शनिबारदेखि जनकपुर-जयनगर रेल सञ्चालन हुने : देउवा र मोदीले उद्घाटन गर्दै

  २०७८ चैत १५ गते १६:१४     विकासन्युज

काठमाडौं । जयनगर-जनकपुर रेल्वेको उद्घाटन यही शनिबार हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएको नेपाल रेल्वे कम्पनीका प्रबन्धक सञ्चालक निरञ्जन झाले बताए ।

प्रबन्धक झाका अनुसार प्रधानमन्त्री देउवा भारत जाँदा मोदिसँगै बसेर संयुक्तरूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हो ।

जनकपुर–जयनगर रुटमा चलाउन तामझामका साथ नेपाल आइपुगेका रेल लामो समयदेखि इनरुवामा त्रिपाल ओढाएर पार्किङमा राखियो । सो रेल केही महिना अगाडिदेखि दिनको एक चोटी संचालनमा रहेको कम्पनीले जनाएको छ ।

दुई सेट रेल भारतीय कम्पनीबाट खरिद गरी लिइएको भए पनि अहिलेसम्म सञ्चालन हुन सकेको थिएन । धनुषाको कुर्थादेखि भारतको जयनगर (३५ किलोमिटरको दुरी) सम्म सञ्चालन गर्नका लागि नेपाल सरकारले करिब एक अर्ब तीन करोड रुपैयाँ खर्च गरी ल्याएको हो ।

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर-जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो ।

यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मङ्गलबार पुनः रेल्वे अध्यादेश जारी गरेपछि रेल सञ्चालन गर्ने बाटो खुलेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.