निर्माण सामग्रीको मूल्य आकाशियो, कारण पेश गर्न सरकारको अल्टिमेटम

  २०७८ चैत ९ गते १०:४२     विकासन्युज

काठमाडौं । निर्माण सामग्रीको मूल्य अत्याधिक बढेपछि सरकारले बजार अनुगमन थालेको छ । व्यवसायीले आफूखुसी मूल्य बढाएको शंका गर्दै सरकारले अनुगमन थालेको हो ।

पछिल्लो समय निर्माणजन्य सामग्रीको मूल्य बढेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य बढ्नुको कारण खोज्न थालेकोे हो ।

निर्माण व्यवसायीले पछिल्लो समय फलामे डन्डीको मूल्य बढेको गुनासो गरेपछि विभागले व्यवसायीसँग मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको छ । विभागले मंगलबार डन्डी उद्योगीसँग छलफल गरेर मूल्य बढ्नुको लिखित कारण पेश गर्न निर्देशन दिएको हो ।

पछिल्लो १ महिनाको अवधिमा उद्योगीहरुले प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्म मूल्य बढाएका छन् । निर्माणको सिजनमा नै अन्तर्राष्ट्रिय बजारलाई देखाउँदै उद्योगीले आफूखुशी डन्डीको मूल्य बढाएको भन्दै निर्माण व्यवसायीले विभागमा उजुरी दिएका थिए ।

सार्वजनिक कार्यक्रममा नै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले डन्डी उद्योगीले आफूखुशी मूल्य बढाउँदा समस्या भएको बताउँदै आएका छन् ।

हाल रुस-युक्रेन युद्धलाई देखाउँदै डन्डी उद्योगीले आफूखुशी मूल्य बढाउने गरेका निर्माण व्यवसायीको आरोप छ ।

मंगलबार भएको छलफलमा डन्डी उद्योगीले अन्तर्राष्ट्रिय बजारमा नै रडको मूल्य बढ्दा त्यसको असर नेपालमा देखिएको बताएका थिए ।

विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले डन्डी उद्योगीले अन्र्ताष्ट्रिय बजारमा नै मूल्य बढ्दा नेपालमा स्वत रुपमा बढ्न गएको बताएको जानकारी दिए ।

उद्योगीले अन्तर्राष्ट्रिय बजारलाई देखाउँदै मूल्य बृद्धि गरेको बताएपछि विभागले मूल्य बढ्नुको कारण बुझाउन निर्देशन दिएको हो ।

‘हामीले सबै उद्योगीसँग लिखित रुपमा नै मूल्य बढ्नुको कारण माग गरेका छौँ, उहाँहरुबाट विवरण आएपछि हामीले थप अध्ययन गछौं, उद्योगीले दिएको विवरणमा केही कैफियत देखिए नियम अनुसार कारबाही हुन्छ,’ उनले भने ।

पौडेलका अनुसार पछिल्लो समय रसिया–युक्रेन युद्धलाई देखाउँदै व्यवसायीले अधिकांश वस्तुको मूल्य बढाएपछि विभागले अनुगमनलाई तिव्र बनाएको छ ।

‘पछिल्लो एक महिनायता हाम्रो ध्यान डन्डी र खाद्यान्नमा केन्द्रीत छ, दुई देशबीचको युद्धको फाइदा नेपालका व्यवसायी तथा उद्योगीले लिन थालेका छन्, हाम्रो ध्यान मूल्य बृद्धि नियन्त्रणमा छ’, उनले भने ।

निर्माण सागम्री व्यवसायीका अनुसार पछिल्लो समय छडको मूल्य आकाशियको छ । एक महिनाको अवधिमा छडको मूल्य किलोमा ३५ रुपैयाँसम्मले बढेको छ । छड उत्पादन गर्ने उद्योगहरुले पछिल्लो समय दैनिक जसो मुल्य बढाउँदा मूल्य आकाशियको हो ।

ग्रिल तथा स्टिल व्यवसायी संघका अध्यक्ष मोहन कटुवाल निर्माणजन्य सामग्रीका लागि तेस्रो देशको भर पर्दा मूल्य आकाशियको बताउँछन् । उनका अनुसार पछिल्लो समय छड, स्टल, जस्तापाता लगायत अधिकांश सामग्रीको मूल्य बढेको छ ।

गत मंसिर महिनामा प्रतिकिलो १०२ रुपैयाँदेखि ११० रुपैयाँसम्म रहेको छडको मूल्य हाल १३० देखि १४० रुपैयाँसम्म पुगेको छ ।

व्यवसायीका अनुसार यसअघि ८४ रुपैयाँदेखि ९२ रुपैयाँसम्म रहेको छडको मूल्य बढेर हाल १३५ देखि १४० रुपैयाँसम्म पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.