पूर्वी चितवन १३२ केभी सबस्टेसनको उद्घाटन

  २०७८ चैत १६ गते १४:५३     विकासन्युज

चितवन । सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएको पूर्वीचितवन १३२-३३-११ केभी सबस्टेसनको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् ।

चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वीचितवन सबस्टेसन निर्माण गरिएको हो ।

मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत‍्लाई पूर्वीचितवन सबस्टेसनभित्र छिराएर बाहिर निकालिएको छ । हेटौडा-भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत‍्लाई पूर्वीचितवन सबस्टेसनमार्फत त्यस क्षेत्रमा आपूर्ति गरिएको छ ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले खेतीयोग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराउन विद्युत‍्को महसुल सस्तो बनाइएको बताइन् । उनले भनिन्,‘पेट्रोलियम पदार्थको मूल्य बढेर धान्न नसक्ने अवस्था छ, त्यसैले पेट्रोलियम पदार्थभन्दा करिब ४०/५० प्रतिशत सस्तो विद्युत हरेक क्षेत्रमा प्रयोग गरौं ।’

सबस्टेसनमा १३२-३३ केभी, ३० एमभीए क्षमतार ३३-११ केभी, १६.६ एमभिए क्षमताका एक/एक ओटा पावर ट्रान्सफर्मर रहेका छन् । सबस्टेसनबाट ११ केभी फिडरमार्फत राप्ती र खैरहनी नगरपालिकामा विद्युत आपूर्ति भइरहेको छ । यसबाट करिब ४० हजार ग्राहक लाभान्वित भएका छन् ।

यस सबस्टेसनबाट चितवनकै पर्सा सबस्टेसनमा जोडी कालिका र रत्ननगर नगरपालिकामा विद्युत आपूर्ति ३३ केभी नयाँ लाइन निर्माण भइरहेको छ । पूर्वीचितवन सबस्टेसन निर्माणको काम २०७५ जेठबाट सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.