१० विकास बैंकमध्ये सांग्रिलाको लोभलाग्दो ग्रोथ, नाफामा मुक्तिनाथ र ईपीएसमा महालक्ष्मी अगाडि

  २०७८ माघ ७ गते १९:१०     विकासन्युज

काठमाडौं । हालसम्म विभिन्न १० विकास बैंकहरुले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सञ्चालित विकास बैंकमध्ये १० वटाले माघको पहिलो सातामा गत ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

वित्तीय विवरण सार्वजनिक गर्नेमा मुक्तिनाथ, गरिमा, महालक्ष्मी, लुम्बिनी, शाइन रेसुङ्गा, ज्योति, कामना सेवा, सांग्रिला, मितेरी र सिन्धु विकास बैंक रहेका छन् । जसमध्ये कामना सेवाले सबैभन्दा पहिला, दोश्रोमा सांग्रिला र बाँकी ८ वटाले माघ ७ गते एकैदिन सार्वजनिक गरेका हुन् । जसमा ७ वटाको नाफा बढेको छ भने बाँकी तीन वटाको नाफा घटेको छ । मितेरी, कामना सेवा र मुक्तिनाथ विकास बैंकबाहेक अन्यको खुद नाफा बढेको देखिन्छ ।

विकास बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरण अनुसार मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी खुद नाफा कमाएको छ । विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१४ प्रतिशतले घटी हो । मुक्तिनाथले २०७७ पुस मसान्तसम्ममा ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा कमाउनेमा सांग्रिला डेभलपमेन्ट रहेको छ । बैंकले समिक्षा अवधिमा ४० प्रतिशतले नाफा बढाएर २४ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । जुन गत आवको पुससम्ममा १८ करोड ७१ लाख रुपैयाँ थियो ।

यता सिन्धु विकास बैंकको नाफा सबैभन्दा कम छ । बैंकले पुस मसान्तसम्ममा ३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको भन्दा ४.७२ प्रतिशतले बढी हो । त्यस्तै, प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा घटाउनेमा कामना सेवा रहेको छ । गत वर्षको तुलनामा बैंकको नाफा ११.९० प्रतिशतले घटेको छ ।

कसको कति ?

ईपीएसमा महालक्ष्मीको अग्रता, ज्योतिसहित ४ वटाको घट्यो

१० विकास बैंकमध्ये ६ वटाको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । विकास बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरण अनुसार कामना विकास, मुक्तिनाथ विकास, ज्योति विकास र मितेरी डेभलपमेन्ट बैंकको उक्त आम्दानी घटेको छ भने बाँकीको बढेको हो ।

जसमध्ये खुद नाफा बढाएको ज्योति विकास बैंकको ईपीएस भने घटेको छ । समीक्षा अवधिमा ज्योतिको ईपीएस १.३७ रुपैयाँले घटेर १६.१२ रुपैयाँ कायम भएको छ ।

नाफाको आधारमा तेश्रो स्थानमा रहेको महालक्ष्मी विकास बैंक ईपीएसमा भने अग्रस्थानमा रहेको छ । समीक्षा अवधिमा महालक्ष्मीको ईपीएस बढेर २७.३० रुपैयाँ पुगेको छ । जुन अन्य ९ विकास बैंकको तुलनामा बढी हो ।

सिन्धु विकासको नाफासँगै प्रतिसेयर आम्दानी पनि सबैभन्दा कम छ । २०७८ पुस मसान्तसम्ममा बैंकको उक्त आम्दनी १२.७६ रुपैयाँ छ । जुन गत वर्षको तुलनामा भने ०.६ रुपैयाँ बढी हो । २०७७ पुसमा सिन्धुको प्रतिसेयर आम्दानी १२.७६ रुपैयाँ थियो ।

कसको कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.