अनुगमन कार्यविधि बनाउन काठमाडौं महानगरले बनायाे ५ सदस्यीय समिति

  २०७८ माघ ११ गते १६:००     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुगमन कार्यविधि मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन गरेकाे छ । अनुगमनको प्रक्रियालाई सरल, सहज, नतिजामुखी र व्यवस्थित गर्न कार्यविधि तयार गर्न उक्त समितिको गठन गरिएको महानगरले जनाएको छ ।

मंगलबार महानगरकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरुको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

योजना अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा निर्देशकहरु शिवराज अधिकारी (पीएचडी) बसन्त आचार्य, रामबहादुर थापा र बलराम त्रिपाठी रहेका छन् ।

बैठममा उपमेयर खड्गी श्रेष्ठले अनुगमनबाट पूर्वाधार, बजार, आर्थिक तथा सामाजिक क्षेत्रमा परिवर्तन देखिनु पर्ने बताइन् । यस्तै बैठकमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले, अनुगमनको उद्देश्य स्पष्ट हुनु पर्ने बताउँदै मापन गर्न सकिने सूचक र अनुगमनपछिको मूल्याङ्कनबाट परेको प्रभाव हेर्न सकिने गरी काम गर्नुपर्ने बताए ।

पूर्वाधार निर्माण, दैनिक खाद्यान्न, तरकारीलगायत उपभोग्य बस्तुको भण्डारण, मूल्य र बजार, गैरसरकारी संघ संस्थाहरुले गर्ने कार्यक्रमहरु, महानगरमा दर्ता हुने उजुरी तथा दर्तासँग सम्बन्धित विषय, फैसला कार्यान्वयनको अवस्था, स्वास्थ्य शिक्षा, सहकारी महानगरको अनुगमन क्षेत्रमा पर्छन् ।

त्यस्तै जनजीवनलाई सहज बनाउन मुद्दा नपरी हेर्नुपर्ने विषय, सार्वजनिक सम्पत्तिको स्थानान्तरण, हस्तान्तरण, संरक्षण र उपयोग, आफैँले बनाएको कानुन कार्यान्वयनको अवस्था, ऐनले दिएका जिम्मेवारी उपयोगको अवस्था महानगरले गर्नुपर्ने अनुगमनका क्षेत्रहरु हुन् ।

यी क्षेत्रहरु हेर्न एउटै टोलीलाई सम्भव नभएकोले राजनीतिक र प्रशासनिक अनुगमन तथा विभागीय अनुगमनलाई व्यवस्थित गर्न कार्यविधि आवश्यक भएको महानगरले जनाएकाे छ । महानगरपालिकाले गत मंसिर १५ गते अनुगमनसँग सम्बन्धित विभागका प्रमुखहरुसँग छलफल गरेकाे थियो ।

महानगरले ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७’ जारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.