मलेसियाविरुद्ध नेपालको सहज जित

  २०७८ चैत १६ गते १५:३०     विकासन्युज

काठमाडौं । त्रिदेशीय टी-२० श्रृङ्खलाको तेस्रो खेलमा नेपालले मलेसिया विरुद्ध सहज जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा आसिफ शेखको अर्धशतकमा नेपालले सहज जित हासिल गरेको हो । मलेसियाले दिएको ११५ रन लक्ष्य नेपालले चार विकेटको क्षतिमा १३.४ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

ओपनर आसिफ शेखले ३८ बलमा सर्वाधिक ५७ रनको योगदान दिए । आसिफको यो टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो । आसिफले ३१ बलमा अर्धशतक पूरा गरेका थिए ।

दीपेन्द्रसिंह ऐरी १७ बलमा २१ रनमा आउट भए । ओपनर कुशल भुर्तेल स्पिनर पवनदीप सिंहको बलमा ठूलो सट खेल्नेक्रममा लङअनमा विरनदीप सिंहबाट १ रनमा क्याच भए ।

पवनदीपले नै चौथो ओभरको अन्तिम बलमा रोहित पौडेललाई १२ रनमा एलबीडब्लू आउट गरे । तेस्रो विकेटका लागि दीपेन्द्र र आसिफले ७० रनको साझेदारी गर्दै नेपाललाई सहज जितको आधार तय गरे । टि२० आईमा डेब्यू खेल खेलेका विकेटकिपर दीलिप नाथ ७ बलमा ३ चौकासहित १५ रनमा अविजित रहे ।

कुशल मल्ल २ रनमा अविजित रहे । मलेसियाका बायाँ हाते स्पिनर पवनदीप सिंहले२ विकेट लिए । सैद अजिज र मुहम्मद आमिरले १/१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।

यो जीतसँगै नेपाल अंक तालिकाको शीर्षस्थानमा पुगेको छ। नेपालको चार अंक छ भने मलेसियाको दुई अंक छ। पपुवा न्युगिनीले अहिलेसम्म अंक बटुल्न सकेको छैन । टी–२० श्रृङ्खला अन्तर्गत चौथो खेलमा बिहीबार नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.