कुलमानलाई प्रश्न : जानकारी नै नदिई लाइन काट्दा प्राधिकरणले क्षतिपूर्ति तिर्नु पर्दैन ? (भिडियोसहित)

  २०७८ चैत १० गते १८:२९     विकासन्युज

काठमाडौं । मंगलबार नेपाल विद्युत प्राधिकरणले एक्कासी विभिन्न औद्योगिक करिडोरको विद्युतको लाइन कटौती गर्यो । बिना जानकारी प्राधिकरणले बिद्युत कटौती गरेको भन्दै उद्योगीहरु प्राधिकरणको विरोध गरिरहेका छन् । उनीहरुले पूर्व जानकारी नदिई बिद्युत कटौती गर्दा दैनिक ५० करोड रुपैयाँभन्दा बढी नोक्सानी भइरहेको गुनासो गरिरहेका छन् । विद्युत लाइन कटौती गर्नुको कारण बताउन बिहीबार प्राधिकरणले पत्रकार सम्मेलन गर्यो ।

पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले मूल्य बढाएकोले केही दिन विद्युत कटौती गर्नु परेको र आज १२ बजेदेखि निरन्तर विद्युत आपूर्ति हुने बताए । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले उनलाई प्रश्न गरेका छन् ।

भारतले प्रतियुनिट बिजुलीको मूल्य ३८ रुपैयाँ लिएको छ, नेपालमा पनि मूल्य बढ्ने भएको हो ? उद्योगीहरु तपाईंहरुले भनेको मूल्य तिर्न तयार छन् कि छैनन् ?

भारतले प्रतियुनिट बिजुलीको मूल्य २० भारतीय रुपैयाँमा लिन्छ । यो भनेको नेपाली ३१ रुपैयाँ हो । त्यसमा पुनः ६ रुपैयाँ अतिरिक्त शुल्क लाग्छ । समग्रमा हामीले प्रतियुनिटको ३८ रुपैयाँ तिर्नु पर्ने हुन्छ । हामीले भारतसँग महँगो मूल्यमा विद्युत खरिद गरेपछि उपभोक्ता र उद्योगलाई बढ्छ भन्ने अनुमान होला, तर कसैलाई पनि मूल्य बढ्दैन । हामीले उद्योगीहरुलाई केही मूल्य सेयरिङ गर्न सकिन्छ की भनेर बोलाएका थियौं । तर, उहाँहरुको सहमति बिना मूल्य बढाउन सम्भव छैन । हामी एकतर्फी रुपमा मूल्य घटाउँदैनौं ।

भोलि प्राधिकरणले आयात गरेको बिजुलीको पैसा तिर्न सकेन भने सरकार तिर्न तयार छ की छैन ?

यो समस्या लामो समय रह्यो भने डेढ महिना रहन्छ । हामीले अर्थमन्त्रालयसँग आग्रह पनि गरेका छौं । यो केही निश्चित समयका लागि महंगो हो । केही समय अगाडि त हामीले सस्तोमै दिएका छौं । यसले हामीलाई धेरै ठूलो असर गर्दैन । यो भनेको सरकारको पनि दायित्व हो । प्राधिकरण भनेको सरकारको एउटा अंग हो । यो समस्या धेरै माथि जाँदैन भन्ने हामीलाई थाहा छ ।

अन्तर्राष्ट्रिय रुपमा सबै वस्तुको मूल्य बढिरहेको छ, अझै मूल्य बढ्यो भने हामी धान्न सक्ने अवस्थामा छौं कि छैनौं ?

यो सरकार हो, धान्न नसक्ने भन्ने कुरा हुँदैन । हामीलाई धेरै ठूलो उर्जा आयात गर्नु पर्ने अवस्था छैन । थोरै समयमा प्राइस एडजस्टमेन्ट गर्ने हो ।

प्राधिकरणले उद्योगीहरुले बिजुलीको बिल ढिला तिर्दा विद्युत् कटौती गर्छ अर्थात कारवाही गर्छ । तर, प्राधिकरणले जानकारी नदिई उद्योगको विद्युत् काटेको छ, यसमा प्राधिकरण किन जिम्मेवार नदेखिएको ? तपाईंहरुले क्षतिपूर्ति किन नतिर्ने ?

हामी जिम्मेवार नै छौं । जिम्मेवार भएर नै ३८ रुपैयाँमा किनेको बिजुली ९ रुपैयाँमा बेच्दैछौं । प्राधिकरण जिम्मेवार भएर नै भारु २० रुपैयाँमा खरिद गरेको विद्युत ९ रुपैयाँमा बिक्री गरेको हो । हामी जिम्मेवारी नभएको भए दैनिक ५/६ घण्टा उद्योग बन्द गर्न भन्न सकिन्थ्यो नि । हामी जिम्मेवारी भएर नै नेपालमा उद्योग खोल्नुपर्छ भनेर नै घाटा खाएर विद्युत दिन लागेका हौं । हामीले एभरेज रुपमा उपभोक्तालाई ९ रुपैयाँ ९० पैसा र उद्योगलाई ९ रुपैयाँमा बिजुली दिने गरेका छौं । अहिले हामीले केही समयका लागि महँगोमा बिजुली दिन खोजेका हौं । लामो समयको कुरा होइन ७ दिनदेखि १५ दिनको समयका लागि हुन सक्छ । हामीले घाटा खाएर नै कम मूल्यमा बेचिरहेका छौं ।

अझै पनि ४ महिना विद्युत् आयात गर्नुपर्ने अवस्था छ । तर, प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) किन रोकेको ?

हामीले पीपीए रोकेका छैनौं । हामीले पीपीए रोकेका होइनौं, बिजुली थपिएकै छन् । नयाँ कम्पनी आइरहेका छन् । ६ हजार मेगावाट निर्माणाधीन छन् । असारसम्म ३ सय मेगावाट थप हुन्छ । बिद्युत उत्पादन बढिरहेको छ । हामीले हाम्रो कोटाको पीपीए रोकेका छैनौं । बर्खायाम सुरु हुन लाग्यो हामीले निर्यात गर्न सक्छौं, कसैलाई पनि लोडसेडिङ हुँदैन, हामी हुन दिँदैनौं । अहिले अचानक आएको संकट हो, बेला बेला भै’राख्छ । तर हामी लोडसेडिङ हुन दिँदैनौं । हामी म्यानेज गर्छौं ।

One comment on "कुलमानलाई प्रश्न : जानकारी नै नदिई लाइन काट्दा प्राधिकरणले क्षतिपूर्ति तिर्नु पर्दैन ? (भिडियोसहित)"

  • c.k.shahi says:

    MR MD IS BIG BOSS OF NEA POWER CUT OR POWER TO FACTORY HE CAN DO,
    WAIT N SEE WHEN POWER LINE FROM INDIA.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.