नेपाल बैंकले माग्यो ठूलो संख्यामा नयाँ कर्मचारी, प्लस टु पढेकाले पनि आवेदन दिनसक्ने

  २०७८ फागुन २० गते १०:५१     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडले रिक्त रहेको स्थानका लागि ठलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै कनिष्ठ सहायकदेखि सहायक प्रबन्धक तहसम्मका लागि ३ सयभन्दा बढी कर्मचारी माग गरेको हो ।

लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि स्वीकृत दरबन्दीका आधारमा बैंकले रिक्त रहेको ३०३ जना नयाँ कर्मचारीका लागि आवेदन मागेको हो।

बैंकले मागेको विभिन्न पदका लागि प्लस टु उत्तीर्णदेखि स्नातकोत्तर सँगै केही पदका लागि अनुभवी कर्मचारी माग गरेको हो ।

बैंकले जारी गरेको सूचना अनुसार ६२ जना सहायक प्रबन्धक, १४८ जना सहायक र ९१ जना कनिष्ठ सहायकका लागि दरखास्त आह्वान गरेको छ। यस्तै, सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी) मा ४ जना माग गरेको हो।

बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत रूपमा माग गरेको छ। १४८ जना सहायक मागेको बैंकले कनिष्ठ सहायकमा ९१ जना माग गरेको छ।

बैंकले प्रदेश १ र मधेसमा ३१/३१ जनाका लागि कोटा छुट्याएको छ । यस्तैगरी, बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २र२ जना सहायक स्तरका कर्मचारी माग गरेको छ । सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ ।

बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ । जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ।

इच्छुक र योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ। बैंकले केन्द्रीय कार्यालय र प्रदेशगत कार्यालयका लागि आवेदन मागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.