ब्लगः नेपालका कम्युनिष्ट नेताले जानेका र नजानेका कुराहरु

  २०७८ फागुन ६ गते १०:१९     प्रभातजी

एक मित्रले केहीअघि एउटा जोक्स सुनाएका थिए । तपाईं पनि सुन्नुस् न ।

एक विवाहित जोडी मिलेर बसेको रहेछ । उनीहरुको मिल्ती तथा माया–प्रेम देखेर अरु पनि प्रभावित भएछन् । अनि एक छिमेकीले गएर सोधेछ– तपाईंहरुको मायाप्रेम गज्जवको छ, कहिल्यै झगडा वा ठास्सठुस्स परेको देखिदैन । कसरी यस्तो मिल्ती सम्भव भयो ?

श्रीमानले जवाफ दिएछ– हामी मिलेर काम गर्छाैं । ठूलो र गाह्रो काम म गर्छु, सानातिना र सजिला कामजति यिनी (श्रीमतीतिर देखाउँदै) गर्छिन् । त्यसैले हाम्रोबीच समस्या छैन ।

प्रश्नकर्ताले थप सोधेछ– ठूलो र गाह्रो वा सानातिना र सजिलो भनेको चै कस्तो कस्तो काम हो नि ?

श्रीमानले फेरि जवाफ दिएछ– खाना बनाउने, घरको सरसफाई, लुगा धुने, भाडा माझ्ने, अफिस गएर काम गर्ने, पाहुनापाच्छाको स्वागत गर्ने, परिवारका अरु सदस्यको ख्याल राख्ने, घरको टार्ने पुर्याउने, बालिनाली, बस्तुभाउ हेर्ने जस्ता सानातिना र सजिला काम यिनी गर्छिन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुनु हुन्थ्यो कि हुन्नथ्यो, नासाले मंगलग्रहमा बस्ती बसाउन सक्ला कि नसक्ला, नयाँ लोगो बनाउनु फेसबुकको लागि सही निर्णय सावित भयो कि भएन, कटप्पाले बाहुबलीलाई किन मारे, महान फुटबलर मेसी हुन कि रोनाल्डो भन्ने जस्ता ठूलो र गाह्रो विषयमा सोच्ने काम म गर्छु । त्यसैले हामीबीच समस्या छैन ।

नेपालका कम्युनिष्ट नेता पनि त्यस्तै छन् । ठूला विषयमा उनीहरु जानकार छन् । अर्थात ठूला काम उनीहरु गर्छन् भन्दा पनि हुन्छ । सानातिना वा झिनामसिना कुरामात्रै उनीहरुलाई थाहा छैन । नेपालीलाई आवश्यक पर्ने जनजिविका वा दैनिकीसँग सम्बन्धित विषय नेपालका कम्युनिष्टको चासोका विषय जस्तो लाग्दैन । उनीहरु सैद्धान्तिक जस्ता देखिने विषयको पट्यारलाग्दो वहसमा लागेका हुन्छन् ।

नेपालका कम्युनिष्ट नेताहरुलाई थाहा भएका र नभएका केही विषय यसपालीको ब्लगमा उतार्ने प्रयास गरेको छु ।

– स्टालिनले कुन स्टाइलका जुँगा राख्थे भन्ने थाहा छ, विपी राजमार्ग कुन स्टाइलमा बनेको छ भन्ने थाहा छैन ।

–बर्लिनको पर्खालको उचाई थाहा छ, मध्यपहाडी राजमार्गको लम्बाई थाहा छैन ।

– लेलिनले तेस्रो कम्युनिष्ट अन्तराष्ट्रिय बनाउनु किन आवश्यक थियो भन्ने थाहा छ, सिद्धबाबामा तत्काल सुरुङमार्ग किन बनाउनु पर्छ भन्ने थाहा छैन ।

– माक्र्स र एंगेल्सको सम्बन्धबारे थाहा छ, निजगढ विमानस्थल र फास्ट ट्रयाकको सम्बन्धबारे थाहा छैन ।

– भेनेजुएलाको निर्वाचनको वैधतामाथि किन प्रश्न उठ्यो भन्ने थाहा छ, राष्ट्रिय गौरबका आयोजना निर्माणमा किन ढिलाई हुन्छ भन्ने थाहा छैन ।

– माओले लुओ यक्सिनोसँगको विवाहलाई किन अस्वीकार गरे भन्ने थाहा छ, इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान कर्मचारी संचय कोषले किन अस्वीकार गर्यो भन्ने थाहा छैन ।

– संसारमा साम्यवादको आधार कसरी बनाउने भन्ने थाहा छ, बुढीगण्डकी जलविद्युत आयोजना कसरी बनाउने भन्ने थाहा छैन ।

– क्युबाका कम्युनिष्टहरुलाई कसरी सहयोग गर्ने भन्ने थाहा छ, मेलम्चीको पानी कसरी छिट्टै काठमाडौं ल्याउने भन्ने थाहा छैन ।

– संसारभर नै समाजवादको आधार तयार पार्न कम्युनिष्टहरु कसरी संवेदनशील बन्नुपर्छ भन्ने थाहा छ, एमसीसीको कारण नेपालको विग्रिएको कुटनीतिक सम्बन्ध पुनः स्थापित गर्न कसरी संवेदनशील हुने भन्ने थाहा छैन ।

– लेलिनलाई उनकी आमाले किन चुरोट नखानु भनेकी थिइन् भन्ने थाहा छ, काठमाडौंको चक्रपथ र सूर्यविनायक–धुलिखेल सडक विस्तार किन रोकियो भन्ने थाहा छैन ।

– संसारभरका मजदुर एक हौं भन्ने थाहा छ, नेपालमा शिक्षा र स्वास्थ्य महंगो भएर सर्वसाधारणको पहुँच बाहिर पुगिसकेको थाहा छैन ।

– चिनियाँ सास्कृतिक क्रान्तिको बेला ग्याङ अफ फोरमा को–को थिए भन्ने थाहा छ, राष्ट्रिय गौरबका आयोजना कुन कुन हुन भन्ने थाहा छैन ।

– उत्तर कोरियालाई विश्व नाकाबन्दीबाट कसरी सहयोग गर्ने भन्ने थाहा छ, मधेश प्रदेशमा गर्मीमा लू र जाडोमा शित लहरबाट सर्वसाधारणलाई कसरी जोगाउने भन्ने थाहा छैन ।

नेपालका कम्युनिष्टलाई थाहा भएका र नभएका कुराहरुको लिष्ट निकै लामो हुन सक्छ । अहिलेलाई यति नै ।

प्रभातजीका थप ब्लग

ब्लगः सेवोनको अबको अध्यक्ष भिष्म ढुंगाना कि रेवत कार्की ?

सामाजिक संजाल हेरेर सेयर किन्नेहरुका नाममा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.