अब रुद्राक्षको दाउरा बाल्ने अवस्था नआउला भन्न सकिन्नँ: अध्यक्ष चापागाईंसँगकाे कुराकानी

  २०७८ माघ ९ गते १८:२५     विकासन्युज

बर्षौंदेखि चीन निर्यात भइरहेको रुद्राक्ष विगत केही साता यता भने रोकिएको छ । भारतीय तथा चिनियाँ व्यापारीहरू रुद्राक्ष लिन नआउँदा फलेको रुद्राक्ष धरासायी भएको व्यवसायीहरू बताउँदै आएका छन् । लामो समयसम्म भएको लकडाउन तथा निषेधाज्ञाका कारण विदेशी व्यापारीहरू नेपाल नआउँदा रुद्राक्ष निर्यात हुन सकेको छैन । रुद्राक्षको व्यपारमा सरकारको ध्यान नगएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज कुमार चापागाईं बताउँछन् । उनै अध्यक्ष चापागाईंसँग रुद्राक्ष व्यवसायमा भएका समस्या, समस्याको समाधान र समग्र रुद्राक्ष व्यवसायको विषयमा केन्द्रित रहेर विकासन्युजका राजिव न्यौपानेले कुराकानीको सम्पादित अंश:

हाल रुद्राक्षको कारोबार कस्तो छ ?

अहिले कोेभिडको कारण रुद्राक्षको व्यापार संकटमा छ । कोरोनाको संक्रमण बढेपछि नेपालबाट निर्यात हुने रुद्राक्ष ठप्प भएको छ । अहिले गाउँघरमा सामान्य कारोबार मात्र भइरहेको छ । तर, विदेशी व्यापारी यस वर्ष कम आएको कारणर्ले किसानले सोचे जस्तो मूल्य प्राप्त गर्न सकेका छैनन् । हाम्रो व्यवसाय २ वटा देश (चिन र भारत)मा फोकस हुने व्यवसाय हो । ती देशमा हाल कोभिड–१९को नयाँ भेरियन्ट फैलिएको छ । त्यसकारण पनि हाल विदेशी व्यापारी आउन सकेका छैनन् । वर्षेनी आउने व्यापारीको करिव २० प्रतिशत मात्र विदेशी व्यापारी यस वर्ष आएका छन् । आएका व्यपारी पनि उनीहरूको देश फर्किन पाएका छैनन् । उतपादकहरुले नै बिदेशमा गएर बेच्न सक्ने अवस्था छैन । विभिन्न समस्याले गर्दा व्यापारमा निकै अवरोध भएको छ । यसको कारोबार सामान्य छ, तर अपेक्षा अनुसारको मूल्य पाउन नसकिरहेको अवस्था छ ।

वर्षेनी रुद्राक्षको व्यापारमा मन्दी आएको छ, यसको व्यापार मन्दी हुनको कारण के हो ?

प्रत्यक्ष अवरोधको विषयहरू धेरै हुन्छन् । कोरोना भाइरसकै कारण लामो समयसम्म भएको लकडाउन, सटडाउन तथा निषेधाज्ञाको कारण रुद्राक्ष निर्यातमा समस्या हुँदा व्यापार सुस्ताएको हो । कोभिड मात्र नभई रुद्राक्ष निर्यातमा पनि केही समस्या छ । हाल कोभिड–१९ ले नै यस क्षेत्रमा प्रभाव पारेको छ ।

रुद्राक्षले अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ ?

