दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने

  २०७८ चैत १६ गते १०:२५     विकासन्युज

भोजपुर । भोजपुरलाई तराईसँग जोड्ने दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने भएको छ । करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किलोमिटर सडक कालोपत्रे गरिने छ ।

कालोपत्रे गर्न ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) आयोजनाले वातावरणीय परीक्षणको सार्वजनिक सुनुवाइ गरेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए । गाउँपालिकाले अन्य प्रक्रिया पूरा गरिसकेको उनको भनाइ छ ।

अध्यक्ष राईले भने, ‘भोजपुरवासीको चासोको रुपमा रहेको उत्तर दक्षिण जोड्ने यो सकडको काम चाँडै सुरु हुँदैछ । २२ किलोमिटर सडक कालोपत्रेपछि अन्य क्षेत्रको पनि काम अघि बढ्छ ।’ ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले सडक निर्माणको काम थालेको हो । एक सय २५ किलोमिटर लामो दिंला भोजपुर घोडेटार चुहार हुँदै सुनसरीको चतरा सडकको स्तरोन्नति र कालोपत्रेको काम सुरु भएको छ ।

एशियाली विकास बैंक (एडिबी)को लगानीमा ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)ले निर्माण थाल्ने छ । भोजपुर र उदयपुरलाई जोड्न दूधकोसी नदीमा पुल बनिरहेको छ । चुहारको पुल निर्माण सम्पन्न भएसँगै भोजपुर सदरमुकामबाट ९० किलोमिटरको दूरी पार गरेपछि सुनसरीको चतरा पुगिनेछ ।

भोजपुर सदरमुकामबाट पूर्व हुँदै जाने हो भने ९२ किलोमिटरको दुरी पार गरेपछि धनकुटाको हिले पुगिन्छ । दिंलाबाट चतरा पुग्न १२५ किलोमिटरको यात्रा तय गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.