कर्जा जोखिम व्यवस्थापन गर्ने महत्वपूर्ण टिप्सहरु

  २०७८ फागुन २९ गते ११:१८     सिताराम पण्डित

लघुवित्त वित्तीय संस्थामा आम्दानीको मुख्य श्रोत कर्जा लगानी तथा व्याज आम्दानी रहेको कुरा सर्वविदितै छ । लघुवित्त संस्थामा कर्जा गुणस्तर गर्न सकेमात्र वित्तीय संस्था सुरक्षित रहने कुरामा कसैको पनि विमती नहोला ।

त्यसैगरी, कर्जा लगानी गर्दै जाँदा जोखिम नै नआउने कुरा हुँदैन । तर, आउन सक्ने जोखिमहरुलाई पहिला नै पहिचान गरि व्यवस्थापन गर्दै गएमा वित्तीय संस्थाको आम्दानीमा बृद्धि भई वित्तीय संस्थाको स्थाईत्व निश्चित हुने देखिन्छ । कर्जा जोखिम आउन नदिन कर्जाको राम्ररी विश्लेषण गर्नु अति नै आवश्यक रहेको हुन्छ ।

कर्जा लगानी गर्दा विभिन्न किसिमका जोखिम आउन सक्ने कुराको विश्लेषण नभएमा कर्जा जोखिममा जाने प्रबल संभावना हुन सक्छ । त्यसैगरी, कर्जा लगानी गर्दा वित्तीय संस्थाको वासलातमा लेखाकंन भएपनि उक्त कर्जा रकम ग्राहकको हातमा हुन्छ । वित्तीय संस्थाको सम्पति भएपनि उक्त सम्पती सदस्यको हात रहने भएकोले कर्जा अवधीमा विशेष चनाखो हुन आवश्यक रहेको हुन्छ ।

कर्जा लगानी गर्दा जोखिम आउन सक्ने अवस्थालाई मध्यनजर गरी व्यवसाय सुरक्षित गर्न, गराउन अति नै आवश्यक रहेको हुन्छ । कर्जा लगानी गर्दा जोखिम केही मात्रामा आउन सक्छ । तर, जोखिम आउने भएमा कर्जा लगानी नगरेमा आम्दानी पनि बृद्धि हुन सक्दैन र अर्को जोखिम हुन सक्दछ ।

एउटा भनाई छ– नो रिस्क नो गेन, मिडियम रिस्क मिडियम गेन, मोर रिस्क मोर गेन । त्यसो भएको हुनाले बढी जोखिम लिने होइन र जोखिम नलिने पनि होइन । जोखिमलाई न्युनिकरण गर्न क्यालकुलेटिङ रिस्क लिन सके रिस्कलाई मिनिमाइज र आम्दानीलाई म्याक्सिमाइज गर्न सकिन्छ ।

कर्जा जोखिममा आउनुको विभिन्न कारणहरु मध्ये प्रमुख २ वटा कारणहरु रहेको हुन्छ । प्रथम, आन्तरिक कारण, दोस्रो वाह्य कारण । दुईवटै कारणहरु मध्ये आन्तरिक कारण सबैभन्दा प्रमुख कारण हो । हुन त हाल वाह्य कारण कोभिड १९ को विभिन्न स्वरुपको कारण विश्वव्यापी रुपमा आर्थिक बृद्धिको मन्दी, व्यवसायमा ह्रास, पुँजीको ह्रास जस्ता कारणले कर्जा जोखिममा बृद्धि भएको पाईन्छ । कर्जा जोखिम बृद्धि हुनुको आन्तरिक कारणहरुको प्रमुख कमजोरी फिल्डस्तरको कर्मचारीको बढी भूमिका देखिन्छ । कर्जा स्वीकृत तथा सिफारिस कर्जासँग सम्बन्धित विभिन्न जोखिमहरुलाई प्रभावकारी विश्लेषण गरी मात्र स्वीकृति तथा लगानीको लागि सिफारिस गर्नु पर्दछ ।

