४ लेनको महाकाली पुल निर्माणले तीव्रता पाउँदै, सुदूरपश्चिममा, औद्योगिक गतिविधि बढ्ने

  २०७८ माघ १० गते १३:०४     राजिव न्याैपाने

काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुलको निर्माणको काम अन्तिम चरण पुगेको छ । निर्माणाधीन अवस्थामा रहेको पुलको ७५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

महाकाली पुल आयोजनाले भौतिक प्रगतिसँगै पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको आयोजना प्रमुख राम गुरुङले बताए । उनका अनुसार हालसम्म ७५ प्रतिशत काम सकिएको छ, बाँकी २५ प्रतिशत काम चालु आर्थिक वर्ष भित्र नै सम्पन गर्ने तयारी रहेको छ ।

महाकाली चारलेन पुल निर्माणको सम्झौता ३ अर्ब २७ करोड ९३ लाख ३४ हजार रुपैयाँमा भएको थियो । उक्त पुल निर्माणको कार्य वि.सं २०७४ भदौमा सुरु भएर २०७७ भदौमा सम्पन्न हुने भनिए पनि केही प्राविधिक कारण एक वर्ष समय थप गरिएको थियो ।तर, थप गरिएपछि २०७७ भदौबाट एक वर्ष थप गरेर २०७८ जेठ १९ गतेसम्म समय तोकिएको थियो । उक्त पुल निर्माणको काम हालसम्म पुरा हुन सकेको छैन ।

प्राविधिक जनशक्तिको कमी, ठेक्का व्यवस्थापनमा कठिनाइ, पर्याप्त बजेट विनियोजन नहुनु, अदालतमा गएका विषयहरू टुङ्गो नलाग्नु, वर्षयतामा बाढीको समस्या, स्थानीय अवरोध, मुआब्जा वितरणमा समस्या र भीमदत्त नगरपालिकासँग रोयल्टी संकलनबारे विवाद लगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयले जनाइको छ ।

आयोजना प्रमुख गुरुङका अनुसार चालु आर्थिक वर्ष भित्र पुल निर्माणको काम सम्पन्न हुने छ भने नदी नियन्त्रण र केही सहायक कामहरू बाँकी रहने छन् ।

उनका अनुसार हाल एप्रोच सडकको बाँकी काम र नदी नियन्त्रणको लागि स्पर निर्माण एवम् मर्मतको काम हुँदै छ । गाइड बन्ड संरक्षणको पुनः डिजाइन स्वीकृत भएपछि मात्र नदी नियन्त्रणको कार्य सुरु हुने पनि गुरुङले जनाए ।

पक्की पुल निर्माणको मेजर फाउन्डेसनको काम, सबस्ट्रक्चर कार्य सकिएको छ । उक्त पुल निर्माणको लागि हलसम्म भ्याट सहित गरी करिव २ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षमा मात्रै पुल निर्माणमा १३ करोड खर्च भइसकेको गुरुङले बताए ।

कञ्चनपुर जिल्लाको मात्र नभई समग्र प्रदेशको आर्थिक विकास र नेपाल–भारत सहज आवागमनका लागि पनि महाकाली नदीमा निर्माण भइरहेको गुरुङले जनाए ।

नदी नियन्त्रण गर्ने काममा केही संसाधन गर्नुपर्ने भएको छ, हामीले परामर्शदाताबाट संशोधन गरी ल्याएर विभागमा पेस गरेको पनि गुरुङले बताए ।

मुआब्जा वितरणको काम लगभग सकिसकेको र मुआब्जा वितरणमा मात्र करिव ६७ करोड रुपैयाँ खर्च भएको आयोजना कार्यालयले जनाएको छ । सो पुल निर्माणको लागि चालु आर्थिक वर्षमा २०७८/७९ मा ९० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

महाकालीमा पक्की पुल निर्माणपछि भारत औद्योगिक सहरहरू महेन्द्रनगरबाट छोटो दूरीमा रहेका ठुला औद्योगिक क्षेत्रबाट सहज रूपमा वस्तु आयात–निर्यात गर्न सकिने छ । सो पुलको लम्बाई ८ सय मिटर रहेको छ ।

सरकार फेरबदलसँगै विभागीय मन्त्रीले आफ्नो अनुकूलका आयोजना निर्देशक सरुवा गर्ने, ठेकेदारले विभिन्न बहानामा काम अड्काउने जस्ता प्रवृत्तिका कारण आयोजनाको समय लम्बिँदै गएको धेरैको बुझाई छ । तर, अहिले भने आयोजनाको कामले तीव्रता पाएको गुरुङ दाबी गर्छन् ।

यो आयोजना निर्माण सम्पन्न भएपछि सर्वसाधारणको जीवनस्तर उकासिने अनुमान आयोजनाको छ भने देशको अर्थतन्तमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

नदी नियन्त्रणमा २ लाख ढुङ्गाको आवश्यकता

नदी नियन्त्रण गर्नको लागि २ लाख ढुङ्गाको आवश्यकता रहेको आयोजना प्रमुख गुरुङले बताए । नदीलाई नियन्त्रण गरेर ८ सय मिटर चौडाइ पुलभित्र नदीको पानी हाल्ने गरी आयोजना सम्पन्न गर्न ठुलो ढुङ्गाको प्रयोग गरिने डिजाइन छ । तर, हालसम्म ढुङ्गा उपलब्ध नभएको गुरुङले बताए ।

‘यो ढुङ्गाको अभाव आयोजना निर्माणमा मुख्य चुनौतीको रूपमा देखिएको छ, ढुङ्गाको प्रयोगले नदी नियन्त्रणको काम सम्पन्न नरहुन्जेल पुल निर्माण भए पनि अर्थ छैन,’ उनले भने ।

स्थानीय र सम्बन्धित नियकायहरुसँग समन्वय गरेर स्वीकृत गराए बढी समय लाग्ने भयो, ढुङ्गा उपलब्ध गराउन मात्रै एक वर्ष लाग्ने सम्भावना देखिएको छ, यो समयका कारण आयोजनाको समय अवधि लम्भीन सक्ने पनि गुरुङले जनाए । ढुङ्गाको भेटिएन भने बैकलिक माध्यमा खोज्दै काम अगाढि बढाउने पनि आयोजना कार्यलयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.