कृषकलाई पेन्सन दिँदै बाँकेको नरैनापुर गाउँपालिका

  २०७८ माघ १० गते १४:००     विकासन्युज

राझाँ । व्यवसायिक भैँसीपालन गर्दै आएका नरैनापुर गाउँपालिका–५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग भएका छ ।

‘गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ’, ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै आएका उनले भने,’अब कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ ।’

बाँकेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादव सहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ । कृषक पेन्सन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको छ महीनामा १२ जना कृषकलाई छनौट गरी जनही दुई हजारका दरले कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामा चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी प्रति किसान दुई हजारका दरले कृषक पेन्सन कार्यक्रम शुरु भएको हो । कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ जना व्यावसायिक पशुपालक कृषक र ६ तरकारी खेती गर्ने किसानलाई छनौट गरी कृषक पेन्सन कार्यक्रम वितरण गरिएको छ ।

कार्यक्रमले आगामी वर्ष नरैनापुरका किसानका बीचमा अझ प्रतिस्पर्धाको भावना उत्पन्न भई गाउँपालिकालाई नै कृषि र पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्न मद्दत पुर्याउने विश्वास लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

‘गाउपालिकामा कृषि र पशुपालनको अपार सम्भावना छ’, उनले भने,’परम्परागत कृषि र पशुपालनमा विश्वास गर्दे आएका यहाँका किसानलाई आधुनिक कृषितर्फ आकर्षित गराउन पनि कृषक पेन्सन कार्यक्रम लागू गरिएको हो ।’

गाउँपालिकाको कृषि शाखाबाट छनौटमा पर्ने ६ जनामा सबै जना व्यावसायिक तरकारी खेती गर्दै आएका किसान परेका छन् । वडा नं. ५ मा १९ कठ्ठामा व्यावसायिक तकारी खेती गर्ने हस्मत अली साई, १४ कठ्ठामा तरकारी लाएका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नं ४ दौलतपुरका धनविर थारु, १० कठ्ठामा तरकारी खेती गर्ने वडा नं. २ निवासी रामसुरत मौर्य, सोही वडाकी आरती देवी मौर्य र ५ कठ्ठामा तरकारी खेती गर्दै आएकी वडा नं. १ की कमला तिवारीले कृषक पेन्सन प्राप्त गरेकी छिन् ।

यसैगरी पशुपालक किसानबाट दुई हजार कुखुरा पालन गर्दै आएका वडानं. ६ निवासी अमरलाल मौर्य, ५ गाई र ४९ वटा भैँसी पालेका वडा नं. ५ का वलियासार यादव र वडा नं. २ का जहाँ इफरान अहमद कृषक पेन्सनमा छनौटमा परेका छन् ।

वडा नं. ५ का हरिशङ्कर मुराउ, वडा नं. ४ का छोटेलाल राढ र वडा नं. ५ का रामसुमत यादवले पनि कृषक पेन्सन प्राप्त गरेका छन् । व्यावसायिक कृषि कर्म गर्ने तथा पशुपालनलाइ व्यवसाय बनाउनेलाई आधार बनाएर किसान छनौट गरी कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.