नबिल र एनआईसी एसियालाई पछार्दै नाफामा पनि ‘नम्बर वान’ बन्यो ग्लोबल आईएमई, ५ बैंकको नाफा घट्यो

  २०७८ माघ ७ गते ११:५८     विकासन्युज

चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिकमा बैंकहरुले ३ अर्ब बढी नाफा गरेका छन् । हालसम्म सार्वजनिक बैंकहरुको दोस्रो त्रैमासिक वित्तीय विवरणका अनुसार बैंकहरुको नाफा गत आर्थिक वर्षको सोही त्रैमासिकको तुलनामा ३ अर्ब रुपैयाँले बढेको हो । यद्यपि अझै पनि ४ बैंक (एनएमवि, सनराइज, हिमालयन र नेपाल बैंक) ले वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासिकमा २३ वटा वाणिज्य बैंकहरुले कुल २६ अर्ब ५० करोड रुपैयाँ नाफा गरेका थिए भने चालु आवको दोस्रो त्रैमाससम्म बैंकहरुले कुल २९ अर्ब ५९ करोड रुपैयाँ नाफा गरेका छन् । गत आवकाे साेही अवधिकाे तुलनामा बैंकहरुङ्काे नाफा ११‍.६३ प्रतिशतले बढेपनि औसत नाफा भने २१.२४ प्रतिशत छ ।

यसअघि नबिल र एनआईसी एसिया बैंक नाफामा अगाडि भएको भएपनि चालु आवको दोस्रो त्रैमासिकको विवरण अनुसार भने ग्लोबल आईएमई बैंक नाफमा पनि नम्बर वान बैंकको रुपमा देखिएको छ ।

ग्लोबल आईएमई बैंकले चालु आवको दोस्रो त्रैमासिकमा १५ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको सोही त्रैमासमा कुल
२ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको ग्लोबल आईएमई बैंककले चालु आवको दोस्रो त्रैमासिकमा २ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ । जुन सबै बैंकभन्दा बढी नाफा हो ।

यस्तै, नाफामा एनआईसी एसिया बैंक दोस्रो बनेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको एनआईसी एसिया बैंकले चालु आवको दोस्रो त्रैमासिकमा २ अर्ब ४० करोड रुपैयाँ नाफा गरेको छ । एनआईसी एसिया बैंकको नाफा गत आवको तुलनामा १६.४७ प्रतिशतले बढेको छ ।

नबिल बैंक नाफामा तेस्रो बनेको छ । यसअघि नाफामा नम्बर वान बन्ने नबिल बैंक यो पटक भने तेस्रो बनेको छ । नबिलले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १ करोड रुपैयाँ नाफा गरेकोमा चालु आवमा २ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही त्रैमासिकको तुलनामा ८.२० प्रतिशत बढी हो ।

यस्तै, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सिभिल बैंकले सबैभन्दा बढी नाफा गरेको छ । सिभिलले नाफा १४८ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २० करोड रुपैयाँ नाफा गरेको सिभिल बैंकले चालु आवको दोस्रो त्रैमासिकमा कुल ५० करोड रुपैयाँ नाफा गरेको छ ।

यस्तै, ५ वटा वाणिज्य बैंकको नाफा भने घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवको सोही अवधिमा पाँच वटा वाणिज्य बैंकको नाफा घटेको हो ।

नाफा घट्नेमा प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी, एभरेष्ट र नेपाल बंगलादेश बैंक रहेका छन् । ती बैंकहरुको नाफा क्रमशः १६.९० प्रतिशत, ७.४३ प्रतिशत, २१.७६ प्रतिशत, १२.७८ प्रतिशत र १३.८२ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.