रुद्राक्ष नेपालबाट निर्यात हुने एउटा प्रमुख वस्तु हो । निर्यात हुने कुल वस्तुको लगभग ८ प्रतिशत रुद्राक्षले ओगेटेको छ । यसले नेपालको अर्थतन्त्र विकासमा ठूलो भूमीका खेलेको छ । तर, यस क्षेत्रतर्फ सरकारको ध्यान एकदमै कम गएको छ । हामीले तीनै तहको सरकार समक्ष माग गर्यौं । सम्पूर्ण कृषक तथा व्यवसायीहरूले यो पेसालाई मर्यादित तुल्याउनको लागि यसलाई देशव्यापी बनाउन र उत्पादन भएको संरक्षण गर्दै यसको व्यवसायलाई अभिवृद्धि गर्नको लागि आ–आफ्नो क्षेत्रबाट स्थानीय तह, प्रदेश र संघीय सरकारले पनि पहल गर्न आवश्यक छ ।
हाल पनि सरकारसँग धेरै विषयहरुको माग गरेका छौं । हस्तकलाका सामानहरू अन्तर्राष्ट्रिय बजारमा एकदमै धेरै माग छ । तर, यो माग पूरा गर्न सकेका छैनौं । किनभने हामीसँग कच्चा पर्दाथको कमी छ । औषधीका लागि पनि रुद्राक्षको निर्यात हुने गरेको छ । अहिले बैंकिङ प्रणालीमा तरलताको समस्या छ । यो अवस्थामा राष्ट्र बैंक तथा सरकारले नै आयातमा जुन किसिमको कडाई गरेको छ, यस्ता कामहरु दीर्घकालिन रुपमा सोचेर गर्नुपर्छ ।

हालसम्म सरकारको तर्फबाट रुद्राक्ष व्यवसायी संघ तथा रुद्राक्षको लागि कुनै पनि सहयोग मिलेको छैन । हाम्रो तर्फबाट पनि रुद्राक्षमा सरकारको ध्यान जाओस् भनेर विभिन्न काम गरी रहेका छौं । हाम्रो पेसा व्यवसायमा परेको असरबारे सरकारलाई लिखित तथा मौखिक तरिकाले नै कुरा राखेका छौं । कुनैकुनै ठाउँबाट आश्वासन पाएका छौं, कहिँबाट कार्यान्वयन हुन सकेको छैन ।

तपाईंहरुलाई सरकारले आर्थिक रूपमा नै रुद्राक्ष व्यवसायमा सहयोग गरिदियोस् वा यसलाई निर्यात गर्न सहजीकरण गरिदियोस् भन्ने माग हो ?

आर्थिक रूपमा हामी सरकार जतिको क्षमतावान् कहिले पनि हुन सक्दैनौं । यसको प्रवद्र्धन गर्न, व्यपार व्यवसायलाई अभिवृद्धि गर्नको लागि सरकार लाग्नु नै पर्छ । हाम्रो धेरै माग छैन । हस्तकला बनाउने कच्चा पर्दाथ ल्याउनमा सहजीकरण गरिदिनु पर्याे । यसलाई हामी आफैले ल्याउँदा पनि भन्सार तथा विभिन्न पक्षबाट सहजीकरण गरिदिनु पर्याे । हस्तकलाको सामाग्री निर्माण गर्नेको लागि तालिम दिएर दक्ष जनशक्तिको उत्पादन गर्नुपर्याे । रुद्राक्ष जहाँजहाँ उत्पादन हुन्छ, त्यहाँत्यहाँ हस्तकला बनाउने व्यक्ति राख्यो भने उसले यसबाट राम्रो आम्दानी लिन सफल हुन्छ । वैज्ञानिक हिसाबले पनि रुद्राक्षसर्व मान्य बुझिन्छ । बाहिरबाट कुराहरू आइरहेको छ, तर हामीले यसको यर्थाथ पत्ता लाउन सकिएन त्यस कारणले हामीले सरकार समक्ष पनि विषय राखेका छौं ।

यस वर्ष नेपाली व्यापारीले धेरै रकमको चीनबाट दानामा लगाउने औषधी किनेर ल्याए, औषधी किनेर ल्याएको भन्दा कम रुद्राक्षको कारोबार भयो, यसले निर्यात भन्दा आयात बढी देखियो नी ?

हामीले यसमा सचेतना अपनाउनु पर्ने आवश्यकता देखिन्छ । भारतबाट यस्ता सामाग्रीहरू आएको छैन । यो वर्ष दाना आकर्षक बनाउनको लागि किलिप्स लगाइयो, तर असफल भएको छ । किलिप्सलाई प्रतिबन्ध लगाउने प्रयास पनि गर्याें । अन्य औषधी माग भएर आउँदैन, विभिन्न प्रक्रियाबाट आउँछ । केही औषधीको रूपमा प्रयोग हुन्छ ।

