सेबोन अध्यक्ष बन्न चाहने ५ प्रतिस्पर्धीलाई के-के प्रश्न सोधे डा. विश्व पौडेलले ?

  २०७८ फागुन ५ गते १४:०५     विकासन्युज

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) नेतृत्वविहिन छ । आचरण विपरित काम गरेको अभियोगमा सरकारले तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट हटाएर नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाइसकेको छ ।

सरकारले अध्यक्ष छनोट गर्नको लागि उनै व्यक्तिहरु रहेको समिति २ पटक गठन गर्यो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा गठित समितिप्रति सत्ता गठबन्धन माओवादी केन्द्र निकट कर्मचारीले विरोध जनाए । त्यसपछि सरकारले माओवादी कर्मचारीको माग बमोजिम डा. पौडेलकै संयोजकत्वमा अर्काे समिति गठन गरेको थियो ।

समितिले अध्यक्षको लागि पनि दुई पटक नै आवेदन मागेको थियो । पहिलो चरणमा १२ जनाले आवेदन दिएका थिए भने दोस्रो पटकमा थप ३ जना बढेर आवेदन दिनेको संख्या १५ पुगेको थियो ।

छनोट समितिको संयोजक डा. पौडेल छन् भने सदस्यहरुमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञका रुपमा नेप्सेका पूर्व अध्यक्ष जीवनाथ धिताल छन् ।

समितिले १५ आवेदकहरुमध्ये ‘शैक्षिक योग्यता, अनुभव, तालिम र व्यवसायिक कार्ययोजनाको परीक्षाको प्राप्ताङ्कको प्राथमिकताको आधारमा’ ५ जनाको संक्षिप्त सुची तयार पारेको थियो । पाँच जनाको सुचीमा पर्नेहरुमा कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल, डा. गोपालप्रसाद भट्ट, निरज गिरी र रमेशकुमार हमाल थिए ।

अध्यक्ष छनोट समितिले यी ५ जना आवेदकहरुसँग फागुन १ गते व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता लिएको थियो । सो अन्तरवार्तामा संयोजक डा. पौडेलले अहिले बजारमा चलेका हल्लासँग सम्बन्धित प्रश्न नै सोधेका सहभागीहरुले जानकारी दिए ।

‘बैंकलाई ब्रोकर लाइसेन्स दिनु हुन्छ कि दिनु हुन्न भन्ने प्रश्न एउटा थियो, नयाँ स्टक एक्स्चेञ्ज थप्नु पर्छ कि पर्दैन भन्ने प्रश्न पनि सोधिएको थियो, बोर्डमा धेरै भ्रष्टाचार छ भन्ने कुरा बाहिर आएको छ, त्यसको नियन्त्रण के कसरी गर्नुहुन्छ, नेपालको पुँजी बजारको लागि नयाँ प्रडक्ट के कस्ता हुन सक्छन् र कसरी ल्याउने सोच बनाउनु भएको छ भन्ने जस्ता प्रश्न सोधिएको थियो,’ सो प्रस्तुतीकरण तथा अन्तरवार्तामा सहभागीहरुले भने ।

डा. पौडेलले केही आवेदकहरुसँग भने राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन प्रकृतिको सेयरधितो कर्जाको ४ करोड र १२ करोडको सीमा ठीक हो कि होइन भनेर पनि सोधका थिए ।

सम्बन्धित समाचार

सेवोन अध्यक्षका ३ प्रत्यासीः घरजग्गा, सेयर बजारदेखि बैंकसम्मका विज्ञ, कसको सम्भावना बलियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.