७ लाखभन्दा बढी खर्च लाग्ने ए लेभल विषयमा खास के छ ?

  २०७८ चैत २० गते १४:५६     राजन कुमार राई

नेपालमा ए लेभलको पढाइ सुरु भएको तीन दशकजति भएको छ । यो कक्षा ११ र १२ सरहको पढाइ हो । ए लेभल बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट सुरू भएको हो । बेलायतमा क्याम्ब्रिज विश्वविद्यालयले मास एजुकेसन सिस्टमको विकास गरौं भनेर यसको सुरुवात गरेको हो । नेपालमा राष्ट्रिय परीक्षा बोर्डले एकरुपता कायम गरेजस्तै क्याम्ब्रिजले पनि बेलायतमा एकरुपताका लागि ए लेभल सुरु गरेको हो ।

यसलाई एडभान्स लेभल कोर्स भनिन्छ । यसलाई जुनियर क्याम्ब्रिज भनेर पनि बुझ्न सकिन्छ । यो बाहेक अन्य हाइ स्कुल प्रोग्रमहरू पनि छन् तर, यो सबैभन्दा पपुलर कोर्स छ । हाल १५० भन्दा बढी देशमा यस विषयको पढाइ हुन्छ ।

दुई वर्षको यो शैक्षिक कार्यक्रम १६ वर्षदेखि १९ वर्षका उमेरका विद्यार्थीका लागि मध्यनजर गरेर बनाइएको पाठ्यक्रम हो । तर, यसको अर्थ यही उमेरको विद्यार्थीले मात्र पढ्न पाउनेछन् भन्ने हुँदैन ।

यसको परीक्षालाई क्याम्ब्रिज एसेस्मेन्ट इन्टरनेशनल भनिन्छ । यो युकेको बोर्ड हो । नेपालभरि रहेका करिब ३० वटा कलेजहरू यस अन्तर्गत सञ्चालन भएका हु्न् ।

ए लेभललाई दुईवटा भागमा विभाजन गरिएको छ । पहिलो वर्ष एडभान्स सब्सिडरी लेभल (एस लेभल) र दोस्रो लेभल ए लेभल भनिन्छ ।

पहिलो वर्षमा कुनै पनि विषयको आधारभूत कुराहरू हामी पढ्छौं र दोस्रो वर्षमा हामी त्यस विषयको गहिराईमा गएर पढ्छौं ।

प्लस टु भन्दा कसरी फरक छ ?

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको प्लस टुमा ११ र १२ मा पढ्ने विषयहरू फरक-फरक हुन्छन् । तर, ए लेभलमा त्यही पहिलो वर्षमा जुन विषय पढिन्छ दोस्रो वर्षमा त्यही विषयको गहन अध्यन गर्नुपर्ने हुन्छ ।

ए लेभललाई दाँज्ने हो भने प्लस टु मा पढिने शीर्षक धेरै हुन्छन् । पक्कै पनि धेरै शीर्षक भएपछि त्यति गहिराईमा गएर अध्यन गर्ने समय नै हुँदैन । त्यसले गर्दा प्लस टु मा धेरै कुराको ज्ञान हुन्छ र ज्याक अफ अल ट्रेड एण्ड मास्टर अफ नन हुन्छ । तर, ए लेभलमा सिमित शीर्षकमा पढाइ हुन्छ र त्यसको गहिरो बुझाइ हुन्छ । त्यसैले यसमा ज्याक अफ अल ट्रेड नभएर मास्टर अफ नन भइन्छ ।

प्लस टु मा हेर्ने हो भने साइन्स स्ट्रिम भनेर एउटा फिक्सड ग्रुप हुन्छ । पहिलो वर्ष पनि ५ वटा र दोस्रो वर्ष पनि ५ वटै विषय पढ्नुपर्ने हुन्छ तर, ए लेभलमा भने त्यस्ताे हुँदैन । यसमा विद्यार्थीले आफैं नै विषय रोज्न पाउँछन् । त्यसले गर्दा विद्यार्थी कहिलेकाँही अप्ठ्यारामा पनि पर्छन् ।

