एकैदिन साढे ३ अर्बले घट्यो सेयर कारोबार, एशियन लाइफको सर्वाधिक किनबेच

  २०७८ माघ ११ गते १५:३५     विकासन्युज

काठमाडौं । मंगलबार एकैदिन साढे ३ अर्बले सेयर कारोबार घटेको छ । सोमबारको तुलनामा मंगलबारको सेयर कारोबार ३ अर्ब ४९ करोड रुपैयाँले घटेको हो ।

सोमबार ८ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार भने ५ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबार कारोबार रकमसँगै कारोबार कित्ता पनि घटेको छ । सोमबार १ करोड ७० लाख कित्ता किनबेच भएको बजारमा मंगलबार ९७ लाख ८४ हजार ६५१ कित्ता मात्रै सेयर खरिद बिक्री भएको छ ।

कारोबार घटेको बजारमा सबैभन्दा बढी कारोबार गर्नेमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको एकैदिन २६ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता १३२२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो र तेश्रो स्थानमा क्रमशः अपि पावर र एनआईसी एशिया बैंक रहेका छन् । यी दुई कम्पनीको क्रमशः २२ करोड ८२ लाख र १९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११०६ रुपैयाँ पुगेको छ । त्यस्तै, बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४२१.१० रुपैयाँ पुगेको छ ।

समग्रमा नेप्से परिसूचक ५.५९ अंकले घटेर २८१५.०६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशतले घटी हो ।
बजारमा जीवन बीमा समूहबाहेक बाँकी समूह राताम्मे छन् । जीवन बीमा समूह भने ७२.१६ अंकले उकालो लागेको छ ।

मंगलबार सबैभन्दा बढी कृषि विकास बैंकको ऋणपत्रको भाउ घटेको छ । बैंकको ‘१०.३५ प्रतिशत कृषि बैंक ऋणपत्र २०८३’ को भाउ ८.३४ प्रतिशत अर्थात ९१ रुपैयाँले घटेर प्रति ऋणपत्र एक हजार रुपैयाँमा झरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.