एक दशक बढी विदेशको बसाईंपछि स्वदेश फर्केर कृषिमा लागेका म्यादेली यूवाको कथा

  २०७८ माघ २२ गते १०:५८     विकासन्युज

सांकेतिक तस्वीर

गलेश्वर । दश वर्षको जापान बसाइलाई बीट मारेर आफ्नै देशमा फर्किएका म्याग्दीको मङ्गला गाउँपालिकाका कृष्ण पौडेल, १६ वर्ष मलेशिया बसेर गाउँ फर्किएका बेनी नगरपालिका २ का धु्रव थापा, लामो समय कोरियामा रोजगारी गर्नुभएका डडुवाका कृष्ण बानियाँ स्वदेश फर्केर व्यावसायिक कृषिमा लागेका छन् ।

लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै कृषि क्षेत्रमा लगानी गरेर मनग्य आम्दानी गर्न म्याग्देली युवाहरु सफल भएका छन् । विदेशबाट फर्केका युवाहरु आधुनिक प्रविधि र साधन स्रोतको प्रयोग गरी व्यावसायिक रुपमा नै कृषिमा लागेपछि गाउँमा रहेका युवाहरु पनि कृषि पेशाप्रति आकर्षित भएका छन् ।

जिल्लाका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहहरुमा पछिल्लो समय व्यावसायिक कृषि फस्टाउँदै गएको स्थानीय तहका कृषि प्राविधिकहरुले बताएका छन् । विगत दुईवर्ष यता म्याग्दीमा २८ जना युवाहरु विदेशबाट फर्केर व्यावसायिक कृषिमा लागेका छन् । ती मध्येका एक हुन् मङ्गला गाउँपालिकाका कृष्ण पौडेल ।

जापानमा १० वर्ष विताएका मङ्गला गाउँपालिका– २ तल्लो डडुवाका युवा पौडेलले व्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन् । परम्परागत शैलीको खेती र पशुपालनलाई विस्थापित गर्दै लकडाउनको समयमा कृषि र पशुपालनलाई व्यावसायिक आम्दानीको स्रोतको रुपमा अघि बढाएका हुन् ।

टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मबाट मकै, कोदो खेती रहेको बारीलाई विस्थापित गरेर चारसय सुन्तला लगाएका छन् भने करिव दुईसय बोटबाट यस वर्ष दाना उत्पादन भएको कृषक पौडेलले बताए । गतवर्ष उत्पादन भएका सुन्तला काठमाण्डौँ पु¥याएका कृषक पौडेलले यस वर्ष उत्पादन भएका सुन्तला पोखरा पु¥याउन व्यापारी घरमै आएपछि कृषक पौडेल खुशी छन् । गत वर्ष सुन्तला खेतीबाट करिव एकलाख आम्दानी गरेका पौडेलको यस वर्ष आम्दानी बढ्ने अनुमान छ ।

सुन्तला उत्पादन वर्षैपिच्छे नयाँ बोटहरुमा फल्र्दै गएपछि आम्दानी पनि बढेको छ । मकै कोदो लगायतको खेतीलाई विस्थापित गरेर सुन्तलासँगै गोलभेँडा, बन्दाकाउली लगायतको तरकारी खेतीबाट मात्रै मासिक रुपमा रु १५ हजार भन्दा बढी आम्दानी गरेका छन् । पौडेलले फलफूल तथा तरकारी खेतीलाई आवश्यक फलका लागि व्यावसायिक रुपमा उन्नत जातका बाख्रापालन गरेका छन् ।

करिव २० लाख लगानीमा विगत २ वर्षदेखि ४० वटा उन्नतजातका बोयर र स्थानीय बाख्रा पालन गरेको उनले बताए । क्रस बोयर पाठापाठी उत्पादन गरेर बिक्री गर्ने योजनासहित आधुनिक किसिमको खोर निर्माण गरेको कृषक पौडेलको भनाइ रहेको छ । उनकाे व्यावसायिक कृषि तथा पशु फार्मलाई ब्यवस्थित गर्न मङ्गला गाउँपालिकाले रु २ लाख सहयोग गरेको छ भने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट घाँस काट्ने उपकरण अनुदान पाएका छन् ।

पौडेलले एकजनालाई रोजगारी दिएका छन् भने बुवा तेजराज र आमा टीकाकुमारी पौडेलले पनि सहयोग गरेका छन् । स्थानीय सरकारले घर नजिक कृषि सडक पु¥याएपछि कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल र खशी बोका बिक्रीका लागि बजार पठाउन सहज भएको छ ।

त्यसैगरी बेनी नगरपालिका २ ज्यामरुककोटका धु्रब थापाले पनि १६ वर्ष मलेशियामा बसेर गाउँ फर्केपछि गरेको व्यावसायिक तरकारी खेतीले उनको जीवनमा हरियाली फर्काएको छ । तरकारी बेचेर मात्रै मासिक ५० हजार भन्दा बढी आम्दानी गर्दै आएका थापाले करिब ७ रोपनी बारीमा मौसमी र बेमौसमी प्रजातिका विभिन्न तरकारीहरु लगाएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.