कस्तो रह्यो वर्तमान सरकारको छ महिना ?

  २०७८ माघ ७ गते १८:३९     विकासन्युज

काठमाडाैं । वर्तमान गठबन्धन सरकारले देश र जनतालाई केन्द्रमा राखेर विभिन्न कार्यक्र अगाडि बढाएको छ । जनतालाई प्रत्यक्षरुपमा राहत प्रदान गर्ने उद्देश्यका साथ सरकारले संविधान प्रदत्त समाजवाद उन्मुख व्यवस्थालाई कार्यान्वयन गराएको छ ।

वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा भए गरेका सकारात्मक कामकारवाहीबारे आज जानकारी दिएका हुन् । वर्तमान सरकार गत असार २९ गते गठन भएको हो । सरकारमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी)लगायत दल सहभागी छन् ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा देशको ऊर्जा तथा सिँचाइको क्षेत्रमा भए गरेका प्रगतिकाबारे जानकारी दिनुभएको छ । वर्तमान सरकारले झण्डै २५ लाख विद्युत््का उपभोक्तालाई निःशुल्करूपमा २० युनिट बिजुली उपलब्ध गराएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालका अनुसार सरकारले आफ्नो सार्वजनिक दायित्व अन्तर्गत २० युनिट बिजुली निःशुल्करुपमा उपलब्ध गराइएको यसअघि नै सार्वजनिक गरिसक्नु भएको छ । वर्तमान सरकारको प्रमुख उपलब्धीका रुपमा प्रधानमन्त्री देउवाले सो विषयलाई आज आफ्नो सम्बोधनका क्रममा उल्लेख गरेका हुन् ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, ‘विद्युत्को ग्राहस्थ खपतमा २० यूनिटसम्म उपभोक्तालाई महसुल छुट गरिएको छ ।” त्यसैगरी सिँचाइ सुविधामा विस्तार गर्नका लागि साविकको विद्युत् महसुलमा ५० प्रतिशत कम गरी प्रतियूनिट दुई कायम गरिएको छ । यसबाट कृषि क्षेत्रमा प्रत्यक्ष लाभ भएको छ । कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकारले सिँचाइतर्फको महसुलमा आकर्षक छुट दिएको हो ।’

यस्तै, विद्युत् उत्पादनतर्फ पनि यस वर्ष उल्लेख्य प्रगति भएको छ । सरकारी तथा निजी क्षेत्रका विभिन्न आयोजना सम्पन्न भएका छन् । सरकारले चालु आवमा एक हजार ३०० मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखेको छ । लक्ष्यको ५० प्रतिशत बिजुली वर्तमान सरकार गठन भएको छ महिनामा नै प्रणालीमा जोडिएको छ ।

यस अवधिमा माथिल्लो तामाकोशी ४५६ मेगावाटको जलविद्युत् आयोजना पूर्णरूपमा सञ्चालनमा आएको छ । आयोजनाले व्यवसायीकरुपमा बिजुली उत्पादन गरेकाले नेपाल विद्युत् प्राधिकरणले छ महिनासम्म भारतबाट बिजुलीसमेत आयात गर्नुपरेन ।

यस्तै निजी क्षेत्रको लगानी रहेका मिस्त्री खोला ४२ मेगावाट र लिखु खोला ५२ मेगावाट विद्युत् उत्पादन राष्ट्रिय ग्रिडमा जोडिएको छ । त्यस्तै अन्य साना तथा मझौला आयोजनाले पनि बिजुली उत्पादन शुरु गरेका छन् । यसबाट बिजुलीमा देश क्रमशःआत्मनिर्भर बन्दै गएको छ । प्रसारण लाइनतर्फ ५९ सर्किट किलोमिटर थप भएको छ । त्यस्तै सरकारको निरन्तरको प्रयासका कारण विवादको केन्द्रमा रहेको सोलु कोरिडोर १३२ केभी क्षमताको प्रसारण लाइनको पनि निर्माणको कार्य सम्पन भएको छ ।

त्यस्तै, नेपालको बिजुली भारतमा निर्यात शुरु भएको छ । गत लक्षमीपूजाको दिनदेखि नुवाकोटका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारतमा निर्यात शुरु भएको हो । आगामी हिउँदमा झण्डै ५०० मेगावाट बिजुली निर्यात गर्ने गरी आवश्यक तयारी भइरहेको छ । त्यसका लागि आवश्यक पहल भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ । यस अवधिमा औद्योगिक, गार्हस्थ्य तथा विभिन्न प्रयोजनका लागि बिजुली खपतमा वृद्धि गरी निर्वाधरूपमा बिजुली आपूर्तिको व्यवस्था मिलाइएको प्रधानमन्त्रीले जानकारी दिए ।

यस्तै सुनकोशी–मरिन डाइभर्सन, भेरी बबई बहुउद्देश्यीय आयोजना, काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनाको निर्माणकार्य समयमै सम्पन्न गर्ने गरी तीव्रगतिमा काम अगाडिसमेत बढाइएको उहाँले सम्बोधनका क्रममा उल्लेख गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.