एकाएक दुई इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, तीन हाइड्रोमा लाग्यो सकारात्मक सर्किट

  २०७८ माघ ६ गते १५:३१     विकासन्युज

काठमाडौं । बिहीबारको बजारमा एकाएक दुई निर्जीवन बीमा कम्पनीमा इन्स्योरेन्समा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारमा आईएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।

नेपाल धितोपत्र बोर्डले लामो समयपछि गरेको निर्णयसँगै त्यसको प्रभाव दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा परेको हो । बोर्डले आईएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्स दुबैलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएसँगै लगानीकर्ताहरु यी कम्पनीको सेयरमा झुम्मिएका हुन् ।

बोर्डले अनुमति दिएसँगै आईएमई जनरल इन्स्योरेन्सको उच्च कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन २२ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बोर्डले कम्पनीलाई ४० प्रतिशतको हकप्रद सेयर जारी गर्न अनुमति दिएसँगै कम्पनीको सेयर कारोबार बढेको हो ।

आईएमई जनरलको सेयर कारोबार रकमसँगै सेयरमूल्य पनि बढेको छ । इन्स्योरेन्सको सेयर मूल्य एकैदिन ५० रुपैयाँले बढेर प्रतिकित्ता १२१७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.२८ प्रतिशतले बढी हो ।

त्यस्तै, बढी कारोबार गर्नेको तेश्रो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको १७ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद जारी गर्न बोर्डको स्वीकृति पाएसँगै लगानीकर्ताहरु इन्स्योरेन्सको सेयरमा झुम्मिएका हुन् ।

त्यस्तै, शिखरको सेयर कारोबारसँगै सेयर मूल्य पनि बढेको छ । इन्स्योरेन्सको सेयर मूल्य ८६ रुपैयाँले बढेर प्रतिकित्ता २ हजार ९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.४७ प्रतिशतले बढी हो ।

दुई निर्जीवन बीमा कम्पनीले ९९ कराेड रूपैयाँकाे हकप्रद जारी गर्ने

यता केही देखि उच्च कारोबार भइरहेको अपि पावर कम्पनी आज दोश्रो स्थानमा रहेको छ । कम्पनीको १८ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार भने प्रतिकित्ता ५५० रुपैयाँ भएको छ ।

त्यस्तै, बिहीबारको कूल कारोबार ५ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा २५ करोड रुपैयाँले घटी हो । अघिल्लो दिन अर्थात बुधबारको बजारमा ६ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

कारोबार घटेपनि सेयर मूल्य मापक नेप्से परिसूचक भने बढेको छ । गत दुई दिन निरन्तर घटेको बजार आज भने ३२.९६ अंकले बढेर २९३१.२६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.१४ प्रतिशतले बढेको हो ।

बजारमा अधिकांश समूह बढेका छन् । जसमध्ये सबैभन्दा बढी बढ्नेमा जीवन बीमा समूह रहेको छ । जो ४६२ अंकले बढेर १६ हजार ६५४ बिन्दुमा पुगेको छ । यता बैंकिङ्ग र म्युचुअल फण्ड समूह भने सामान्य अंकले घटेका छन् ।

दोहोरो अंकले बढेको बजारमा तीन वटा हाइड्रो कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा मध्य भोटेकोशी जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् । यी मध्ये दुई कम्पनी मध्य भोटेकोशी र तेह्रथुम पावरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ भने बुद्धभूमी नेपालको ९.९७ प्रतिशतले बढेको छ । यससँगै, यी तीन वटै कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५५०, ६३५ र ३१६ रुपैयाँमा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.