‘मेरै साथी त हो भनेर कर्जा दिने मानसिकता हटाऔं, गलत प्रवृतिलाई बैंकमा छिर्नै नदिऔं’

  २०७८ माघ १० गते १६:२६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चिनेजानेका तथा आफन्त भएकै आधारमा कर्जा दिने प्रवृति हटाउन सुझाव दिएका छन् । सोमबार राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव कार्यक्रमममा आफ्नो धारणा राख्दै उनले आफ्नो आफन्त वा साथी भएकै आधारमा कर्जा दिने र माग्ने प्रवृतिप्रति सतर्क रहन सम्पूर्ण बैंकरहरुलाई सुझाव दिएका हुन् ।

‘धेरै मानिसमा बैंकको म्यानेजर मेरै साथी त हो भनेर १/२ लाख रुपैयाँ ऋण पाइहालिन्छ भन्ने भ्रम हुन्छ, कतिपय बैंकहरुले पनि दिएको भेटाउँछौं, तर एउटा म्यानेजरको सही निर्णयले वा सही मान्छेलाई कर्जा दिँदा देशले एउटा राम्रो उद्यमी पाउँछ, त्यसैले यसमा सतर्क रहनुहोला,’ गभर्नर अधिकारीले भने ।

साँच्चिकै व्यवसाय गर्ने मानिसले बैंकले दिने कर्जाले प्रोत्साहन हुने बताउँदै उनले बैंकहरुले पनि सही र गलत व्यक्ति छुट्याउन सक्नु पर्ने उनको भनाई छ । बैंकहरुले पब्लिकको पैसा चलाउने भएकोले गलत प्रवृति बैंकमा छिर्न दिन नहुने उनले बताए ।

उनले लगानीको प्राथमिकता र स्रोतको परिचालन सही रुपमा गर्न पनि बैंकहरुलाई सुझाव दिए । यस्तै, उनले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले एग्रेसिभ रुपमा व्यवसाय विस्तार नगर्न पनि सुझाए ।

‘पहिले कोरोनाको समयमा पनि हामीले आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने रणनीति लियौं, अर्थतन्त्रलाई टिकाउन हाम्रो महत्वपूर्ण भूमीका हुन्छ, अहिले एग्रेसिभ्ली जाने समय होइन, ब्रान्च खोल्दा वा सेवा विस्तार गर्दा नआत्तिनु होला, अफ्ठ्यारो समय आउँछ, सुरक्षित रुपमा अगाडि बढ्नु होला, म्यानेजरको काम नै म्यानेज गर्ने हो, राष्ट्र बैंक तपाईंहरुसँग नै छ,’ उनले भने ।

असहज अवस्थामा पनि बैंकहरुले बैंकिङ सेवा दिइरहेको बताउँदै उनले नेपाल राष्ट्र बैंकले पनि तरलताको चाप परिरहेको अवस्थामा विभिन्न मौद्रिक उपकरणहरु प्रयोग गरेर समस्याको समाधान गरिरहेको जानकारी गराए । उनका अनुसार गत भदौदेखि हालसम्म नेपाल राष्ट्र बैंक्ले ३१ खर्ब रुपैयाँको एसएलएफ सुविधा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.