प्लस टु मा चाहिँ फिजिकल साइन्सभन्दा फिजिक्स केमेस्ट्री सबै पढ्नुपर्‍यो । यता ए लेभलन भने मलाई केमेस्ट्री मन पर्दैन म फिजिक्स र गणितमात्र पढ्न पाइन्छ । अथवा म गणित पढ्दिन फिजिक्स र केमेस्ट्री मात्र पनि पढ्छु भन्न पनि पाइन्छ ।

यसरी जुन विषय पनि पढ्न पाउने भएकाले विद्यार्थीले नमिल्ने विषयहरू रोज्दछन् जसले पछि गएर समस्याहरू उत्पन्न चाहिँ गराउँछ । ब्याचलरमा त रिलेभेन्सी खोज्छ त्यसैले हामी चाहिँ विद्यार्थीहरूलाई गाइड गरिरहन्छौं ।

क्याम्ब्रिजले चाहिँ यो विषयसँग यही पढ्नुपर्छ भनेर भन्दैन । विद्यार्थीले यहाँ दुईवटा विषय लिएर मात्र पढ्छु भन्न पनि पाउँछ । तर, फरक यति हो कि उसले त्यो दुईवटा विषय पढेर युनिभर्सिटीमा भने पढ्न पाउँदैन । तर प्लस टु मा भने त्यो गर्न पाईंदैन ।

ए लेभल पढेका कसले कुन विषय पढ्न पाउँछन् ?

राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालयको अनुसार नन साइन्स पढ्नको लागि ए लेभलमा ३.५ क्रेडिट र साइन्स पढ्नको लागि ४.५ क्रेडिट ल्याउनु पर्दछ ।

यदि विद्यार्थीले ३.५ क्रेडिट ल्यायो भने उसले राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता पाउँछ । एउटा विद्यार्थीले ३.५ ल्याउन पहिलो वर्ष ४ वटा विषय र दोस्रो वर्ष ३ वटा विषयमा पास भएकै हुनुपर्छ । नेपाल र भारतको एउटै शिक्षा प्रणाली रहेको कारण यो भारत पनि लागू हुन्छ ।

युनिभर्सिटीहरूको आ-आफ्नै मानयता हुन्छ । अब बेलायतको विश्वविद्यालयले कम अंकमा पनि पढ्न पाइन्छ । यस्तै क्यानडामा पनि २.५ मा राम्रो राम्रो कलेजहरू पढ्न पाइन्छ । ए लेभेलमा फेरि अझै बढी विषय पनि पढ्न पाइन्छ ।

नेपालमा कहिले सुरु भयो ?

ए लेभल नेपालमा बुढानिलकण्ठ स्कुलले सुरु गरेको हो । यो एउटा स्वतन्त्र ए लेभल सेन्टरको रुपमा ३० वर्षभन्दा अगाडि सुरु भएको हो । बुढानिकण्ठ स्कुल विशेष गरेर राजपरिवारका सदस्यहरू पढ्नको लागि विदेश नै जानुपर्ने र नेपालमा राम्रो अध्यन गर्ने ठाउँ नभएर ब्रिटिश एजुकेसनअन्तर्गत स्थापना भएको हो ।

ए लेभलकाे पढाइ हुने कलेज अहिले काठमाडौं उपत्यकाम २५ को हारहारी र काठमाडौं बाहिर पोखरामा र बुटवलमा रहेको छ । बुढानिलकण्ठ र सेन्ट जेभियर गुठीवाला संस्था हुन् भने बाँकी सबै प्राइभेट रहेको छ । पोखरामा गण्डकी बोर्डिङ्ग स्कुलमा पनि यसकाे पढाइ हुन्छ ।

अहिले ए लेभलमा इन्डिपेन्डेन्ट र डिपेन्डेन्ट संस्था रहेको छ । यसको मतलब हामी ब्रिटिश कलेज डिपेन्डेन्ट सेन्टर हौ भने बुढानिलकण्ठ इन्डिपेन्डेन्ट सेन्टर हो ।

इन्डिपेन्डेन्ट संस्थाहरूको हरेक कामको लागि सिधै क्याम्ब्रिजसँग सम्पर्क हुन्छ भने हाम्रो हकमा भने हाम्रो ब्रिटिश काउन्सिलमार्फत क्याम्ब्रिजसँग काम गर्छौं ।

