‘मेरो नियुक्तिमा सरकारले ऐतिहासिक निर्णय गरेको छ, कुनै सेटिङ छैन’

  २०७८ फागुन २३ गते १५:१७     विकासन्युज

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले सोमबार पहिलो पत्रकार सम्मेलन गरे । फागुन ५ गते सेबोनको अध्यक्षमा नियुक्त भएका हमालले फागुन ८ गते बोर्डको अध्यक्षका रुपमा कार्यभार सम्हालेपछि यो उनको पहिलो पत्रकार सम्मेलन थियो ।

पत्रकार सम्मेलनमा उनले धितोपत्र बजारको विकास र विस्तारमा आफ्नो कार्यकाल सफल बनाउने आश्वासन दिए । आफु अनुभवी र नेपाली सेयरबजारलाई राम्ररी बुझेको दावी गर्दै उनले आगामी दिनदेखि नेपाली सेयर बजारमा अनियमितता तथा सेयर बजारमा हुने चलखेलहरुको अन्त्य गर्ने दावी समेत गरे ।

१२ बजेदेखि सुरु भएको पत्रकार सम्मेलन साढे १ बजेसम्म रह्यो । साढे एक घण्टाको समय पत्रकारको प्रश्न र हमालको जवाफमा सीमित भयो । १० मिनेट जतिको समयमा हमालले आफ्ना योजना सुनाएका थिए ।

पत्रकार सम्मेलनमा हमालले पुँजी बजारको विस्तार, विकास र विविधिकरणमा महत्वपूर्ण ध्यान दिनका लागि अध्ययन गर्ने भन्ने धारणालाई दोहोर्याई रहे । उनले कार्यक्रममा खासै नयाँ कुरा बोलेनन् । उनले पत्रकार सम्मेलनमा बोलेका विषयहरु उनले यसअघि पनि बोलिसकेका छन् ।

कार्यक्रमको अन्तिममा एक सञ्चारकर्मीले हमाललाई एउटा प्रश्न गर्न खोजे । धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अब खाजा खाँदै कुरा गरौंला प्रश्न गर्ने समय पनि सकियो, हलको पनि आफ्नै समय हुन्छ भनेर ‘कन्भिन्स’ गर्न खोजे ।

तर, ती सञ्चारकर्मीले आफुले प्रश्न गर्न पाउनु पर्ने अडान राखे । सो समयसम्म हलमा सीमित सञ्चारकर्मी मात्रै थिए । अधिकांश हलबाट बाहिरिसकेका थिए । ती सञ्चारकर्मीले सुरुदेखि प्रश्न गर्न खोजेको र प्रश्न गर्ने पालो नै नआएको भनेर गुनासो गरेपछि अध्यक्ष हमालले प्रश्न गर्न इशारा गरे ।

उनले प्रश्न गरे, ‘तपाईंमाथि करोडौंको कमिशन खुवाएर बोर्डको अध्यक्ष भएको र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनकै लागि अध्यक्ष बनाइएको आरोप पनि छ,  यसप्रति तपाईंको धारणा के छ ?

ती सञ्चारकर्मीको प्रश्नपछि हमाल गम्भीर देखिए । उनले हलमा हल्ला गरिरहेका सहभागीहरुलाई शान्त हुन आग्रह गर्दै भने, ‘सबै साथीहरु सुन्नुहोस्, महत्वपूर्ण प्रश्न आएको छ, भन्नेले जेसुकै भनेपनि आफ्नो काम गर्ने हो, मलाई लाग्छ यस पटक सरकारले महत्वपूर्ण र ऐतिहासिक निर्णय गरेको छ, अन्तर्राष्ट्रिय एक्सपर्टीज, टोटल्ली अर्को क्षेत्रबाट आएको मान्छेलाई अवसर दिएको छ, यो व्यक्तिले मोर्टेकमा फेयरनेसको वातावरण सिर्जना गर्न सक्छ भन्ने विश्वास साथ मलाई नियुक्त गरेको छ, सरकारको विश्वासलाई पूरा गर्न काम गरेर देखाउने हो ।’

यस्तै, उनले सेटिङ्गमा आएको भन्ने व्यक्तिहरुको पछाडि आफु नलाग्ने पनि बताए । उनले व्यक्तिको एक्सपर्टीज हेरेर नै यस्ता खालका शंकाहरु गर्नु पर्ने धारणा राखे ।

‘यहाँले भने जस्तै यो मान्छे सेटिङमा आएको हो भन्ने हल्ला हुन पनि सक्छ, त्यसमा मेरो भन्नु केही छैन, सरकारले मेरो एक्सपर्टीजलाई बुझेर मलाई नियुक्त गरेको छ, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनका लागि ल्याइएको हो भन्ने कुरा पनि सुनियो, यस्ता यस्ता हल्ला र आशंकाहरुको पछाडि लाग्ने होइन काम गरेर देखाउने हो,’ अध्यक्ष हमालले भने ।

उनले प्रश्नको पुनः जवाफ दिँदै नयाँ स्टक एक्सचेञ्जको विषयमा पनि सेबोनले अध्ययन गरिरहेकोले अहिले नै लाइसेन्स दिइन्छ वा दिइँदैन भन्न हतार हुने बताए ।

कार्यक्रममा उनले आफुले सेयर बजारमा हुने चलखेलको अन्त्यका लागि सधैं लागि रहने बताए । उनले कार्यक्रममा ब्रोकरहरुले अहिलेको व्यवस्था अनुसार काराबार भएको दुई दिनपछि (टि प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

One comment on "‘मेरो नियुक्तिमा सरकारले ऐतिहासिक निर्णय गरेको छ, कुनै सेटिङ छैन’"

  • सर्बसाधारण लगानीकर्ता says:

    ब्रोकरलाई कारबाही गर्ने चेतावनी दिएको भोलिपल्ट ब्रोकरको धम्कि आइसक्यो
    अब हेरौंला आफ्नो अडानमा कति सम्म कायम रहनु हुनेछ र लुट्न पाउनु पर्छ भन्नेहरुलाई डण्डा लगाउन सक्नु हुन्छ कि हुदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.