यो वर्ष रुद्राक्षमा आषैधीको प्रयोग धेरै भएर हामीले यसलाई थेगी नसक्नु भयो । हामीले पनि यस विषयमा सचेत नै भएका छौं । पहिला रुद्राक्ष जस्तोसुकै पनि बिक्थ्यो, तर अहिले केही प्रतिशत मात्र बिक्न थाल्यो । त्यसले गर्दा औषधिको प्रयोग नगर्ने हो कि भनेर प्रयास गरिरहेका छौं । यो हाम्रो उत्पादन हैन । औषधी भनेका छौं, उनीहरूले हामीलाई मकैको पिठो पो घोलेर बेचिदिन्छ कि त्यो पनि थाहा छैन । औषधीको प्रयोगले राम्रो उत्पादन हुने रुद्राक्षका धेरै बोटहरू मरेका छन् ।

रुद्राक्षको मूल्य यसरी नै घट्ने हो भने किसानले यसको बोटलाई दाउरा बनाएर बाल्ने अवस्था आयो नि ?

हाल नै बोटलाई दाउरा बनाएर बाल्ने अवस्था आएको छैन । यसलाई व्यवस्थापन गर्न सकिएन भने त्यो अवस्था पनि नआउला भन्न सकिँदैन । किसान तथा व्यवसायीहरू सबै सचेत भयो भने यो व्यवसाय राम्रोसँग नै अगाडि बढ्छ । अन्तर्राष्ट्रिय बजारबाट यसको माग धेरै नै छ । कोभिड लगायत विभिन्न समस्याले गर्दा कारोबार रोकिएको छ । यसको व्यवसाय सोचेको जस्तो हुँदै गयो भने काठ नै काट्नु पर्ने अवस्था आउँदैन । यसबाट कृषकहरुले राम्रो आम्दानी नै लिन सफल हुने छन् ।

व्यापारमा मन्दी आउँदा संघले त काम नै नगरेको देखियो नि ?

हामीले हाम्रो तर्फबाट सकेसम्म राम्रो काम गरिरहेका छौं । सरकारले पनि कतिपय कुराहरू गर्न सकिरहेको हुँदैन, हामी त एउटा संघ हो । हामीले रोइकराई गर्ने भनेको ३ तहको सरकारसँग हो । यसलाई कसरी आर्थिक रूपमा सम्पन्न बनाउने भन्ने विषयमा छलफल पनि गरिरहेका छौं । रुद्राक्षले अन्य कृषि पेसालाई पनि बटुलेर गएको छ । भोजपुर तथा संखुवासभाका धेरै किसानहरूको आस्था रुद्राक्षमा नै छ ।

यो पेशा सजिलो भएका कारण पनि किसानहरू रुद्राक्षखेतीमा आकर्षित छन् । यसमा धेरै लगानी गर्नु पर्दैन । उल्टै यसले किसानलाई राम्रो प्रतिफल दिन्छ । उहामीले सक्ने काम गरिरहेका छौं । हामीले यस क्षेत्रलाई कृषिमा समायोजन गर्नु पर्याे भनेका छौं । प्रत्यक्ष विदेशी मुद्रा आर्जन गर्ने यो प्रमुख बस्तु हो । यति हुँदाहुँदै पनि यसको व्यवस्थापन बारे सरकारले चासो गर्दिएन भने हामीले मात्र केही गर्न सक्दैनौं । हामी आफैले नै यसको माला, ब्रासलेट, झोला, पर्दा, धार्मिक वस्तु बनाउने काम गरिरहेका छौं । सरकारले हामीलाई केही सेवा सुविधा देला भन्ने आस्था पनि राखेका छौं । यसमा २० औं लाख किसान तथा व्यापारी आवद्ध छन् । कोभिड–१९ लगायतका धेरै समस्या आएको कारणले गर्दा संघले कुनै काम नगरको देखिएको हो ।

विगतमा चाइनिज व्यापारी कृषकका घर–घरमा पुगेर रुद्राक्ष बटुल्थे । यसले गर्दा नेपाली व्यापारीहरु मारमा परे । यस बारे केही सोच्नु भएको छ ?

यो सम्बन्धमा हामीले बृहत् छलफल गरेका छौं । हामीले निश्चित क्षेत्र तोकिदिएका छौं । उनीहरू अब घरघर पुग्न पाउनले छैनन् । संखुवासभाको तुमलिङ् र भोजपुरको दिङ्ला भनेर क्षेत्र तोकिदिएका छौं ।

भिडियाे:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.