विश्वमै सर्वप्रथम लघुवित्त कर्जाको सुरुवात कर्ता मोहम्द युनुसको एउटा भनाई छ, विश्लेषण बिनाको कर्जा अनुदान हो । तसर्थ कर्जा स्वीकृत तथा लगानी गर्दा जोखिमहरु विश्लेषण नगरी प्रकृया अगाडी बढाउँदा अनुदान झै नै हुने र अनुदान पुन: फर्केर नआउने भएकोले कर्जा जोखिम आउने संभावना बढि हुन सक्छ ।

जोखिम कर्जा अहिलेको जल्दोबल्दो समस्याको रुपमा देखिएको छ । सकेसम्म कर्जा जोखिम आउन नदिनको लागि हरसम्भव प्रयत्न गर्नुपदर्छ । कथमकदाचित कर्जा जोखिम भएमा देहायमा उल्लेखित तरिकाहरुबाट जोखिम कर्जालाई व्यवस्थापन गर्न सकिन्छ ।

कर्जा जोखिमपछि गरिने व्यस्थापनभन्दा सकेसम्म कर्जा जोखिम आउन नदिनु नै उत्तम हो । भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम उपाय हो । कर्जा भाखा नाघ्न नदिनको लागि गरिने व्यवस्थापन भाखा नाघ्नुको पूर्व जोखिम व्यवस्थापन हो भने कर्जा भाखा नाघेपछिको गरिने व्यवस्थापन जोखिमपछिको कर्जा व्यवस्थापन हो ।

कर्जा जोखिमपछि संस्थाको विभिन्न किसिमका खर्चहरु जस्तै कर्मचारी खर्चहरु, कर्जा नोक्सानी खर्च तथा अन्य खर्चहरु बृद्धि हुने, लक्ष्यहरु पुरा गर्न, गराउन निकै कठिनाई हुने देखिएकोले जोखिम कर्जालाई व्यवस्थापन गर्नुभन्दा कर्जालाई जोखिममा जान नदिनको लागि तपसिल अनुसारको बुदाँहरुलाई ध्यान दिनुपर्छ ।

– सदस्यको छनौट गर्दा सदस्य तथा घरपरिवारको आचरण, इमानदारिता, अनुशासित पारिवारिक सहमति भएको नभएको, आम्दानीको श्रोत तथा साधन, धेरै लघुवित्तबाट कर्जा कारोबार गरे नगरेको, कर्जा अन्य व्यक्तिको लागि कि आफ्नै लागि जस्ता कुराहरुको यकिन गरेर मात्र सदस्यता प्रदान गर्ने जसले गर्दा सदस्यको सही पहिचान भई कर्जा गुणस्तर कायम रहन्छ र कर्जा जोखिम हुँदैन ।

– सदस्य बनाउँदा सस्थाको नीति नियमहरु प्रष्ट राख्नु पर्छ, झुठा आश्वासन दिएर सदस्यता प्रदान गर्नुहुँदैन ।

– केन्द्र प्रमुखको छनौटमा गर्दा अगुवा व्यक्ति, सकारात्मक, धेरै लघुवित्तमा नभएको, सदस्यहरुलाई सहयोग सदभाव गर्न सक्ने, आवश्यक परेमा नियन्त्रण तथा लगाम लगाउन सक्ने र सबैले केन्द्र प्रमुखले भनेको कुरा मान्ने व्यक्तिलाई केन्द्र प्रमुखमा छनौट गर्दा केन्द्र गुणस्तर कायम भई कर्जा जोखिम जाने संभावना न्युन रहन्छ ।

