेपाल औषधी उत्पादक संघ (एपोन) का उपाध्यक्ष सन्तोष बरालले बताए ।

‘अहिले भारतमा जीवनजलको मूल्य प्रतिप्याकेट ३२ रुपैयाँ छ भने नेपालमा १० रुपैयाँ छ, हामीलाई एक प्याकेट उत्पादन गर्नको लागि लागत मात्रै १६ देखि १७ रुपैयाँ आउँछ, डिस्ट्रिब्युटर मार्जिन, होलसेल मार्जिनको त कुरै छोडौं, यस्तो अवस्थामा हामीले कसरी बेच्ने ?’ उनले भने ।

२०६४ सालमा औषधी व्यवस्था विभाग, औषधी उत्पादक संघ र नेपाल औषधी व्यवसायी संघको सहमतिमा जीवनजलको मूल्य प्रतिप्याकेट १० रुपैयाँ तोकिएको थियो । त्यसयता १४ वर्षदेखि यसको मूल्य बढेको छैन ।

आदी रेमेडिजका प्रबन्ध निर्देशकसमेत रहेका बरालले आफैले पनि जीवनजलको उत्पादन बन्द गरिसकेको बताए ।

‘मैले आफै पनि बनाउन छाडिसकें, कोभिड अघिसम्म वर्षको तीन कन्टेनर बनाउँथें, एक कन्टेनरमा २४ टन जीवनजल हुन्छ, तर कोभिडको समयमा कच्चा पदार्थको मूल्य असाध्यै बढ्यो, त्यसपछि उत्पादन बन्द गर्नुको विकल्प भएन,’ बरालले थपे ।

उनले अहिले बजारमा जीवनजल अभाव देखिएको पनि बताए । स्वदेशी उद्योगले लागतका कारण उत्पादन बन्द गर्नु परेको उनको भनाई छ ।

‘अहिले कुनै पनि गाउँमा झाडापखला सुरु भयो भने जीवनजल लगभग पाइदैन, औषधी व्यवसायीहरुले अब यसमा चाहेर पनि केही गर्न नसक्ने अवस्था आइसकेको छ,’ उनले भने ।

यसअघिसम्म व्यवसायीहरुले अन्य उत्पादनहरुको फाइदा समायोजन गरी जीवनजल उत्पादन गर्दै आएका आएका उनी बताउँछन् ।

उद्योगीले साढे ३ वर्षअघि विभागलाई जीवनजलको उत्पादनमा लाग्ने लागतको बारेमा जानकारी दिदै औषधी व्यवस्था विभागलाई पत्र पठाएका थिए । त्यसबेला जीवनजलको लागत १४ रुपैयाँ आएको थियो ।

यस्तै, ओम्निका ल्याब्रोटोरिजका प्रबन्ध निर्देशक तथा औषधी उत्पादक संघका वरिष्ठ उपाध्यक्ष महेश प्रधानले आफ्नो मन नहुँदा नहुँदै पनि जीवनजलको उत्पादन बन्द गर्न बाध्य भएको बताए ।

‘हाम्रो जीवनजल प्रिमियम ब्राण्डमा पर्छ, हामीले दुई वर्ष अनुसन्धान गरेर हाम्रो जीवनजल इलाइट बनाएका हौं तर लामो समयदेखि यसमा घाटा बाहेक केही नभएपछि बाध्य भएर उत्पादन नै बन्द गरियो,’ प्रधानले भने ।

सरकारले आफुहरुलाई व्यवसायीभन्दा पनि समाजसेवी सम्झेको प्रधान बताउँछन् । सरकारलाई भन्दा भन्दा आफूहरु थाकिसकेको उनले बताए ।

‘मैले यो विषयबारे यथार्थ अवगत गराउन हरेक समयको प्रधानमन्त्री, अर्थमन्त्रीदेखि लिएर स्वास्थ्यमन्त्रीलाई भेटे, तर यहाँ व्यवसायीहरुको कसैलाई वास्ता छैन, म सरकारलाई अब केही भन्न सक्ने अवस्थामा छैन,’ उनले भने ।

प्रधानले १४ वर्षअघिको मूल्य अहिलेको परिवेश अनुसार समायोजन गर्नु आवश्यक रहेको बताए ।

‘१४ वर्षअघि जीवनजलको मूल्य त्यस समयको बजारलाई हेरेर १० रुपैयाँ तोकिएको थियो, त्यसबेला डलरको भाउ ५५ देखि ५७ रुपैयाँ थियो, अहिले डलर १२१ रुपैयाँ पुगेको छ । कच्चा पर्दाथको मूल्य डबल भइसक्यो, लेबलको पनि डबल भइसक्यो तर जीवनजलको मूल्य जहाँको त्यही छ,’ उनले थपे ।

प्रधानका अनुसार नेपालमा जिवनजल उत्पादन गर्ने ६ वटा कम्पनी रहेका छन् । यसअघि नेपालमा जीवनजल बेचिरहेको एउटा विदेशी कम्पनी पनि दुई वर्षअघि भागिसकेको उनले बताए ।

ओम्निकाले हाल डाक्टर र डाक्टरको परिवारहरुको लागि मात्र केही मात्रामा जीवनजलको उत्पादन गरिरहको उनले बताए । नेपालमा हाल जीवनजल नेपाली कम्पनीहरुले मात्र उत्पादन गरिरहेका छन् ।

One comment on "घाटा भएको भन्दै जीवनजल उत्पादन बन्द गरे उद्योगीले"

  • c.k.shahi says:

    BAD NEWS PLEASE DONOT STOP PRODUCTION WE ARE READY TO PAY RS 22.00 OR GET GON SUPPORT.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.