परीक्षा दुवै संस्थाको क्याम्ब्रिजले नै लिने हो तर, हाम्रोमा चाहिँ क्याम्ब्रिजले ब्रिटिश काउन्सिलमा पठाउँछ र ब्रिटिश कलेजले नै परीक्षाको कामहरू गर्दछ । यस्तै बुढानिलकण्ठको हकमा उनीहरूले क्याम्ब्रिजमार्फत सिधै प्रश्नहरू प्राप्त गरेर आफै परीक्षाहरू सञ्चालन गर्दछन् ।

परीक्षा दिएको पेपरहरू कुरियर गरेर क्याम्ब्रिजलाई पठाइन्छ र उनीहरूले आफ्नो संसारभरि फैलिएर बसेको परीक्षकहरूलाई स्क्यान गरेर पठाउँछन् र त्यसकै आधारमा विद्यार्थीहरूले ग्रेड पाउँछन् ।

ग्रेड

यसमा ए स्टार भनेको सबैभन्दा ठूलो ग्रेड हो र इ भनेको सबैभन्दा कम ग्रेड हो । ४० प्रतिशत माथि ल्याउनेलाई पास मानिन्छ र त्यस भन्दा कम ल्याउनेलाई फेल मानिन्छ ।

४० देखि ४९ इ ग्रेड, ५० देखि ५९ डि, ६० देखि ६९ सि, ७० देखि ७९ बि र ८० देखि ८९ ए ग्रेड र त्यसमाथि ९० देखि माथि ए स्टार रहेको छ । यो एडभान्स लेभलमा हो । ए लेभलमा भने स्मल लेटर ग्रेड हुन्छ र यसमा ए स्टार हुँदैन ।

यो कोर्सको शुल्क किन महँगो ?

औसतमा प्राइभेट स्कुल हेर्ने हो भने सबैको उस्तै-उस्तै रहेको छ । दुई वर्षको प्राइभेट कलेजहरूमा ७ देखि ८ लाख शुल्क रहेको छ । जेम्स, लिटिल एन्जल्स, ब्रिटिश कलेज, साइपल एकेडेमी, माल्पी सबैको लगभग एउटै शुल्क रहेको छ । हाम्रो अलिक महँगो भनेको सानेपास्थित ब्रिटिश स्कुलको रहेको छ । त्यहाँका शिक्षकहरू सबै विदेशीहरू रहेका हुन्छन् । उनीहरूको त्यहाँ १५ देखि २० लाख खर्च लाग्छ ।

हाम्रो हकमा मासिक शुल्क २० देखि २२ हजार हुन्छ भने उनीहरूको ८०/९० हजार हुन्छ । यस्तै अन्य केही शैक्षिक संस्थामा यही शुल्क नभए सबैमा ७ देखि ८ लाख रुपैयाँ लाग्दछ ।

यो महँगो हुनुको कारण यसको रजिष्ट्रेसन शुल्क नै महँगो छ । प्लस टु मा रजिष्ट्रेसन फि २५०० होला बढीमा तर, हाम्रो यहाँ एउटा पेपरको फुल ए लेभल क्वालिफिकेसन हकमा १७ देखि १८ हजार लाग्छ । यसको अर्थ रजिष्ट्रेसनको लागि मात्र १ लाख ३० हजारसम्म खर्च लाग्छ । त्यो रकम हामीले ब्रिटिश काउन्सिललाई बुझाउनुपर्छ । यस विषय पढ्नको लागि कक्षा १० सरहको कुनै पनि विषय पास गरेको हुनुपर्दछ ।

प्राय: विदेश जान्छन्

प्राय: ए लेभल पढ्ने विद्यार्थी बाहिर नै जाने सोचेका हुन्छन् । यसका अर्थ सबैजना विदेश नै जान्छन् भन्ने हुँदैन ।

ए लेभल भनेको एउटा ब्रिटिश एजुकेसन हो र बाहिर गएर तपाईंले आफ” ए लेभल ग्रयाजुऐट भएको बताए उनीहरूले त्यसलाई प्रश्न गर्दैनन् तर, तपाईंले प्लस टु भन्नुभयो भने उनीहरू बुझ्दैनन् । त्यही सजिलो भएको कारण बाहिर जाने सोच भएका विद्यार्थीले यस विषयलाई रोज्छन् । र यो महँगो भएको कारण पनि अपर मिडिल क्लास परिवारले मात्र पढ्न सक्ने र विदेश जाने गर्छन् । १२०० विद्यार्थीमा धेरै बाहिर जाने भनेरै पढिरहेका हुन्छन् । त्यसको मतलब सबै बाहिर जान्छन् भन्ने होइन ।