– कर्जा स्वीकृत गर्दा सदस्यको घरपरिवारको कुल आम्दानी, कुल खर्च विवरण, परियोजनाको अवस्था तथा परियोजनाबाट आउने नगद प्रवाह, परियोजनाको स्थान, परियोजनाको विगत तथा हालको अवस्था, अन्य आम्दानीको श्रोतहरु, कर्जा सुचना केन्द्रमा सदस्य तथा निजको श्रीमानको कर्जा बाँकी, एकल ग्राहक कर्जा सिमा, ओभरडिउ रहे नरहेको बिषयहरु माथी सम्पूर्ण कर्मचारीहरु एक एक फाइलको बारेमा छलफल गर्नुपर्छ । त्यसैगरी, सदस्यको ५ सी (क्यारेक्टर, क्यापासिटी, कोल्याट्रल तथा क्यास कन्डिसन) को राम्रोसँग विश्लेषण पश्चात मात्र कर्जा स्वीकृत गर्ने साथै कर्जा लगानी गर्दा एकाघरको व्यक्तिलाई साक्षी राख्ने कथम कदाचित एकाघरको व्यक्ति साक्षी नभएमा सदस्यको नजिकको नातेदारलाई व्यक्तिगत जमानी तमसुक बनाएर मात्र साक्षी राख्ने गरेमा अन्यले कर्जा चलाउने संभावना न्युन हुने र कर्जा जोखिम जाने संभावना न्युन हुन सक्छ ।

– केन्द्रमा सामुहिक समर्थन, सामुहिक उतरदायित्व तथा कुनै पनि कुरामा समुहलाई अगाडी सार्ने समुहको निर्णय सबैजनालाई लागु गर्ने, गराउने लघुवित्त संस्थाको मुटु नै केन्द्र तथा समुह भएको हुनाले समुहको जिम्मेवारीप्रति सैदव बोध गराउने गर्नाले केन्द्रमा गुणस्तर कायम रहन्छ र कर्जा जोखिममा जाने संभावाना न्युन रहन्छ ।

–केन्द्रमा बैठक समय पश्चात अर्थात तोकिएको समयपछि ढिलो आउने सदस्य तथा कर्मचारीलाई अनिवार्य जरिवाना साथै बैठकमा जानकारीविना अनुपस्थित सदस्यहरुलाई समेत जरिवाना अनिवार्य लागु गर्ने ।

– कर्जा लगानी गर्दा परियोजनाको सदुपयोगिता निरिक्षण गरी रेकर्ड राख्ने कथम कदाचित सदुपयोग नभएमा समुहको सदस्यहरुलार्ई निजको कर्जा चुक्ता गराउन अनुरोध तथा दबाब दिने ।

– सदस्यको उपस्थिती र कर्जा किस्ता तिर्ने तरिकाको मासिक रुपमा रेकर्ड राख्ने जस्तो सधैजसो ढिलो आउने, पटक पटक अरुसँग सापट मागेर किस्ता तिर्ने, केन्द्रमा १ घण्टा बसाएर किस्ता तिर्ने आदि ।

– नियमित बचत गर्न बानीको विकास गराई बचतको महत्वबारे जानकारी गराउने साथै विभिन्न किसिमको बचत गर्न उत्प्रेरित गरी वचतको मौजदात तथा केन्द्रमा कर्जा वचतको अनुपात बढि प्रतिशत पुर्याउने ।

– थप कर्जा बृद्धि गर्दा पुरानो कर्जाको चक्र पुरा चलाएको कि ४ तथा ५ महिनामा चुक्ता गरि माग गरेको हो । त्यसैगरि पहिला कर्जाको किस्ता तिर्ने तरिका, बचतको मौज्दात, परियोजनाको हालको अवस्था आदिको आधारमा मात्र कर्जा सिमा बृद्धि गर्नुपर्छ ।

– सकेसम्म १ केन्द्र १ धितोमा अधारित कर्जा लगानीलाई प्राथमिक्ता दिनु पर्छ ।

– केन्द्रमा सबै सदस्यहरुलाई समान व्यवहार गरिनु पर्छ ।

– केन्द्रको स सानो समस्या समयमै समाधान गर्नुपर्छ ।

– सदस्य र कर्मचारीको सम्बन्ध सुमधुर तथा सम्बन्धमा लिमिटेशन पनि हुनुपर्छ ।

– कार्यालयमा कर्जा तथा बचत अन्य कार्यको लागि आउने ग्राहकलाई समयमै कार्यसम्पन्न गरि पठाउने गर्नुपर्छ ।

– फुटकर सदस्थ थप गर्दा अघिल्लो महिनामा मात्र कर्जा लगानी गर्ने तथा फुटकर थप हुने सदस्य केन्द्र प्रमुख तथा अन्य व्यक्तिको स्वार्थको लागि थप हुन आएको नआएको यकिन गर्ने ।

