४ स्पञ्ज आइरन उद्योगले सवा ५ अर्ब लगानी थप्दै, सरकारले भन्सार र अन्तःशुल्क छुट दिएपछि खुसी

  २०७८ फागुन ३० गते १६:२५     विकासन्युज

काठमाडौं । सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिएसँगै स्पञ्ज आइरन उत्पादन गर्ने उद्योगहरुले क्षमता बढाएका छन् । बजेटमा छुट दिएपछि नयाँ उद्योगसँगै पुराना उद्योगले क्षमता अभिवृद्धि गर्न थालेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थान विधेयकमार्फत ल्याएको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै कच्चा पदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सार तथा अन्तशुल्क छुटको व्यवस्था गरेका थिए । सो व्यवस्था कार्र्यान्वयनमा आएसँगै पुराना उद्योगले क्षमता बढाउने र नयाँ उद्योग थपिन थालेको हो ।

स्पञ्ज आइरन उत्पादन गर्ने पुराना ४ उद्योगले थप क्षमता अभिवृद्धिका लागि उद्योग विभागबाट स्वीकृति लिएका छन् । विभागका निर्देशक खगेन्द्रबहादुर बस्नेतका अनुसार काठमाडौं स्टील्स, स्वस्तिक रोलिङ, प्रिमियर स्टील र हुलास वायरले लगानी थपका लागि स्वीकृति लिएका हुन ।

उनका अनुसार स्वस्तिक रोलिङले स्पन्ज आइरन आयात गरेर वार्षिक १ लाख ३० हजार मेट्रिक टन (मेटन) बिलेट तथा अन्य सामग्री उत्पादन गर्नका लागि थप लगानीका लागि अनुमति पाइसकेको छ । सो उद्योगले थप १ अर्ब ९३ करोड लगानी थप गर्न अनुमति माग गरेको हो ।

यसैगरी, काठमाडौं स्टील्सले वार्षिक १ लाख ७७ हजार मेटन बिलेट तथा फलामजन्य सामग्री उत्पादनका लागि थप १ अर्ब ३९ करोड लगानीको अनुमति पाएको छ ।

प्रिमियर स्टीलले वार्षिक १ लाख ८० हजार मेटन उत्पादन लक्ष्य राखेर १ अर्ब १४ करोड लगानी र हुलास वायरले वार्षिक १ लाख १२ हजार ५०० मेटन उत्पादन लक्ष्य राखेर ६७ करोड लगानी थपको स्वीकृति पाएका हुन ।

विभागको तथ्यांकअनुसार आव २०७७÷७८ सम्ममा मुलुकभर ३१ ओटा फलामे छड तथा स्टील उद्योगहरू सञ्चालनमा छन् । तर, यीमध्ये ६ ओटा उद्योगले मात्रै स्पन्ज आइरन तथा स्क्रब (पत्रु) को प्रयोगबाट स्वदेशमै बिलेट उत्पादन गर्दै आएका छन् ।

थपियो सर्वाेत्तम स्टील

स्पञ्ज आइरन उद्योगलाई सरकारले छुट दिएपछि पुराना उद्योगको क्षमता अभिबृद्धि सँगै नयाँ उद्योग थपिएको छ । स्वदेशमै बिलेट उत्पादन गर्न फलामे छड उद्योगलाई प्रोत्साहन गर्ने नीति सरकारले ल्याएसँगै स्पञ्ज आइरन उत्पादन गर्न सर्वाेत्तम स्टील (नयाँ) उद्योग दर्ता भएको छ ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको मनयारीमा उद्योग रहने गरी सौरभ गुप्रले सर्वाेत्तम स्टील स्थापना गरेको हो ।

१५ बिगाहा क्षेत्रफलमा रहने सो उद्योगमा ३ अर्ब ३५ करोड लगानी रहेको छ । सो उद्योगले विभागबाट वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृतिसमेत पाइसकेको छ । उद्योगले विभागले गरेको प्रस्ताव अनुसार वार्षिक रुपमा ४ लाख ४१ हजार मेट्रिट टन स्पञ्ज आइरन उत्पादन हुनेछ ।

२० प्रतिशत क्षेत्रमा उद्योग स्थापना भएतापनि अन्य भागमा बगैँचादेखि पार्किङका लागि छुट्टाइने कम्पनीले जनाएको छ । उद्योगमा फलामजन्य वस्तु उत्पादनका लागि ३० मेट्रिक टनका २ ओटा इन्डक्सन फर्नेस (भट्टी) राखिनेछ । उक्त उद्योगलाई फलामजन्य वस्तु तथा स्टील उत्पादनका लागि २ दशमलव ५ मेगावाट बिजुली आवश्यक हुने कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.