वार्षिक ए लेभलमा रेगुलर रुपमा ६० देखि ७० प्रतिशत विद्यार्थी पास हुन्छन् । नेपालभरि ए लेभलका १२ देखि १४ सय विद्यार्थी छन् ।

ए लेभल नै चाहिँ किन पढने ?

सबैभन्दा पहिला एउटा इन्टरनेशनल माइन्डसेटको लागि हो ए लेभल । यसको पाठ्यक्रम समयमा अपडेट हुन्छ । हुनत हाम्रो आफ्नो बोर्डलाई नराम्रो भनेको जस्तो हुन्छ तर, विगत २० वर्षदेखि त्यही पाठ्यक्रम छ । तर, ए लेभलमा हरेक २ वर्षमा केही न केही मोडिफाइ भइरहेको हुन्छ । समय र उद्योगको माग अनुसार यो मोडिफाइ भइरहेको हुन्छ । यसको पढाइ संसारभार हुने भएकाले क्याम्ब्रिजले त सबैलाई समेट्नु पर्यो नि त जसले गर्दा यसमार्फात एउटा ग्लोब माइन्डसेट तयार हुन्छ ।

अर्को कुरा यसमा कुनै पनि विषयको इन्डेप्थ नलेज हुन्छ । एउटा सानो उदाहरणको लागि तपाईंले यदि ए लेभलमा गणित विषय पढ्नुभएको छ भने ब्याचलर र मास्टर डिग्रीको पनि कति वटा कुराहरू कभर गरिसकेको हुनुहुनेछ । धेरै सजिले पर्छ पछि गएर ।

प्लस टु मा सबै विषयको थोरै थोरै जानकारी हुन्छ तर, ए लेभलमा सिमित जानकारी हुन्छ तर, त्यो एकदम गहिराईमा हुन्छ । ए लेभलले चाहिँ थोरै विषय पढ एकदमै राम्रो पढ भन्ने छ ।

यस्तै ए लेभलमा आर्ट एण्ड डिजाइन, मास मिडिया, डिजाइन एण्ड टेक्नोलोजी, संगित, नाटक, कानुन गरेर ६० भन्दा बढी विषयहरू छन् । विद्यार्थीले छान्न त १२ वटा विषयभरि नै छान्छन् । प्लस टु मा यति धेरै विषयहरू छैनन् । ए लेभल उर्दु, नेपाली, फ्रेन्च लगायत संसारभरिका धेरै भाषामा पढ्न पाइन्छ ।

एउटा फरक चाहिँ अर्को मैले के पनि पाएको छु भन्दा परीक्षा दिन जाँदा चाहिँ प्रश्नहरू तिमीले कक्षामा के पढ्यौं त्यसलाई साइडमा राखेर तिम्रो दिमागमा के छ, तिमीले के बुझ्यौं भन्ने हुन्छ । प्लस टु को हकमा किताब प्राय: के लेखिएको छ त्यही सोधिरहेको हुन्छ । प्रश्नहरू दोहोरिरहेको हुन्छ । तर ए लेभलमा भने कहिले पनि प्रश्न दोहोरिदैन । चाहे त्यो गणित कै प्रश्न होस् ।

अर्को यसमा परीक्षा दिनको लागि एक वर्ष कुर्ने पर्दैन । यदि तपाईंलाई तपाईंको ग्रेड चित्त बुझेन भने अथवा तपाई फेल हुनुभयो भने हरेक ४ महिना (मार्च, जुन र नोभेम्बर)मा परीक्षा दिन पाउनुहुन्छ । यहाँ हरेक विषय स्वतन्त्र हुन्छ ।

(राई ब्रिटिश कलेजको ए लेभलका प्रोग्राम म्यानेजर हुन् । उनीसँग विकासन्युजकी डोमी शेर्पाले गरेको कुराकानीमा आधारित )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.