एनएस चिह्न प्राप्त हुनेबित्तिकै हुवासिन सिमेन्टले उत्पादन थाल्ने

  २०७८ चैत ७ गते १३:३८     विकासन्युज

काठमाडौं । नेपाली र चिनीयाँ संयुक्त लगानीमा सञ्चालनको तयारीमा रहेको हुवासिन सिमेन्टले गुणस्तर प्रमाणपत्र (एनएस) चिह्न लिने तयारी थालेको छ ।

धादिङको सिद्धलेकमा रहेको उद्योगले गत पुुस दोस्रो साताबाट परीक्षण उत्पादन सुरु गरेको थियो । परीक्षण उत्पादन सकेपछि नेपाल गुणस्तर तथा नापतौल विभागमा एनएस चिह्नका लागि आवेदन दिएको उद्योगले जनाएको छ ।

विभागबाट गुणस्तर प्रमाणपत्र पाएपछि नियमित रुपमा उत्पादन सुरु गर्ने कम्पनीले जानकारी दिएको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेल गुणस्तर प्रमाणपत्र लिने तयारी स्वरुप विभागमा आवश्यक कागजपत्र बुझाइसकेको बताउँछन् ।

सन् २०२० कै सुरुमा सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण सुरु भएको उद्योगमा कोभिड महामारी र स्थानीयको अवरोधका कारण निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

आफ्नै खानीबाट उत्पादित चुनढुङ्गाबाट दैनिक रुपमा ३ हजार मेट्रिक टन क्लिन्कर र सिमेन्ट उत्पादन गर्ने तयारी गरेको छ ।

हुवासिन सिमेन्टका लगानीकर्ता चिनियाँ कम्पनी हुवासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र नेपाली साझेदार वैद्य अर्गनाइजेसनका सुरज वैद्य हुन् । हुवासिन सिमेन्ट नारायणी प्रालिमा वैद्यको २० प्रतिशत र चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी रहेको छ ।

नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको सो उद्योगमा गत कात्तिकको अन्तिम सातादेखि विद्युत् उपलब्ध भएको थियो ।

ड्राइ प्रोसेस प्रविधिबाट सिमेन्ट उत्पादन हुने र विश्वमा हाल अत्यन्त प्रचलित फिल्टरलगायत इलेक्ट्रो स्ट्याटिक प्रिसिपिटेटर (इएसपी) जडान गरिएको उद्योगले जानकारी दिएको छ ।

निर्माणमा ढिलाइ हुँदा लागत बढ्यो

कोरोना कहर, प्राकृतिक विपत्तिलगायतका कारणले उद्योगको लागत बढ्न गएको छ । लगानी बोर्डसँग सुरुवाती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड रुपैयाँ बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले लागत बढ्न गएको छ । लागत अनुमानको तुलनामा साढे २ अर्ब लगानी थपिएको उपमहाप्रबन्धक पोखरेल बताउँछन् ।

१ अर्ब लागतमा प्रशारणलाईन निर्माण

हुवासिन सिमेन्ट उद्योग आफैंले प्रसारणलाईन निर्माण गरेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाईन निर्माणमा ढिलाइ गरेपछि उद्योगले १ अर्ब बढी लगानीमा उद्योग परिसरमा आफैंले प्रसारणलाईन निर्माण गरेकोे थियो ।

उद्योग आफैले निर्माण गरेको सो प्रसारणलाईनमा विद्युत प्राधिकरणले मस्र्याङ्दी–काठमाडौं १३२ केभी प्रसारण लाइनबाट उद्योग परिसरसम्म बिजुली उपलब्ध गराइएको थियो ।

उपमहाप्रबन्धक पोखरेलका अनुसार गत कात्तिकमा नै स्वीचिङ स्टेसन सञ्चालनमा ल्याइएको थियो । धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण भएको स्वीचिङ स्टेसनलाई गत कात्तिकमा नै चार्ज गरिएको भए पनि गत मङ्सिरको दोस्रोसातादेखि उद्योगमा नियमितरुपमा बिजुली उपलब्ध भएको छ ।

तनहुँको तल्लो मस्र्याङ्दी विद्युतगृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) निर्माण गरिएको छ । प्रसारणलाइनलाई स्वीचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् उपलब्ध गराइएको छ । सो स्वीचिङबाट सिमेन्ट उद्योगले कूल २० मेगावाट विद्युत् लिनेछ ।

दोस्रो चिनियाँ उद्योग

हुवासिन चिनियाँ कम्पनीको लगानीमा निर्माण गरिएको दोस्रो उद्योग हो । पहिलो चिनियाँ लगानीको सिमेन्ट उद्योगका रुपमा विगत ३ वर्षदेखि होङ्सी सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको छ ।

सो उद्योगले हाल दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ । होङ्सीलाई नेपाल विद्युत प्राधिकरणले ३० मेगावा विद्युत उपलब्ध गराएको छ ।

२०७५ सालमा चीनमा सम्झौता

नेपाल र चिनियाँ संयुक्त लगानीमा नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न २०७५ सालमा नै दुई देशका अधिकारीबीच सम्झौता भएको थियो ।

लगानी बोर्डका तत्कालिन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ गते उद्योग स्थापनाका लागि चीनको राजधानी बेइजिङ्मा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सो समयमा सम्झौता गर्दा एक वर्षभित्र कारखाना स्थापना गर्ने भनिएको थियो । २०७४ मंसिर १२ गते सरकारले हुवासिन सिमेन्ट उद्योगलाई धादिङको पानीखर्कमा खानी उत्खनन गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवद्र्धकले ६० करोड रुपैयाँ बराबरको लगानी गरेको थियो । खानीका लागि हालसम्मकै बढी खर्च गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.