– केन्द्रमा कर्जा किस्ता कहिल्यै पनि कुनै सदस्यको आज भएन भोलि तिर्छु कार्यालयमै ल्याएर तिर्नेछु भनेर कसैलाई पनि छुट दिनुहुदैन । केन्द्रमै किस्ता असुलीलाई प्राथमिक्ता दिन सके कर्जा अनुशासन कायम रहन्छ र कर्जा जोखिममा जाने संभावना न्युन हुन सक्छ ।

– केन्द्रलाई पटक पटक मुल्यांकन गरि राम्रो तथा शतप्रतिशत असुली, बैठक संचालन प्रकृया, सदस्य संख्या,कर्जा लगानी र बचत मौज्दातको आधारमा केन्द्रलाई पुरस्कार तथा केन्द्र प्रमुखलाई धन्यवाद तथा सम्मान गर्ने ।

– क्षेत्रगत परियोजनाहरु जस्तो पशुपालन, कृषि, सेवा, उद्योग आदी क्षेत्रहरुमा कर्जा लगानीलाई विविधीकरण गर्ने किनकि यसले गर्दा जोखिम न्युनिकरण भएर जान्छ ।

– केन्द्रमा नियमित कर्जा किस्ता तिर्ने, धेरै मात्रामा बचत गर्ने कर्जालाई सदुपयोग गर्ने सदस्यहरुलाई समय समयमा धन्यवाद तथा सम्मान गर्ने ।

– शाखा प्रमुख, अनुगमन तथा केन्द्रीय कार्यालयबाट केन्द्र बैठकमा केन्द्रको चेकजाँच गर्ने, केन्द्र संचालन प्रकृयामा देखिएका कैफियतहरु समयमै सुधार गरि केन्द्रलाई गुणस्तर कायम राख्ने ।

– अनुगमन तथा केन्द्रीय कार्यालयले मासिक पटक पटक शाखा चेकजाँच गर्ने आन्तरिक नियन्त्रणलाई कायम गराई राख्ने ।

– केन्द्रमा आवश्यक्ता अनुसार अभिभावक बैठक तथा बित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, लघुवित्त सेवा, कर्जा, बचत,रेमिटान्स तथा अन्य सेवाहरुबारेमा सदस्य तथा अभिभावकलाई जानकारी गराउने ।

– केन्द्रमा कुनै समाजिक कार्यक्रम संचालन भएमा संस्थाको तर्फबाट भाग लिने संस्था र केन्द्रबीच अपनत्वय कायम गरिराख्ने जसले गर्दा कर्जा जोखिम जाने संभावना न्युन हुन सक्छ ।

कर्जा जोखिमबाट रोक्न माथिको विवरणहरु राम्ररी पुरा गर्ने हो भने सकेसम्म कर्जा जोखिममै जादैन कथमकदाचित कर्जा जोखिम गएमा जोखिम व्यवस्थापनको लागि तपसिल अनुसारको बुदाँहरुमा ध्यान दिनुपर्छ ।

– भाखा नाघ्ने कारण केहो त्यसको वास्तविक कारण पता लगाउनु आवश्यक रहेको हुन्छ । किनकि, जबसम्म रोग पत्ता लाग्दैन, तबसम्म उपचार अन्दाजी गर्दा रोग ठिक हुन सक्छ नहुन पनि सक्छ । त्यसैले भाखा नाघ्ने कारणहरुमा सदस्यलाई कर्जा किस्ताको बढि बोझ हो कि, परियोजना फेल, परिवारिक तालमेल नभएको कुरा पता लगाई सोही अनुसार समस्याको समाधानको लागि आवश्यक समुह केन्द्रमा छलफल गर्ने ।

– समुहले कर्जा लगानी गरेको समुहले नै असुली गर्नुपर्छ भन्ने कुराको बोध गराई समुहलाई असुलीको लागि आवश्यक पहल गर्न अनुरोध गर्ने ।

