स्थानीय निर्वाचनलाई एक लाख म्यादी प्रहरीको भर्ना खुल्यो, यस्तो छ सेवासुविधा

  २०७८ चैत २ गते १०:०४     विकासन्युज

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले मंगलबार सूचना जारी गर्दै म्यादी प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको हो ।

‘स्थानीय तह निर्वाचन, २०७९ का लागि म्यादी प्रहरी भर्ना गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकबाट स्वयं उपस्थित भई दरखास्त आह्वान गरिन्छ’, सूचनामा उल्लेख छ । म्यादी प्रहरीमा एक लाख भर्ना गरिने बताइएको छ । सार्वजनिक बिदा बाहेक यही चैत ६ देखि ११ गतेसम्म भर्नाका लागि दरखास्त दिन सकिने जनाइएको छ । महानगरीय प्रहरी परिसर (काठमाडौँ, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम बुझाउन सकिने छ ।

दरखास्तका लागि नेपाली नागरिक भएका, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेका, कसुरदार ठहर नभएका, शारीरिक तथा मानसिक रुपले तन्दरुस्त, साधारण लेखपढ गर्न जान्ने तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को अनुसूची ३ मा उल्लेख भए बमोजिमको हुनुपर्ने उल्लेख छ । मुख्यगरी सुरक्षा निकायमा गत साउनदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रतिलिपि पेस गर्ने, पूर्वसुरक्षाकर्मी तथा पूर्ववनरक्षक, विगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक कार्य गरेकालाई प्राथमिकता दिइने भएको छ ।

दरखास्तका लागि यही चैत १३ गते सम्पर्क गर्न भनिएको छ भने चैत १५ गतेदेखि छनोट प्रक्रिया सुरु गरिने सूचनामा उल्लेख छ । अन्तिम नतिजा भने यही २२ गते सार्वजनिक हुनेछ ।

चैत २८ गते प्रशिक्षण दिइने छ । म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुने छ । उनीहरुलाई जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार उपलब्ध गराइने छ । निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन जान तयारी स्वरुप प्रतिम्यादी प्रहरी (एक पटकका लागि) एक हजार दिइनेछ । बीमा लगायतका अन्य सुविधा नेपाल सरकारले तोकेअनुसार हुने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.