वस्तु आयातमा कडाइ गर्दा समस्या भएको व्यापारीको गुनासो, बढ्दो व्याजदरले व्यवसाय धरासायी हुने संकेत

  २०७८ चैत ६ गते १४:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् ।

सरोकारवाला निकायहरूसँग छलफलसमेत नगरी आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा व्यापार धरासायी बन्न लागेको बताएका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामान आयातमा शतप्रतिशत नगद मार्जिन व्यवस्थाले व्यापारीहरूलाई मानसिक तनाव बढाएको बताए । उनले मार्जिन लागू हुनुभन्दा अगाडि अर्डर गरेर ल्याएका सामानसमेत विभिन्न बहानामा तीन महिनादेखि भन्सारमा नै रोकिएको बताए ।

कटुवालले सरकारले मार्जिन व्यवस्था लागू गर्नुभन्दा अगाडि अर्डर गरेर खरिद गरिएको समान आयातको विषयमा अध्ययनबिना नीति लागू गरेकाले अहिले व्यवसायीहरूलाई मर्का परेको दावी गरे । उनले अहिले भन्सारमा सामान ल्याउने कन्टेनरको समेत भाडा बढेकाले बजारमा आउने समानको अत्यधिक मूल्यवृद्धि भएको बताए ।

गर्मी मौसमको लागि पाँच महिना अगाडि खरिद गरेका सामान बजारमा आउनु पर्ने भए पनि भन्सार नाकामा समान रोकिएर बसेको तर, सरकारले भन्सारमा सहजीकरण गर्ने काम नगरेको उनले बताए ।

त्यस्तै, काठमाडौंको महाबौद्धमा कपडा व्यापार गर्ने व्यापारी झविन्द्र जीसीले तीन महिना अगाडि गर्मी महिनाको सामान खरिद गरे पनि अहिलेसम्म भन्सारबाट सामान नआएको बताए । उनले सरकारले सामान आयातमा ल्याएको शतप्रतिशत मार्जिनको नीतिले साना व्यवसायीलाई थप मारमा पारेको बताए ।

सरकारको नीतिको कारण साना व्यापारी मर्कामा परेको अर्का व्यापारी कुलेन्द्र जीसीले बताए । उनले अर्डर गरिएका समान भन्सारबाट सहज रुपमा पाँच महिनासम्म नआउँदा व्यापार नै ठप्प रहेको बताए ।

व्यापारीहरूले पाँच महिना अगाडि अर्डर गरेको समान समयमा नै नआउँदा व्यापार गर्न समेत नपाएको बताएका छन् । बैंक कर्जाको व्याजदर वृद्धि, भाडा वृद्धि र सामानको मूल्य वृद्धिको कारण व्यापार गर्न नसक्ने अवस्था आएको उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.