– डिफल्टर सदस्यको घरपरिवारहरु सहित सामुहिक छलफल गरि निकासको बाटो खोज्ने ।

– यदि कर्जाको बोझ बढि भएको खण्डमा कर्जालाई फलेक्जिवल अर्थात सानो किस्ता बनाई किस्ता तिराउन सकिएमा सदस्यलाई राहत पुगेको अभास हुन्छ ।

– परियोजना फेल भएको खण्डमा केन्द्रका सदस्य तथा परिवारको जिम्मेवारीमा थप कर्जा प्रवाह गरि व्यवशायलाई पुनरुत्थान गर्न, गराउनमा सहयोग गर्ने ।

– सदस्यलाई दैनिकी, सप्ताहिक सानो रकम जम्मा गर्न, गराउन प्रोत्साहन गर्ने ।

– डिफल्टर सदस्यहरुको ए, बी र सी वर्गमा वर्गिकरण गर्ने, ए वर्ग पैसा नभएर नतिर्ने कति जना, बी वर्ग पैसा भएर मन नभएर नतिर्ने कतिजना र सी वर्ग भनेको पैसा पनि नभएको तिर्ने मन पनि नभएको कति जना त्यसको वर्गिकरण गरि सोही अनुसार असुलीको लागि पहल गर्ने ।

– डिफल्टर सदस्यको वर्गिकरण पश्चात एक्लै कर्मचारीबाट ताकेता गर्ने सुची, शाखाको टिमबाटै ताकेता गर्ने सदस्यको सुची, पुरै मास शाखा र समुह टिमसहित ताकेता गर्नेको सुची बनाई ताकेता तथा फलोअपको प्रकृया अगाडी बढाउने ।

– डिफल्टर सदस्यको घरपरिवार र आम्दानीमा संलग्न व्यक्तिहरुसँग आवश्यक छलफल गर्ने कर्जा किस्ता नतिरेमा लिगल कुराहरु के के हुनसक्छ त्यसको जानकारी गराउने । जस्तो सीआइबीमा खराब रेकर्ड देखिएमा अन्य लघुवित्त वित्तीय संस्थाबाट कर्जा नपाउन सकिने, कालोसुचीमा सिफारिस गर्दा पर्न सक्ने असर पासपोर्ट तथा विदेश उडानमा समेत रोक लाग्न सक्ने, बैंकिग कसुर अन्तर्गत कानुनी अन्य उपचारहरु हुनसक्ने कुराहरुको बारेमा परिवारलाई जानकारी गराउने ।

– भाखा नाघेका कर्जाहरु १ प्रतिशत, ५ प्रतिशत, २५ प्रतिशत, ५० प्रतिशत र १०० प्रतिशतको लिष्ट तयार गरि सकेसम्म ५ प्रतिशत अर्थात सुक्ष्म निगरानीमा जान नदिई समाधानको लागि पहल गर्ने । किनकि १ किस्ता तिर्न नसक्नेबाट २ तथा ३ किस्ता एकमुष्ट तिर्न, तिराउन अलि कठिनाई हुन्छ कथमकदाचित ५ प्रतिशतमा गएपनि ९० दिन अगावै वा निष्कृृय कर्जाको प्रथम स्टेप अर्थात २५ प्रतिशत कर्जा नोक्सानी खर्च नगर्दै समाधानको पहल गरिनु पर्छ जसले गर्दा शाखाको कर्जा नोक्सानी खर्च त्यति बढदैन र नाफा नोक्सानमा पनि त्यति ठुलो असर पर्दैन ।

– दिनमा नभेटने सदस्यहरुलाई साझँ केन्द्र प्रमुख र अभिभावक सहित भेट्नको लागि प्रयास गर्ने । कहिले काही साझँपनि नभेटनेलाई बिहान ५ तथा ६ बजे नै कार्यालय नपुग्दै सदस्यको घरमा गई भेट्न प्रयास गर्ने र समस्या सामाधानको लागि पहल गर्ने ।

– सदस्यलाई इमोशनल कुराहरु जस्तो किस्ता नतिरेमा मेरो जागिर जान्छ मेरो परिवारको बिच्चली हुन सक्छ, म कसरी कार्यालयमा जाउँ, तपाई नै शाखा प्रमुख, अनुगमन अधिकृतसँग कुराहरु गर्नु भनेर फोन लगाई शाखा प्रमुखबाट कुरा गराउने ।

