भारतीय लगानी अभिवृद्धि र सहजीकरणका लागि निजी क्षेत्रको आग्रह

  २०७८ चैत २० गते १२:५६     विकासन्युज

काठमाडौं । नेपालका निजी क्षेत्रले भारतीय लगानी बढाउन र निर्यात सहजीकरणका लागि भारतसँग आग्रह गरेको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउदै यसलाई बढाउन के कस्तो सहयोग चाहिने हो जसको लागि निजी क्षेत्रको तयार रहेको बताए ।

उनले पर्यटन क्षेत्रमा सम्भावना बढदै गएको पनि बताए । ‘पहिले घुम्न आउनोस्, त्यसपछि लगानी गर्नुहोस, अनि आम्दानी पनि गर्नुहोस्’ उनले भने । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको पनि उनले जानकारी गराए । नेपाल भारतका लागि नवौ ठूलो निर्यात गन्तव्य भएको बताउदै अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आज भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आफू सधैं तयार रहेको बताए ।

कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै उनले त्यसका लागि वातावरण बनाउने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत् आदानप्रदान र रेल सेवा संचालनमा सहयोग पुग्ने उनले बताए ।

कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिज (सिआईआई) ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा सिआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए । सिआईआईको उर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले बताए ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल भारतबीचको संयुक्त व्यावसायिक फोरमको बारेमा जानकारी गराइन् । दुई देशका उद्यमी व्यवसायीको फोरमको नेतृत्व निवर्तमान अध्यक्ष राणाले गर्छिन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुसिल भट्टले लगानीका लागि भइरहेको प्रयासबारे जानकारी गराए ।

कार्यक्रममा करिब ३० वटा भारतीय वहुराष्ट्रिय कम्पनीको सहभागिता थियो । करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावना बारे चासो र अनुभव आदानप्रदान गरेका थिए ।

यसअघि, महासंघ र सिआईआईका पदाधिकारीहरूबीच द्धिपक्षीय छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.