पूँजीमा मुक्तिनाथले टप्दा ज्योति, गरिमा र महालक्ष्मीबीच रस्साकस्सी, बोनस सेयरपछि कुनको कति बढ्यो ?

  २०७८ माघ ११ गते १६:५४     विकासन्युज

काठमाडौं । राष्ट्रियस्तरका ९ विकास बैंकको बोनस सेयर वितरणपछि चुक्ता पूँजी ४ अर्ब १४ करोड ५७ लाख रुपैयाँले बढेको छ । विकास बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनस सेयरपछि बैंकहरुको चुक्ता पूँजी ४ अर्ब १४ करोड रुपैयाँले बढेर ३२ अर्ब ३२ करोड १८ लाख रुपैयाँ पुगेको हो । जुन राष्ट्रियस्तरका ९ विकास बैंकको मात्रै चुक्ता पूँजी हो ।

यसअघि ९ वटै विकास बैंकहरुको चुक्ता पूँजी २८ अर्ब १७ करोड ६१ लाख रुपैयाँ थियो । बोनस सेयर वितरणपछि ९ वटै बैंकहरुको पूँजी बढेको हो । हालसम्म चुक्ता पूँजीमा सबैभन्दा बलियो मुक्तिनाथ विकास बैंक देखिएको छ । मुक्तिनाथ विकास बैंकको कुल चुक्ता पूँजी ४ अर्ब ८१ करोड १६ लाख रुपैयाँ रहेकोमा अब बोनस सेयरपछि बैंकको चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७ लाख रुपैयाँ पुग्नेछ । जुन ९ वटै राष्ट्रियस्तरका विकास बैंकहरुको तुलनामा सबैभन्दा बढी हो ।

यस्तै, पूँजी दोस्रोमा ज्योति विकास, तेस्रोमा गरिमा र चौथोमा महालक्ष्मी विकास बैंक रहेको छ । यी बैंकहरुको पूँजी बोनसपछि क्रमशः ४ अर्ब २६ करोड ७७ लाख, ४ अर्ब २६ करोड ४ लाख र ४ अर्ब १ करोडढ ७७ लाख पुगेको छ । पूँजीमा यी तीन वटा विकास बैंकको दह्रो प्रतिस्पर्धा देखिएको छ ।

यस्तै, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच पुँजी वृद्धिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । यी चार वटै विकास बैंकको पूँजी ३ अर्ब रुपैयाँमाथि छ ।

बोनस सेयर वितरणपछि यी चारवटा विकास बैंकहरुको चुक्ता पूँजी क्रमशः ३ अर्ब ७८ करोड १ लाख, ३ अर्ब २८ करोड ४३ लाख, ३ अर्ब १४ करोड २६ लाख र ३ अर्ब १ करोड ७ लाख रुपैयाँ पुग्नेछ । मितेरी डेभलपमेन्ट बैंकको कुल ९० करोड ३५ लाख रुपैयाँ पुगेगेको छ । जसको शाखा विस्तार ५ जिल्लामा मात्रै सीमित छ ।

हालको चुक्ता पूँजीको तुलनामा सबैभन्दा बढी पूँजी मुक्तिनाथ विकास बैंकको नै बढेको छ । त्यसपछि महालक्ष्मीको ६६ करोड, गरिमाको ५८ करोड, कामना सेवाको ५९ करोड, ज्योतिको ४२ करोड र लुम्बिनी विकास बैंकको ३७ करोड रुपैयाँ चुक्ता पूँजी बढेको छ ।
यस्तै, साँग्रिला डेभलपमेन्ट बैंकको २७ करोड र मितेरी विकास बैंकको १० करोड रुपैयाँ बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.