– धनजमानी बसेका व्यक्तिलाई ताकेता गर्ने र तपाई दोस्रो ऋणी हो सदस्यले कर्जा तिर्नुभएन भने तपाईंले नियमानुसार तिर्नुपर्ने हुन्छ भनेर जानकारी गराउने ।

– सिआइबीमा अन्य लघुवित्तको कर्जा तिरेको रेकर्ड देखाई अन्यको तिर्ने हाम्रो किन नतिर्ने भनेर प्रश्न गर्ने ।

– ताकेता गर्दा ताकेता रजिष्टरको अनिवार्य प्रयोग गर्ने ।

– ताकेता गर्दा फलानो मितिमा तिर्छु भन्ने सदस्यहरुलाई लिखित कबुलियतनामा गराउने ।

– १ जनाले अन्यको कर्जा चलाएको व्यक्तिलाई धितो कर्जालिई अन्यको कर्जा चुक्ता गरिदिन आवश्यक उत्प्रेरणा गर्ने ।

–ऋणी तथा धनजमानीलाई कर्जा किस्ता तिर्न लिखित पत्राचारहरु प्रथम पटक ७ दिने, दोस्रो पटक १५ दिने र तस्रो पटक २१ दिने लिखित ताकेता गर्ने ।

– केन्द्रमा गार्जियन बैठक गर्ने, जनप्रतिनिधिहरु जस्तो मेयर, वडाध्यक्ष, वडासदस्यहरुको रोहवरमा अन्तरकृया गर्ने, हाल गापा, नपाको न्यायिक समितमा छलफल तथा निर्णय गर्ने ।

– लिखित पत्राचार ३ पटक गरिसकेपछि पनि किस्ता सुचारु वा कर्जा चुक्ता नगर्ने सदस्यहरु धनजमानीलाई पत्रिमामा तिनपुस्ते विवरण प्रकाशनको नमुना सहित पुनः पत्राचार गर्ने ।

– महाअटेरी सदस्यहरुलाई तिनपुस्ते पत्रिकामा विवरण प्रकाशन गर्ने तथा गापा नप तथा वडा कार्यालयहरुमा समेत ३ पुस्ते विवरण प्रकाशन गर्ने ।

– भागेको सदस्यहरुलाई भागेको स्थान पता लगाउने र नजिकको शाखा कार्यालयहरुसँग समन्वय गर्ने ।

– भागेको सदस्यहरुको माइती नातेदार साथी तथा सदस्यको चिनजान भएको व्यक्तिहरुसँग भेटघाट गर्ने तथा सदस्यको हालको बसाईको बारेमा सुचनाहरु पता लगाउने ।

– भागेको सदस्य तथा निजको केवाईसीमा भएको परिवारको सदस्यहरुको फेसबुक, म्यासेन्जर, इमो तथा वाटसएपबाट म्यासेज पठाई सम्पर्कको लागि प्रयास गर्ने ।

– कर्जा असुली हुन्छ,असुली गर्छौं, असुली भएको छ भनेर उच्च मनोबलका साथ आशावादी भई लाग्ने ।

– भाखा नाघेको कर्जा असुलीको कुनै ठोस फरमुला नभई फलोअप, फलोअप एण्ड फलोअप नै हो, उत्प्रेरणा, उत्प्ररेणा एण्ड उत्प्ररेणा नै हो त्यसो भएको हुनाले पटक पटक फलोअप तथा उत्प्ररेणालाई निरन्तरता दिने सके जोखिम कर्जा व्यवस्थापन गर्न सकिन्छ ।

माथि उल्लेखित बुँदाहरुलाई प्रयोगमा ल्याउन सकेमा जोखिम कर्जा व्यवस्थापन गर्न केही हदसम्म सहयोग पुग्छ ।

(लेखक सिताराम पण्डित हाल साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय, गोरखामा नायब महाप्रबन्धक छन् ।)

One comment on "कर्जा जोखिम व्यवस्थापन गर्ने महत्वपूर्ण टिप्सहरु"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.